कसरी बेपत्ता भइन् निर्मला कुर्मी ? यस्तो छ १२ वर्षदेखिको अन्यायको यथार्थ

काठमाडौँ — बाँकेका महिला अधिकारकर्मी र आफन्तले ५१ दिनदेखि संघर्ष गरिरहेका छन्, नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि । नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी अहिले जीवितै छिन् वा मृत्यु भइसक्यो कुनै ठेगान छैन । उनको भारतमा मृत्यु भइसकेको खबर गाउँमा फैलिएको छ । तर, शव कसैले देखेको छैन । प्रहरी पनि उनको मृत्यु भइसकेको दाबी गर्छ । अधिरकारकर्मीहरु भने उनको मृत्यु होइन, अपहरण र शरीर बन्धक गरी हत्या गरिएको दाबी गरिरहेका छन् ।

महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा अधिकारकर्मीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा ८ जनालाई किटानीसहित १२ जनाविरुद्ध १६ मंसिर, ०७७ मै जाहेरी दर्ता गराएका थिए । तर, ९ महिना बित्दा पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेन, न त कुनै अनुसन्धान र प्रमाण संकलनको प्रयास नै गरेको छ ।
‘पहिले प्रहरीले जाहेरी दर्ता गर्न नै मानेन, हामीले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएका थियौँ,’ मञ्चकी सदस्य सकिना तेलीले भनिन्, ‘अहिलेसम्म न उनीहरू पक्राउ परेका छन्, न कुनै अनुसन्धान भएको छ । उल्टै निर्मलालाई न्याय देऊ भन्ने हामीहरू असुरक्षित बनेका छौँ ।’ उनीहरूले निर्मलाको विषयमा गहन अनुसन्धान गरी दोषीहरूलाई कारबाही र सो प्रकरणमा अपराधीको सहयोगी बनेको प्रहरी नेतृत्वलाईसमेत कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलित छन् ।
अधिकारकर्मीको दाबी छ- निर्मला कुर्मीको यो अवस्था हुनुमा संविधानसभा सदस्य एवं कांग्रेसका नेता बादशाह कुर्मी दोषी छन् । उनकै इशारामा निर्मलामाथि अन्यायको श्रृंखला चलेको र अन्तिममा उनलाई अपहरण, शरीर बन्धक बनाई हत्या गरेको मञ्चका तर्फबाट केन्द्रीय सदस्य मनकुमारी गुरतालले दिएको जाहेरीमा उल्लेख छ ।
अधिकारकर्मीले संविधानसभा सदस्य बादशाह कुर्मीसहित स्थानीय कृष्णमुरारी सिंह, कुवर बब्बनसिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धिरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्ट गरी ८ जना र अन्य नाम नखुलेका ४ व्यक्तिहरू विरुद्ध जाहेरी दिएका थिए । तर, प्रहरीले सो मुद्दामा आरोपितहरूलाई पक्राउ गर्न मानेको छैन ।
यसरी सुरु भएको थियो अत्याचार
निर्मलाको ४ जनाको परिवार थियो । ०६२ साल तिरै उनका श्रीमान् महालु कुर्मी बिते । २ छोराहरू राम सागर र सुरेश भविष्यको सहारा बन्लान् भन्ने आशामा निर्मलाको जीवन चलेकै थियो । तर, उनीमाथि यसरी दैव लागे, कि ०६६ को कात्तिक अन्तिम साता १५ दिनकै अन्तरमा उनले दुवै छोरा गुमाइन् ।
‘१८ र १६ वर्षका लक्का जवान । न कुनै रोग, न कुनै बिराम । एक्कासि कसरी मरे ? उनीहरूको मृत्यु निकै रहस्यमय भयो,’ माइतीघरमा धर्ना बस्न आइपुगेका मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान भन्छन्, ‘त्यसबेला शवको पोस्टमार्टम गराउन संविधानसभा सदस्य कुर्मीले नै रोकेका थिए । त्यहीँबाट उनको नियतमा खोट रहेको देखिन्छ ।’
लोग्ने र छोराहरूसमेत बितेपछि निर्मला एक्ली भइन् । एउटी विधवा महिलालाई समाजले गर्ने दुर्व्यवहार र विभेद छोराहरूको मृत्युपछि झनै चर्किएको थियो । छिमेकीसमेत रहेका संविधानसभा सदस्य कुर्मीले गर्ने व्यवहार पनि बद्लियो । तत्काल संविधानसभाको सदस्य रहेका कुर्मी घर पुगेपिच्छे निर्मलामाथि ज्यादती गर्न थाले ।
त्यही क्रममा उनले निर्मलाबाट उनका लोग्ने र छोराको नाममा रहेको ५ बिगा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कब्जामा लिए । श्रीमान् र छोरा बितेपछि आफ्नो बाँच्ने आधारको रूपमा रहेको सम्पत्तिसमेत कुर्मीले खोसिदिएपछि निर्मलाले न्यायका लागि प्रशासन र संघसंस्था धाउन थालिन् । उनले गाउँका ठालूदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगेर आफ्ना कागजपत्र फिर्ता गराइदिन हारगुहार गरिन् ।
निर्मलाले १८ माघ, ०६६ मा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा पनि निवेदन दिएकी थिइन् । निर्मलाले आफूविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेको थाहा पाएपछि संविधानसभा सदस्य कुर्मी गाउँ पुगे ।
