कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शिशु हत्यामा महिलालाई सजाय, पुरुषलाई उन्मुक्ति

अवैध सम्बन्धबाट जन्मिएका शिशु फ्याँकेको आरोपमा पक्राउ पर्ने र कारबाही भोग्नेमा सबैजसो महिला, पुरूष भने पक्राउ नै पर्दैनन्

सुर्खेत, ओखलढुंगा, दाङ, तनहुँ, पर्वत — ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठूलाछापमा जेठ १५ मा सालनालसहितको शिशु बोरामा हालेर पानीट्यांकीभित्र फालेको अवस्थामा भेटियो । प्रहरीले १७ वर्षीया किशोरीलाई पक्राउ गर्‍यो । विवाहपूर्वको यौन सम्बन्धबाट शिशु जन्मिएपछि ती किशोरीले सामाजिक अवगालको डरले शिशु फ्याँकेको देखियो ।

शिशु हत्यामा महिलालाई सजाय, पुरुषलाई उन्मुक्ति

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले शिशु मृत नै जन्मिएको हो वा फालेपछि मरेको हो भन्ने पुष्टि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हुने बताए । प्रहरीले यतिमात्रै सूचना पाएको छ– किशोरीसँग सम्बन्ध राख्ने युवक संखुवासभा घर भई ठूलाछापमै ट्र्याक्टर चलाउँथे । स्थानीयले भने बिहेको आश्वासन देखाएर शारीरिक सम्बन्ध राखेको बताइरहेका छन् ।

देशैभरि यस्ता दर्जनौं घटना भेटिन्छन्, जसमा आमाहरू नवजात शिशु फ्याँक्नुपर्ने परिस्थितिमा पुगेका छन् र धेरैजसो घटनामा आमामात्रै पक्राउ परेका छन् । यस्तो परिस्थिति निर्माणका मुख्य साझेदार पुरुषहरूको कि त पहिचान नै भएको छैन कि पक्राउ पर्न सकिरहेका छैनन् । पक्राउ परेका एकाध घटनामा पनि शिशुको हत्या प्रकरणमा महिलालाई दोषको भारी बोकाइएको छ ।

नवजात शिशु मृत फेला परेका घटनामा महिला मात्रै पक्राउ पर्ने घटना यतिमै सीमित छैन । दाङको राप्ती गाउँपालिका–३ मसुरियाकी १५ वर्षीया किशोरीले गत जेठ ९ मा छोरी जन्माइन् । अविवाहित किशोरीले स्थानीय चिनेजानेकै युवकसँगको सम्बन्धबाट छोरी जन्माएको बताइन् तर युवक उनको साथमा थिएनन् । उमेर नपुगी सुत्केरी भएकाले होला, उनले शिशुलाई दूधसमेत चुसाउन सकिनन् । हरेक दिन रोइरहने शिशु, स्याहारको जटिलता र समाजको टोकेसोका कारण उनी तनावमा पर्न थालिन् । एकदिन उनले संयमता गुमाइन्, अनि नवजात शिशुलाई चर्पीको सेप्टिक ट्यांकीमा फालिदिइन् ।

किशोरीका बुबा वर्षौंदेखि परिवारसँग सम्पर्कविहीन रहेको र आमा बोल्न नसक्ने भएकाले यो घटना तत्कालै बाहिर आएन । जेठ २५ मा सेप्टिक ट्यांकीमा शिशुको शव भेटिएपछि घटना बाहिर आयो । शिशु हत्या गरेको अभियोगमा पक्राउ परेकी उनले प्रहरीसँग फरक–फरक कुरा बताइरहेकी छन् । ‘उनी कहिले बच्चा सुताएर बाहिर निस्केका बेला अरू कसैले फालिदिएको भन्छिन्, कहिले आफैं फालेको भन्छिन्,’ प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘बच्चा उनी आफैंले फालेको देखिन्छ ।’ उनलाई गर्भवती बनाएर भाग्ने २२ वर्षीय विकास गुरुङ पक्राउ परेका छैनन् ।

यसरी अवैध शिशुको हत्या गरेको अभियोगमा प्रायःजसो आमा पक्राउ पर्ने गरेका छन् । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा लगाइन्छ तर गर्भवती बनाउने पुरुष पक्राउ पर्दैनन् । यस्तो किन त ? प्रहरी उपरीक्षक काफ्ले भन्छन्, ‘यो घटनामा हामीले पुरुषको पनि खोजी गरिरहेका छौं । उनलाई बलात्कार मुद्दा र महिलालाई कर्तव्य ज्यान मुद्दा लाग्छ ।’

२०७६ भदौयता मकवानपुर र धादिङमा नवजात शिशु मिल्काएका तीन घटना सार्वजनिक भए । दुईवटामा मुछिएका महिला एकल देखिन्छन् भने अर्कोमा श्रीमान् वैदेशिक रोजगारीमा गएपछि विवाहेत्तर सम्बन्धमा रहेकी महिला मुछिएको देखिन्छ । गत चैत १० मा मकवानपुरको कैलाश गाउँपालिका—१० को जंगलमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला पर्‍यो । प्रहरीले सोही गाउँकी ३६ वर्षीया महिलालाई पक्राउ गर्‍यो ।

