यो हो २८ करोड राजस्व छलीका आरोपितको घर

जागिरको आश्वासनमा नागरिकता बुझाएका उमाशंकर राजभर १० महिनादेखि नख्खु कारागारमा 
उनको नाममा कम्पनी खडा गरी अर्बौंको नक्कली कारोबार गरेर राजस्व छल्ने ‘मुख्य डिजाइनर’ कानुनको पहुँचबाहिर
कानुनको आँखामा पट्टी बाँधिएको हुन्छ भन्छन् तैपनि अदालतले विवेक प्रयोग गर्छ कि भनेर राजधानी धाइरहेको परिवार निराश
तुफान न्यौपाने

परवानीपुर, बारा — पर्साको वीरगन्ज बजारबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने बाराको परवानीपुर चोकबाट थप करिब पाँच किलोमिटर उत्तरपूर्व लागेपछि उमाशंकर रायभरको घर पुगिन्छ । १२ धुर ऐलानी जग्गामा बनेको खपडाले छाएको कच्ची घरको बीचोबीचबाट देखिन्छ खुला आकाश ।

प्रस्ट छ, यो घरले बर्खामा आकाशे पानी र हिउँदमा शीतलहरबाट ओत दिँदैन । पुस पहिलो साताको एक बिहान उमाशंकरको घर पुग्दा चिसोले कठ्यांग्रिएर रुँदै गरेकी एक वर्षकी छोरी अञ्जलीलाई फुलाउन कोसिस गर्दै थिइन् आमा सोनम । ‘श्रीमान् जेल चलान हुँदा छोरी दुई महिनाकी थिई, अहिले एक वर्षकी भई । उनी कहिलेसम्म जेलमा बस्ने हुन् ! मैले एक्लै हुर्काउन कसरी सकुँला !’ उनी निसासिएकी छन् ।

बिहान–साँझ छाक टार्नसमेत धौधौ हुने परिवारका कान्छा छोरा हुन् उमाशंकर । तर विडम्बना, उनी करिब २८ करोड रुपैयाँ कर छली गरेको अभियोगमा नख्खु कारागारमा छन् । मुलुकको प्रमुख कार्यकारी शक्ति अभ्यास गर्ने प्रधानमन्त्रीको कार्यालयमातहत रहेको राजस्व अनुसन्धान विभागले गरेको ‘अनुसन्धान’ मा आधारित भएर उच्च सरकारी वकिलको कार्यालयले उमाशंकरमाथि ‘नक्कली, जालसाजी तथा झूटो मूल्य अभिवृद्धि कर बीजक बनाई राजस्व चुहावट गरेको प्रमाणित भएको’ भन्दै मुद्दा चलाएको छ ।

उमाशंकरका दाइ सन्तोष रायभर ।

उमाशंकरलाई छुटाउन सकिन्छ कि भनेर उनका दाइ काठमाडौं धाइरहेका छन् । तर उनले बस भाडासमेत ऋणमा खोज्नुपर्छ । ‘भाइलाई २८ करोड रुपैयाँ राजस्व छल्यो भनेर मुद्दा चलाइएको छ । उसले त्यत्रो अपराध गरेको भए हाम्रो हालत यस्तै हुन्थ्यो हो त ?’ सन्तोष भन्छन्, ‘राजस्व अनुसन्धान विभाग, सरकारी वकिल, अदालत ती सबैले के हेरेर/के देखेर मेरो भाइलाई जेलमा कोचेका होलान् ? के अनुसन्धान गरे होलान् ? त्यो पैसा कति हो भनेर हामीले अनुमान पनि गर्न सक्दैनौं, ठगी कसरी गर्नु ?’