निर्मला कुर्मीमाथि दुर्व्यवहार गर्दै २०६६ माघ २० गते तत्कालीन संविधानसभा सदस्य वादशाह कुर्मी । तस्बिर सौजन्यः महिला अधिकार मञ्च बाँके
२० माघमा गृह नगर पुगेका कुर्मीले निर्मलामाथि सार्वजनिक स्थानमै दुर्व्यवहार गरे । जिल्ला प्रशासन कार्यालयबाट फर्किँदै गरेकी निर्मलालाई कुर्मीले बाटोबाटै नियन्त्रणमा लिए । उनीसँग ४-५ जनाको समूह नै त्यो कार्यमा संलग्न थियो । उनले निर्मलामाथि कुटपिट मात्रै गरेनन्, अपहरण शैलीमा घिसारेर आफ्नै घर पुर्याए । अर्को दिन प्रहरीले कुर्मीको घरबाट निर्मलाको उद्धार त गर्यो । तर, सभासद्लाई छुने आँट गरेन ।
सभासद्ले नै एउटी एकल महिलामाथि सार्वजनिक दुर्व्यवहार गरेपछि जिल्लामा खैलाबैला मच्चियो । महिला अधिकारकर्मी, मानवअधिकारकर्मी र संघसंस्थाहरुले पनि विरोध जनाए । त्यसैको आडमा २१ माघमा प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयमै सरोकारवालासँग छलफल बोलाए । तर, त्यो दिन सभासद् कुर्मी छलफलमै आएनन् । २२ माघमा कुर्मीविरुद्ध अधिकारकर्मीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका थिए ।
आफूविरुद्ध चौतर्फी विरोध भएपछि कुर्मीले निर्मलाका कागजात फिर्ता गरिदिए । तर, उनीमाथि न कुनै अनुसन्धान भयो, न कारबाही । केवल सार्वजनिक माफी मागेर मुद्दाको छिनोफानो भयो । ‘त्यसबेलै प्रहरीले निर्मलालाई न्याय दिनुपर्ने हो । तर, प्रहरीले सभासद्लाई छुने आँट गरेन । त्यही कारण निर्मलामाथि थप अन्याय बढ्यो । उनले ज्यानै गुमाउनुपर्ने अवस्था बन्यो,’ केन्द्रका अध्यक्ष शेर बागवान भन्छन्, ‘हुँदाहुँदा एउटी निरीह महिलाको अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरिसक्दा पनि प्रहरी दोषीमाथि अनुसन्धान गर्न तयार छैन । उजुरी लिँदैन । अनि हामी कसरी चुप बस्ने ?’
निर्मलासँग सार्वजनिक माफी माग्नुपरेपछि कुर्मी झन् आक्रोशित भएर प्रस्तुत हुन थाले । सामाजिक रूपमा माफी मागेर मुद्दा टुंग्याइए पनि कुर्मीले निर्मलामाथि ज्यादती गर्न भने छाेडेनन् । कुर्मीले त्यसपछि निर्मलामाथि निरन्तर डर, धाक, धम्की देखाएको अधिकारकर्मीको आरोप छ ।
‘कुर्मीबाट असुरक्षित भएपछि हामीले निर्मलालाई साथी नामक संस्थाको संरक्षणमा समेत राख्यौँ । त्यही बीचमा उनले आफ्नो श्रीमान् र छोराको नाममा रहेको सम्पत्ति पनि आफ्नो नाममा पास गरिसकेकी थिइन्,’ अध्यक्ष शेर बागवानले भने । निर्मलाको सम्पत्तिमा आँखा गाडेका सभासद् कुर्मीले जबरजस्ती उनको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गरेको बागवान बताउँछन् । उनकाअनुसार अहिले निर्मलाको सम्पत्ति २/३ जनासम्म हक हस्तान्तरण भइसकेको छ ।
त्यसपछि निर्मला संघसंस्था र अधिकारकर्मीसँग पनि सम्पर्कमा रहिनन् । उनको अवस्था अज्ञात जस्तै रह्यो । त्यो अवधिमा पनि कुर्मीले निर्मलालाई बन्धक बनाएर राखेको अधिकारकर्मीको दाबी छ ।
मञ्चले दिएको जाहेरीमा ०७५ माघ २५ गते राति कुर्मी र उनका केटाहरूले निर्मलाको अपहरण गरेको उल्लेख छ । उनको अपहरणमा कृष्णमुरारी सिंह, उर्मिला कनौजिया, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी, रमेश थापा, कुवर बब्बर सिंह, धिरेन्द्र सिंह र पार्वती विष्टको मिलेमतो रहेको उनीहरूको आरोप छ । उनी अपहरणमा परेको दुई वर्षपछि उनको मृत्यु भएको खबर फैलाइएको थियो । तर, अधिकारकर्मीहरूले भने सभासद् कुर्मीकै गिरोहले निर्मलाको अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको दाबी गरेका थिए ।
त्यसयता अधिकारकर्मीहरू निरन्तर आन्दोलित छन् । ‘हामीले निर्मलाको न्यायका लागि लामो संघर्ष गरेका छौँ । तर, प्रहरीले पावर र सत्ताको पछि लागेर हाम्रो जाहेरीलाई वास्तै गरेन,’ मञ्चकी सदस्य तेली भन्छिन्, ‘सभासद् कुर्मीकै कारण निर्मलाको सिङ्गो परिवार विनाश भयो । वंश नाश भयो । हामी त निर्मलाका छोराहरूको समेत रहस्यमय मृत्यु भएकाले त्योसमेत उनीसँगै जोडिएको आशंका गरिरहेका छौँ ।’
उनले आफूहरूले उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेपछि न्यायका लागि जिल्लादेखि, प्रदेश हुँदै केन्द्रसम्म धाउनुपरेको बताइन् । ‘महिलालाई जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ भन्ने मानसिकताबाट निर्मलामाथि निरन्तर अत्याचार भएको छ, उनको सम्पत्तिकै लागि उनीमाथि अत्याचार भएको छ,’ उनले भनिन् ।
प्रकाशित : कार्तिक १, २०७८ १७:५९