श्रीमान् ७ वर्षदेखि वैदेशिक रोजगारीमा रहेकाले विवाहेत्तर सम्बन्धबाट जन्मिएको शिशुको बारेमा गाउँ–समाजले थाहा पाएपछि एक्लै आरोप खेप्नुपर्ने डरले ती महिलाले नवजात शिशु मिल्काएको खुल्यो । उनीमाथि कर्तव्य ज्यानमा मुद्दा चल्यो । प्रहरीले गर्भ बोकाउने पुरुषको भने खोजी नै गरेन ।अदालतबाट महिला साधारण तारिखमा छुटे पनि पुरुषको भूमिकाबारे छानबिन नहुँदा घटना कसरी विकसित भएको थियो र त्यसमा जिम्मेवार को थियो भन्ने प्रश्नको उत्तर अधुरै रह्यो । प्रहरीको मुद्दा फाँटमा कार्यरत एक प्रहरी अधिकृतले नवजात शिशुको हत्यामा कसैको पनि संलग्नता नरहेको बताएकाले महिलालाई मात्रै मुद्दा चलाइएको जनाए ।

धादिङको नीलकण्ठ नगरपालिका–७ की ३५ वर्षीया एकल महिला २०७६ भदौ १९ मा सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल पुगिन् । स्वास्थ्य जटिलता देखेपछि अस्पतालले उनलाई काठमाडौं रेफर गरिदियो । नवजात शिशु लिएर भदौ २२ मा घर फर्किंदै गर्दा उनी गजुरी गाउँपालिका–१ गजुरीबजार नजिकै शौच गर्न झरिन् । त्यही बेला उनले नवजात शिशुलाई सडकछेउमै छोडिदिइन् ।

यस्तै घटना गत जेठ १८ मा नीलकण्ठ– १२ मा पनि भयो । साउनेपानी भन्ने ठाउँको बाटोछेउको बाँझो जग्गामा कपडाले बेरिएको थुप्रोजस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे । अनुसन्धानपछि प्रहरीले ३४ वर्षीया एकल महिलाले अवैध सम्बन्धबाट बच्चा जन्माएर फालेको निष्कर्ष निकाल्यो । ती महिला अहिले थुनाबाट छुटे पनि गाउँमा छैनन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले यस्ता घटनामा पुरुष फरार भएपछि महिला अप्ठ्यारोमा पर्ने गरेको बताए । उनले भने, ‘यस्ता केसमा शिशु जन्मिएपछि पुरुष फरार भएको देखिन्छ ।’

सामाजिक परम्परा र महिलालाई अबला ठान्ने प्रवृत्तिका कारण आमाहरू अपराध कर्मतिर धकेलिएको देखिन्छ । आफैंले जन्माएको शिशुको हत्या गर्नेदेखि बेवारिस छाड्नेसम्मका काममा उनीहरू किन उद्यत् छन् भनेर खोज्दा अनेकन् सामाजिक कारण जिम्मेवार देखिन्छन् ।

सल्यानको शारदा नगरपालिका–२ की ३५ वर्षीया शान्ता परियार श्रीमान्को मृत्युपछि छोराछोरीलाई पालनपोषण खर्च जुटाउन काम खोज्दै भारतको सिम्ला पुगिन् । त्यहीं उनले ५० वर्षीय दानबहादुर भण्डारीलाई भेटिन् । दानले उनलाई जागिरको आस देखाएर आफूसँगै राखे । कोरोना महामारीमा उनीहरू नेपाल फर्किए तर जात नमिल्ने भन्दै दानबहादुरले उनलाई छोडिदिए । त्यतिबेला उनको काखमा तीनमहिने शिशु थियो । २०७७ असोज २९ मा सल्यानकै श्रीनगरको जंगलमा शिशुलाई छोडिदिइन् । जंगलमा बेवारिस शिशु फेला परेपछि प्रहरीले अनुसन्धान थाल्यो । शान्ता र दानबहादुर दुवै पक्राउ परे । दुवैमाथि प्रहरीले बहुविवाहको मुद्दा चलायो । अदालतले सुनाएको २ वर्ष ६ महिनाको कैद सजाय उनीहरूले जिल्ला कारागार सल्यानमा बसेर भुक्तान गरिरहेका छन् ।