जो ठगको फन्दामा परेर जेल पुगे

राजस्व अनुसन्धान विभागले उमाशंकरलगायत १७ जनामाथि उच्च अदालत पाटनमा मुद्दा चलाएको छ । तारिख पाएपछि उनी बाटो खर्च खोजेर गत वर्ष फागुन १९ मा पाटन उच्च अदालतमा उपस्थित भएका थिए । न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमले ‘७५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक जमानत धरौटीस्वरूप दिन नसकेमा थुनुवा पठाउनू’ भन्ने आदेश दिए ।

ऐलानीमा बनेको छाप्रोले ७५ लाख धरौटी धान्न सक्ने कुरै भएन, उनलाई अदालतबाटै पक्रेर सिधै नख्खु कारागार पठाइयो । यसबीचमा दाइ सन्तोषले ६ पटक बारा–काठमाडौं गरिसकेका छन् । कानुनको आँखामा पट्टी बाँधिएको हुन्छ भन्छन्, तैपनि अदालतले कतैबाट विवेक प्रयोग गर्छ कि भन्ने आशा बोकेर उनी काठमाडौं आउँछन् । काठमाडौंमा गाउँबाट आएका चिनेजतिका व्यक्तिलाई सम्पर्क खोजेर भेट्न पुग्छन्, गुहार माग्छन्, निराश भएर फर्किन्छन् । ‘अहिले छैटौं पटक आउँदा बल्ल एक जना वकिल भेटें । उसले जग्गा धरौटीमा राखिदिने एक जना दलाल भेटाइदियो । तर त्यसरी उसको जग्गा धरौटी राखिदिएबापत १७ लाख रुपैयाँ माग्यो । त्यत्रो पैसा कहाँबाट ल्याउनु ? त्यो पनि काम लागेन,’ गत बिहीबार काठमाडौंबाट बारा फर्कनुअघि सन्तोषले कान्तिपुरसँग भने ।

उमाशंकरका बुवा राजेन्द्र रायभर ।

उमाशंकरमाथि राजस्व अनुसन्धान विभागले काठमाडौंमा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालि दर्ता गरी जालसाजी तथा झूटो कर बीजक जारी गरेर राजस्व चुहावट गरेको अभियोग लगाएको छ । यी दुई कम्पनीमार्फत क्रमशः १५ करोड ८७ लाख ७ हजार र १२ करोड ३ लाख गरी २७ करोड ९० लाख रुपैयाँ कर छलेको अभियोग उनीमाथि छ । उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दर्ता गरेको अभियोगपत्रमा उमाशंकरले राजस्व छलेको भनिएको रकम बराबर जरिवाना साथै मुद्दा फैसला हुने समयसम्मको थप जरिवाना र पाँच वर्षसम्म कैद गर्न माग गरेको छ ।

सानैमा आमा गुमाएका उमाशंकरको घरमा बिरामी बुबा, दाजु–भाउजू, श्रीमती र सन्तान छन् । काठमाडौंमा सिलाइकटाइ गरिरहेका दाजु सन्तोषको एक्लो कमाइले परिवारको भरथेग भइरहेको थिएन । गाउँकै उमाशंकर सहनीको साथ लागेर १६ वर्षकै उमेरमा काठमाडौं आउँदा उमाशंकर रायभरको सपना थियो– मोटरसाइकल मेकानिक बन्ने र दाइको बोझ घटाउने । मोटरसाइकल ग्यारेजमा काम सिक्न सुरु गरेका उनलाई एक दिन तिनै सहनीले भेटेर राम्रो काम र तलब दिने आश्वासन दिँदै नागरिकता लिएर आउन अह्राए । सहनीसँग सर्लाहीको गोडैता–८ स्थायी ठेगाना भई काठमाडौंको कोटेश्वर बस्दै आएका सरोजकुमार मिश्र पनि आएका थिए । भोलिपल्ट रायभरले नागरिकताको फोटोकपी बुझाए । मिश्र र सहनीले थप कागजात ल्याएका थिए, त्यसमा रायभरले औंठाछाप लगाइदिए । फोटो खिचे र कागजातमा टाँसे । बाराको सरकारी स्कुलमा ५ कक्षासम्म पढेका रायभरले आफूले ल्याप्चे लगाइदिएका कागजात पढेनन् । उनको बायाँ आँखामा सानैदेखि समस्या पनि छ ।

