२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निर्मला कुर्मी बेपत्ता प्रकरण : करोडौं मूल्यको जग्गा हडपेको आरोपमा  ६ जना पक्राउ

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी  ६ जनालाई सोमबार पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । 

निर्मला कुर्मी बेपत्ता प्रकरण : करोडौं मूल्यको जग्गा हडपेको आरोपमा  ६ जना पक्राउ

आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । अभियुक्तमध्ये पूर्वसांसद बादशाह कुर्मीले भदौमा आफैं जिल्ला प्रहरी कार्यालयमा आएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको थियो ।

‘अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्छौं, ’ डीएसपी न्यौपानेले भने ,‘सादा तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले उनीहरुमाथि पनि अनुसन्धान गर्छौं । ’

बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसान्धान गरिरहेको जनाएको छ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।

नेपालगन्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वले गृहमन्त्री बालकृष्ण खाणसमक्ष प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको उल्लेख छ ।

२०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी,रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

मुद्दा दर्ता भएको एक वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थिएन । असार १३ मा कार्यवाहक सम्हालेलगत्तै एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुधन न्यौपानेले निर्मलाको उजुरीमा प्रारम्भिक अध्ययन सुरु गरेको हो । दोषीलाई पक्राउ गर्न बलियो प्रमाण चाहिने हुँदा यसैको अध्ययनका लागि तीन धेरै समय लागेको डीएसपी न्यौपानेले बताए ।

भदौ ३ मा अदालतबाट ८ जना अभियुक्तलाई पक्राउ गर्न आदेश दिइएको थियो । गत भदौ १० मा पूर्वसांसद कुर्मीमात्रै प्रहरीसमक्ष उपस्थित भएर बयान दिएका थिए ।

प्रकाशित : कार्तिक २२, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?