सुर्खेतको चौकुने गाउँपालिका–४ की २२ वर्षीया सूर्यकुमारी टोसेल सुर्जा अहिले सुर्खेत जिल्ला कारागारमा छिन् । उनीमाथिको कसुर छ, नवजात शिशु खोलामा फ्याँकेको । सुर्जाले अपांगता भएको शिशु जन्माएकी थिइन् । त्यतिबेला उनका श्रीमान् रोजगारीका क्रममा भारतमा थिए । श्रीमान्को अनुपस्थितिमा परिवार र आफन्तबाट अनेकन् कुरा सुन्नुपरेपछि तनावमा आएर सुर्जाले शिशु फ्याँकेको बयान प्रहरीमा दिएकी थिइन् । उनी अहिले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि काठमाडौंको केन्द्रीय कारागारमा छिन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गणेश बमले नवजात शिशु मिल्काउने घटनाको संख्या थोरै भए पनि यस्ता घटनामा महिला नै धेरै परेका देखिन्छन् । उनले भने, ‘तीन आर्थिक वर्षमा यस्ता आठवटा मुद्दा प्रहरीमा आए, जसमा ८ महिला र ८ पुरुष कारागार चलान भएका छन् ।’ अधिवक्ता गीता कोइरालाले सुरुमा दुवै जनाको सहमतिमा सम्बन्ध रहने र पुरुषले नस्विकार्ने भएकाले यस्ता घटनामा महिला एक्लै दोष बोक्न बाध्य भइरहेको बताइन् । उनले यस्ता घटनामा दलित महिला धेरै पीडित भइरहेको बताउँदै भनिन्, ‘जातका आधारमा गरिने सामाजिक व्यवहारले यस्ता घटनालाई प्रेरित गरिरहेको छ ।’

कोरोना संक्रमणको पहिलो लहरपछिका ९ महिनामा मात्रै प्रहरीले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट चार नवजात शिशु र ८ महिनाकी बालिका बेवारिस अवस्थामा फेला पारेको थियो । शिशुको उद्धारमा सक्रिय प्रहरीका अनुसार ती ४ शिशु र १ बालिकामध्ये एउटाको मात्र अभिभावकको पहिचान भएको थियो ।

अदालतको त्यो फैसला

पर्वतको फलेबासमा भएको एउटा घटनामा सर्वोच्च अदालतले नवजात शिशु हत्याको घटनामा किशोरीसँगै पुरुषलाई पनि सजाय तोकेको थियो । ०७५ भदौ २० मा पर्वत प्रहरीले शिशु जन्माएर हत्या गरी फालेको आरोपमा फलेबास नगरपालिकाकी १७ वर्षीया अविवाहित किशोरीलाई पक्राउ गरी मुद्दा चलायो । जिल्ला अदालतले किशोरीलाई १२ वर्ष ६ महिना कैद सजाय सुनायो । किशोरी पक्राउ परेको एक महिनापछि असोज २७ मा युवक गणेश भनिने मनबहादुर मल्ल पक्राउ परे । किशोरीलाई अवैध गर्भ बोकाएको आरोपमा युवकलाई अदालतले ६ वर्षको कैद सजाय सुनायो ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन गर्‍यो । उच्चले किशोरीको कैद सजाय चर्को परेको भन्दै ५ वर्षमा सीमित गरिदियो भने मनबहादुरको कैद दुई वर्ष घटाएर ४ वर्षमा झारिदियो । सरकारी पक्ष यो मुद्दा लिएर सर्वोच्च पनि पुग्यो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फmुयाँलको संयुक्त इजलासले यस्तो काममा संलग्न महिला त्रूर अपराधी नभई सम्बन्धित पुरुष गैरजिम्मेजार भएकाले त्यस्तो काम गर्न बाध्यात्मक अवस्था सिर्जना भई बच्चा जन्मनासाथ लुकाउने, छोड्ने वा मारिदिनुपर्ने अवस्था सिर्जना भएको हुन सक्ने फैसला गर्‍यो । फैसलामा किशोरीलाई दुई वर्षमात्रै कैद गर्दा पनि कानुनको उद्देश्य पूरा हुने फैसला गर्‍यो भने मनबहादुरको सजायलाई सदर गर्‍यो । लगत्तै किशोरी थुनामुक्त भइन् ।

नवजात शिशु हत्याको घटनामा उच्च अदालत दिपायलले गरेको फैसला झनै अर्थपूर्ण छ । बाजुराका राजकुमार बडुवालले भाउजू नाता पर्ने महिलालाई गर्भवती बनाएका थिए । बडुवाल बच्चाको जिम्मेवारीबाट भागेपछि महिलाले नवजात शिशुको हत्या गरिन् । यो मुद्दामा बाजुरा जिल्ला अदालतले बडुवाललाई निर्दोष ठहर गर्दै महिलालाई चार वर्ष कैदको फैसला गर्‍यो तर २०७८ फागुन १७ मा उच्च अदालतले अवैध गर्भधारणबाट जन्मेकी शिशुको हत्यामा आमाभन्दा पनि अवैध गर्भधारण गर्न बाध्य बनाउने पुरुषलाई मुख्य जिम्मेवार हुने फैसला गर्‍यो ।

न्यायाधीश टेकनारायण कुँवर र जगतबहादुर थापाको संयुक्त इजलासले बाजुरा जिल्ला अदालतले गर्भ बोकाउने राजकुमार बडुवाललाई निर्दोष फैसला गरेको निर्णय उल्टाउँदै जन्मकैदको फैसला सुनायो ।

प्रकाशित : असार ४, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×