गत कात्तिक १३ गते उमाशंकर रायभरबारे कान्तिपुरमा छापिएको समाचार ।

यति धेरै कागजपत्रमा ल्याप्चे लगाएपछि जागिर पाइन्छ भन्नेमा उनी ढुक्क थिए, तर सहनी र मिश्र फर्किएर कहिल्यै आएनन् । मोटरसाइकल बनाउने काम सिकेका रायभर झापा पुगे । उनले उतै काम पाए । मासिक १८ हजार रुपैयाँ कमाउने उनले नियमित आम्दानी परवानीपुर घरमा पठाउँथे । त्यसले वृद्ध तथा बिरामी बाबुलाई औषधि गर्न पुग्थ्यो । काठमाडौंमा सिलाइकटाइ गर्ने सन्तोष पनि कोभिड महामारीपछि घर फर्किएका थिए, तर भाइको आम्दानीले परिवार चलेको थियो । उनीहरूले घरदेखि दुई किलोमिटर टाढा खोला किनारमा सस्तोमा जग्गा भेटे । ऋणधन गरेर चार कट्ठा खेत किने । उमाशंकरले २०७६ मा बिहे गरे । २०७७ पुसमा छोरी जन्मिइन्, परिवारलाई सुखी बनाउन उनी पुनः झापा पुगे ।

जीवनको लय बन्दै थियो । २०७७ फागुन दोस्रो साता घरमा एउटा पत्र पुग्यो, पाटन उच्च अदालतबाट काटिएको पत्रमा लेखिएको थियो, ‘राजस्व अनुसन्धान विभागको विस्तृत अनुसन्धान प्रतिवेदनले वादी नेपाल सरकारविरुद्ध अभियुक्त/प्रतिवादी तपाईंसमेत भएको राजस्व चुहावट मुद्दामा तपाईंसमेतका उपर अभियोगपत्र दर्ता भएकाले यो म्याद तामेल भएको १५ दिनभित्र प्रमाण भए सोसमेत लिएर तपाईं आफैं यस अदालतमा हाजिर हुन आउनुहोला । अन्यथा मुद्दा कानुनबमोजिम भइजानेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’

उमाशंकर रायभरको परिवार ।

छिमेकीले पत्र सुनाएपछि स्तब्ध परिवारले उमाशंकरलाई झापाबाट झिकायो । अरूको नामको पत्र आफ्नो घरमा आएको हो कि भनेर बुझ्न उनी काठमाडौं आए । उच्च अदालत पाटन पुगेपछि थाहा भयो, काठमाडौंमा उनकै नाममा दर्ता भएका ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालिका नामबाट जालसाजी तथा झूटा कर बीजक जारी गरी राजस्व चुहावटमा प्रत्यक्ष रूपमा संलग्न भएको भन्दै मुद्दा दर्ता भएको रहेछ । झूटा, जालसाजी तथा नक्कली कर बीजक जारी गरेको तथा मूल्य अभिवृद्धि कर, आयकर र लाभांश करबापत एक अर्ब रुपैयाँभन्दा बढी छली गरेको अभियोगमा विभागले १० जना मुख्य अभियुक्त र सात जना मतियारलाई मुद्दा चलाएको थियो । उमाशंकरलाई मुख्य अभियुक्त बनाइएको छ ।

मुद्दाबारे बुझ्न आएका उमाशंकर पक्राउ परिहाले । ‘करोडौं रकम ठगी गर्‍यो भन्ने सुन्दा विश्वास कसरी गर्ने,’ श्रीमती सोनम भन्छिन्, ‘एउटी छोरी हुर्काउन पनि गाह्रो छ । जाडोमा के लगाउने, के खाने समस्या छ । अदालतले कसरी उसलाई ठग देखेको होला ? के देखेर जेल हालेको होला ?’

बाराको परवानीपुरस्थित उमाशंकर रायभरको घर ।

राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा उमाशंकरसहित १७ जनाविरुद्ध ८७ पृष्ठ लामो अभियोग दर्ता गराएको छ । अदालतमा पेस भएका कागजात हेर्दा सरोजकुमार मिश्रले चार्टर्ड एकाउन्टेन्ट तथा आफ्ना केही सहयोगीका साथ मिलेर उमांशकरजस्ता युवाको नागरिकता दुरुपयोग गरेर एक अर्ब रुपैयाँभन्दा बढी रकम छली गरेको देखिन्छ । उनले प्रोकरस इन्टरनेसनल प्रालि, आरकेएस इन्टरनेसनल प्रालि, अनन्या इन्टरनेसनल, इन्टरसिटी इन्टरनेसनल, ब्लु क्रस ट्रेडर्स, जेन सप्लायर्स, राज एन्ड किशोर इन्टरनेसनल र स्विफ्ट इन्टरनेसनल प्रालिको बैंक खाता सञ्चालक बनेर तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालिको सञ्चालक बनेर कर छलेको अभियोगपत्रमा उल्लेख छ ।

मिश्र नै यो ठगीका मुख्य ‘डिजाइनर’ देखिन्छन् । तर, विभागले अनुसन्धान थालेपछि उनी फरार छन् भने जागिर पाउने आशामा नागरिकताको फोटोकपी दिएका बाराका उमाशंकर मूल्य चुकाउँदै छन् । मिश्रले उमाशंकरको व्यक्तिगत विवरण दुरुपयोग गरी कम्पनी दर्ता गराउनुका साथै सम्पूर्ण बैंकिङ कारोबारको अख्तियारी लिएर कारोबार गरेको देखिन्छ । जेल सजाय भोगिरहेका उमाशंकरको आर्थिक अवस्था यस्तो छ कि उनी उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालत जान वकिल पनि खोज्न सक्ने अवस्थामा छैनन् ।

उमाशंकरका बुबा राजेन्द्रले छोरालाई छुटाउन वकिल राख्न केही समयअघि खोला छेउमा किनेको खेत बेच्ने प्रयास गरेका थिए तर त्यही जग्गा पनि विद्युत्को हाइटेन्सन लाइनमुनि परेकाले कसैले किन्न चाहेनन् । ‘मेरो निर्दोष छोरा १० महिनादेखि जेलमा छ । उसलाई छुटाउन हामीले केही गर्न सकेनौं । हामीजस्ता गरिबलाई राहत दिनुपर्ने सरकारले हो, तर सरकार लागेपछि हाम्रो के लाग्दोरहेछ ?’ राजेन्द्र भन्छन् । कपडा, झोला तथा बोरा उत्पादन गर्ने त्रिवेणी सिन्प्याक्समा काम गर्ने राजेन्द्रले दमले च्याप्दै लगेपछि श्रम गर्न छाडे । ‘बुबालाई औषधि किन्न नै सयकडा पाँचको दर (६० प्रतिशत) मा ऋण लिनुपरेको छ । हामी कसरी बाँच्ने ? छोरीलाई कसरी हुर्काउने, केही थाहा छैन,’ सोनम भन्छिन् ।

अर्ब ठगी गरेका मुख्य अभियुक्त फरार हुने तर उमाशंकर जस्ता निमुखा जेलमा सड्ने, यो प्रतिनिधि घटना नेपालको फौजदारी न्याय प्रणालीको असफलता चिहाउने आँखीझ्याल बनेको छ ।

प्रकाशित : पुस १६, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

सन् २०२१ का २१ घटना

एजेन्सी

वासिङ्टन/लन्डन — अंग्रेजी वर्ष सन् २०२१ आज बिदा हुँदै छ । समग्रमा यो वर्षलाई पनि कोभिड महामारी, प्राकृतिक प्रकोप र राजनीतिक अनिश्चितताले गाँज्यो । हत्या र आक्रमणका सिलसिलाले पनि विगतमा जस्तै निरन्तरता पाए । विज्ञान र प्रविधिका क्षेत्रमा भएका उपलब्धि भने स्मरणयोग्य बने ।

१) वर्ल्ड ट्रेड अर्गनाइजेसन प्रमुखमा अफ्रिकी महिला

वर्ल्ड ट्रेड अर्गनाइजेसन(डूब्लूटीओ)को नेतृत्वमा यस वर्ष पहिलो पटक अफ्रिकी मूलकी महिला प्रमुख बनिन् । नाइजेरियाको पहिलो महिला अर्थमन्त्री समेत रहेकी नोग्जी ओन्जो इवेला डब्लूटीओको पहिलो अफ्रिकी महिला महानिर्देशक बन्दै इतिहास रचिन् । उनी नाइजेरियामा दुई पटक अर्थमन्त्री भएकी थिइन् ।

२) पहिलो पटक करोडौं मूल्यमा डिजिटल आर्टको बिक्री

यो वर्ष पहिलो पटक डिजिटलमा निर्माण गरिएको एक तस्बिर करोडौं मूल्यमा बिक्री भएको छ । माइक विंकलम्यानको ‘एभ्रिडेज: द फस्र्ट ५००० डेज’ बेलायत क्रिस्टिज कम्पनीमा ६ करोड ९३ लाख डलरमा लिलामी गरिएको थियो । ५ हजार तस्बिरहरुको कोलाज रहेको यो आर्टको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत भएको थियो ।

३) मानिसलाई आक्रमण गर्ने स्वचालित ड्रोन

आर्टिफिसियल इन्टिलिजेन्स(एआई)ले पहिले पटक द्वन्द्व ग्रस्त क्षेत्रमा गएर ड्रोन हमला भएको वर्षको रुपमा यो वर्ष चिनिएको छ । संयुक्त राष्ट्र संघले मान्यता दिएको त्यहाँका अन्तरिम सरकार र विद्रोही नेता खलिफा हफ्तारका सेनाबीच भइरहेको द्वन्द्वग्रस्त क्षेत्रमा टर्कीको सैन्य ठेकेदावरद्वारा निर्मित कोर्गु–२ ड्रोन त्यहाँ उपस्थित थियो । मानिसले दिने कमान्डका कारण लडाइमा ड्रोनहरु प्रयोग हुने गरेपनि एआई आपैंm द्वन्द्वग्रस्त क्षेत्रमा पुगेको यो घटना पहिलो भएको राष्ट्र संघले जनाएको छ ।

४) रिजिक्स संग्राहलयमा स्थायी रुपमा राखिएको महिलाहरुले बनाएको पेन्टिङ

नेदरल्यान्डसको राजधानी सहर एमस्टर्डमा रहेको राष्ट्रिय संग्राहलय (रिजिक्स संग्राहलय)ले स्थायी रुपमा महिलाले बनाएका तीनवटा पेन्टिङ राखिएको छ । संग्रहालयको सबैभन्दा महँगो प्रदर्शनीस्थलमा १७औं शताब्दीमा महिला चित्रकारहरु जुडिथ लेइस्टर, गेसिना टेर बोर्च र राचेल रुवेसले बनाएका पेन्टिङ स्थायी रुपमा राखिएको हो ।

५) तारबिना मानिसको दिमाग र कम्प्युटरबीच जोडियो

मानिसको दिमागमा पहिलो पटक ट्रान्सिमिटर डिभाइजको प्रयोग गरेर कम्प्युटरसँग जोडियो । यसअघि अनुसन्धान गर्दा सेन्सरसँग तार जोडेर कम्प्युटरमा जोडिने गरेपछि ट्रान्समिटरको प्रयोग गरेर कम्प्युटरसँग कनेक्सना गराइयो । ब्रोन विश्वविद्यालयका वैज्ञानिकहरुले मेरुदण्डको नशामा भएको चोटपटकको अध्ययन गर्ने क्रममा पहिलो पटक एक प्यारालाइस भएका व्यक्तिको यो प्रयोग गरे । उनीहरुले प्रयोग गर्दा ती पारालाइसिस भएका व्यक्तिले दिमागमा सोचेको भरमा रोबोटिक लिम्ब्सहरु चलेको थियो । यो अनुसन्धानकै क्रममा भएकाले पूर्णता नपाएको वैज्ञानिकहरुले जनाएका छन् ।

६) नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा बनायो अक्सिजन

मंगल ग्रहमा रहको नासाको पर्सिभरेन्स रोभरले यो वर्ष त्यही अक्सिन उत्पादन गरेको छ । मंगल ग्रहको वायुमण्डलबाट पर्सिभरेन्सले मोक्सी उपकरणका मद्दतमा अक्सिन उत्पादन गरेको हो । मार्स अक्सिजन इनसिटू रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट (एमओएक्सआईई) प्रविधिले मंगल ग्रहमा रहेको कार्बन डाआइक्साइडबाट अक्सिजन उत्पादन गर्छ । यो अनुसन्धानकै क्रममा भएकाले भविष्यमा मंगल ग्रहमा हुने ह्युमन मिसनमा यसले सहयोग पुग्ने बताइएको छ ।

७) प्रयोगशालामा निर्मित हिराको व्यावसायिकरण

डेनमार्कको चर्चित ज्वेलरी कम्पनी पन्डोराले यो वर्ष खानीबाट उत्पादिन हिरा प्रयोग नगर्ने भन्दै कृत्रिम रुपमा उत्पादन सुरु गरेको छ । पान्डोरोले कृत्रिम रुपमा निर्माण गरेका ज्वेलरीहरु ब्रिटेनमा समेत बिक्री गरिएको थियो । सन् २०२२बाट यसले राम्रो व्यापार गर्ने बताइएको छ ।

८) मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसदमा निर्वाचित

यो वर्ष मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसद पदमा विजयी भएका छन् । मारिया क्लिमेन्ट गारसिया र साल्मा लिभाना मेक्सिकोको इतिहासमा सांसदमा निर्वाचित पहिलो तेस्रोलिंगीको रुपमा इतिहास रचे । त्यहाँको लोअर हाउसबाट सांसद निर्वाचित भएका हुन् । उनीहरु दुवै सत्तारुढ दलका सांसद पनि हुन् ।

९) तिब्बतमा पहिलो पटक बुलेट रेल

चीनको स्वशासित क्षेत्रमा तिब्बतमा पहिलो पटक विद्युतबाट चल्ने बुलेट रेल यो वर्षको जुनदेखि सञ्चालनमा आयो । ५ अर्ब ६० करोड डलरको यो परियोजना अन्तर्गत तिब्बतको राजधानी ल्हासादेखि न्याङ्चीसम्मको रेलमार्ग जोड्छ ।

२५० माइल लामो यो रेलमार्गमा ४७ टनेल र १२१ वटा पुलहरु छन् । समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेका यी रेलवे लाइनहरु चल्ने रेलहरुमा स्वचालित सिस्टम अन्तर्गत अक्सिजनको मात्रा कायम गरिएको छ ।

१०) नेशनल जिओग्राफीले पहिलो पटक नयाँ महासागर पत्ता लगायो

विश्व महासगर दिवसको अवसर पारेर यो वर्ष नेशनल जिओग्राफिक सोसाइटीले दक्षिण अन्र्टाकटिकलाई छिटो छिटो फेरो लगाउने छालहरु रहेको पत्ता लगायो । सन् १९१५ देखि संसारमा नक्सा प्रकाशन गर्दै आएको यो संस्थाको उक्त कुरालाई वैज्ञानिकहरुले महासगरको रुपमा मान्यता दिए ।

११) अन्तरिक्षमा पुग्ने पहिलो गैर अन्तरिक्षयात्री

अन्तरिक्षमा यसअघि वैज्ञानिक तथा अन्तरिक्षयात्रीहरु मात्रै जाने गर्थे । तर अब त्यो रहेन । यस वर्ष अर्बपति रिचार्ड ब्रान्सन आफ्नै कम्पनीद्वारा निर्मित यानबाट अन्तरिक्षको यात्रा गरे । उनको कम्पनी भजिर्न गालाक्टिकले निर्माण गरेको रकेटमार्फत उनी जुलाईमा अन्तरिक्ष पुगेका थिए । उनी अन्तरिक्ष पुगेको ९ दिनपछि एमाजोन तथा ब्लू ओरिजिनका मालिक जेफ बेजोस आफ्नै कम्पनीले निर्माण गरेको न्यू सेपहर्ड जहाजबाट अन्तरिक्षमा पुगे ।

१२) ब्ल्याक होल पछाडिबाट आएको प्रकाश

ब्ल्याक होलबाट प्रकाश पनि भाग्न सक्दैन । या भनौं कुनै चिज ब्ल्याक होलमा आए त्यो विलिन हुन्छ । यो वर्ष खगोलशास्त्रीहरु पहिलो पटक ब्ल्याक होलको पछाडिबाट प्रकाशहरु बंगिएर आएका थिए । यी प्रकाश पृथ्वीभन्दा ८ सय मिलियन प्रकाश वर्ष टाढा थिए । यसको विस्तृत अध्ययन सम्बन्धीको कुरा नेचर जर्नलमा प्रकासित छ । यो घटनाले पुन अल्बर्ट आइन्सिटाइनको सापेक्षताको सिद्धान्तलाई प्रमाणित गरिदिएको छ ।

१३) संसारको पहिलो थ्री–डी प्रिन्टबाट बनाइएको विद्यालय सञ्चालन

यो वर्ष संसारमा पहिलो पटक थ्री–डी प्रिन्टबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ । यो वर्षो जुलाइमा यो विद्यालय सञ्चालनमा आएको हो । अफ्रिकाको मलावाईमा स्थापना भएको यो विद्यालय १४ वटा रुखबाट निर्माण गरिएको हो । बेलायतको एक विकास संस्था र स्वीस कम्पनीको साझेदारीमा यो विद्यालय स्थापना गरिएको हो ।

१४) ग्रिनल्यान्डको उच्च स्थानमा वर्षा

वैज्ञानिकहरुले जलवायु परिर्तनको असरले पार्ने प्रभावबारे चेतावनी दिँदै आएका छन् । ग्रिनल्याान्डको ओरहण क्षेत्र नजिकै क्षेत्र समुद्री सतहदेखि करिब २ माइलमा वर्षा भयो ।

सन् १९८० देखि निगरानी गर्न थालिएयता पहिलो पटक ग्रिन ल्यान्ड क्षेत्रमा वर्षा भएको घटना रकेर्ड भएको हो । यो वर्षको अगस्टमा तापक्रम फ्रिज हुने लेभलभन्दा बढेपछि धेरै घण्टासम्म पानी परेको अमेरिकाको नेशनल स्नो एन्ड आइस डाटा सेन्टरले जनाएको छ ।

१५) एल साल्भोडर बिटक्वाइनलाई राष्ट्रिय मुद्रा बनाउने बन्यो पहिलो मुलुक

यो वर्षको सेप्टेम्बमार एल साल्भोडरले बिट क्वाइनलाई मान्यता दियो । विभिन्न आशंकका बाबजुत यो कानुन पास भएको थियो । अर्थ विज्ञहरुले बिट क्वाइनलाई मान्यता दिदा देशको अर्थ व्यवस्था असन्तुल हुन सक्ने चेतावनी दिएका छन् ।

१६) डाफर डान बने पहिलो पटक सीएफडीएको लाइफटाइम एचिम्भमेन्ट अवार्ड पाउने अस्वेत डिजाइनर

अमेरिकाको फेसन डिजाइनर काउन्सिलले सेप्टेम्बरमा अमेरिकी अस्वेत डिजाइनर डेनियल डे (डाफर डान)लाई सन् २०२१को लाइफ टाइम एचिम्भमेन्ट अवार्ड प्रदान गर्‍यो । हिप हपको क्षेत्रमा लक्जरी फेसन भित्र्याउने श्रेय उनलाई दिने गरिन्छ । उनले आफ्ना पसल हार्लेम मार्फत हिपहपमा महँगो फेसन भित्र्याएका थिए । फेसनमा ‘सोलो रनवे सो’ नगरी अवार्ड पाउने व्यक्ति पनि उनी परेका छन् ।

१७) चक्रवातभित्रको पहिलो ड्रोन फुटेज

सेप्टेम्बरमा आएको ‘चक्रवात साम’ आँधीभित्रको पहिलो ड्रोन फुटेज रर्केड भयो । क्याटागोरी–४को यो आँधि १२० माइल प्रतिघण्टाको रफ्तारमा अघि बढेको थियो । महासगरहरुमा ड्रोनमार्फत अनुसन्धान गर्ने सेलड्रोनका अनुसन्धानकर्ताले ड्रोनको यो फुटेजको मद्दतबाट आँधीहरु कसरी विकासित हुदै जाने भन्ने जानकारी हासिल हुने छ ।

१८) स्पेस–एक्सको अन्तरिक्ष पर्यटन

अमेरिकी कम्पनी स्पेस एक्सले पहिला पटक अन्तरिक्ष पर्यटनका लागि मानिसहरुलाई अन्तरिक्षमा लग्यो । इन्सिपिरेसन–४ मिसन नाम दिइएको यो मिसनमा ४ जना गैर अन्तरिक्षयात्रीहरुले ३ दिन पृथ्वीको कक्षमा ड्रागन क्याप्सुलमा सयर गरेका थिए ।

१९) अमेरिकाबाट पहिलो पटक फ्रान्सेली राजदूत फिर्ता बोलाइयो

अमेरिका र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध १७७८देखि रहिआएको छ । यी दुई साझेदार मुलुक हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक फ्रान्स अमेरिकासँग यो वर्ष रुष्ट हुँदै आफ्नो राजदूत फिर्ता बोलायो । बेलायत,अमेरिका र अस्ट्रेलियाबीच भएको ‘ओकास’ सम्झौताभएपछि रुष्ट बनेको फ्रान्सले आफ्नो राजदूत फिलिप एटियनलाई अमेरिकाबाट फिर्ता बोलाएको थियो । यो सम्झौता अनुसार अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने उल्लेख छ । उक्त सम्झौतापछि अस्ट्रोलियाले फ्रान्ससँगको ५० अर्ब अस्ट्रेलिलियन डलरबरबाबरको रक्षा सम्झौता रद्द गरेको थियो ।

२०) डिजेलबाट चल्ने सवारी भन्दा विद्युतीय सवारीको बिक्री

वर्षको सेप्टेम्बरमा युरोपमा डिजेलबाट चल्ने सवारीको संख्या भन्दा बढी विद्युतबाट चल्ने सवारी साधानको बिक्री पहिलो पटक नाघेको युरोपियन इलेक्ट्रिक कार रिर्पोटले जनाएको छ । विश्लेषकहरुले यसलाई मानिसहरु शून्य कार्बन उत्सर्जनतिर लाग्ने थालेको रुपमा अथ्र्याएका छन् ।

२१) पहिलो पटक फिलिपिनो नागरिकलाई नोबल शान्ति पुरस्कार

फिलिपिनो पत्रकार मारिया रेसा नोबल शान्ति पुरस्कार पाउने पहिलो फिलिपिनो नागरिक बनिन् । फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई २०१८मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासमा उनलाई नोबल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उनीसँगै रुसी पत्रकार डिमिट्री मुराटोभलाई संयुक्त रुपमा पुरस्कार दिइएको थियो ।

प्रकाशित : पुस १६, २०७८ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×