जो ठगको फन्दामा परेर जेल पुगे

जागिरको आसमा नागरिकताको फोटोकपी बुझाएर सहीछाप गरिदिएका उमाशंकर रायभरविरूद्ध राजस्व चुहावट गरेको भन्दै २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रूपैयाँ बिगो दाबीसहित मुद्दा 
तुफान न्यौपाने

काठमाडौँ — बाराको परवानीपुर गाउँपालिका– १ का उमाशंकर रायभर त्यति बेला १६ वर्षका थिए । गाउँकै उमाशंकर सहनीले काठमाडौंमा राम्रो काम र तलब दिने भनेर उनलाई लोभ्याए । सानो छँदै आमा गुमाएका उनलाई बाबुको ढल्कँदो उमेरसँगै परिवारको भरथेग गर्न मुस्किल पर्दै गएको थियो । त्यसैले उनी सहनीको साथ लागेर २०७० सालमा काठमाडौं आए । मोटरसाइकल ग्यारेजमा काम सिक्न थाले ।

उनै सहनीले एक दिन रायभरलाई सरोजकुमार मिश्रसँग भेट गराए । सर्लाहीको गोडैता– ८ स्थायी ठेगाना भई काठमाडौं कोटेश्वरमा बस्दै आएका मिश्रले नागरिकता ल्याएर आए कम्पनीमा राम्रो तलबसहित काम लगाइदिने प्रलोभन देखाए । भोलिपल्टै रायभरले नागरिकताको फोटोकपी ल्याएर दिए । मिश्र र सहनीले थप कागजात ल्याएर उनको सही छाप गराए । फोटो खिचे र ती कागजातमा टाँसे । ल्याप्चे लगाउन अह्राए । सरकारी स्कुलमा ५ कक्षासम्म पढेर छाडेका रायभरले त्यति बेला कुनै कागजात पढेनन् ।

रायभर राम्रो तलबसहितको जागिर पाइने आसमा बसिरहे तर सहनी र मिश्र त्यसपछि फर्किएर आएनन् । आफूलाई काठमाडौं ल्याउने र जागिरको प्रलोभन दिने दुवै व्यक्ति सम्पर्कविहीन भएपछि रायभरसँग काठमाडौंमा बसिरहने उपाय भएन । घर फर्किए । उनले काठमाडौं छँदै सिकेको मोटरसाइकल मर्मतको काम गर्न झापा पुगे । २०७६ सालमा बिहे गरे । छोरी जन्मेको दुई महिना मात्रै भएको थियो, २०७७ फागुन दोस्रो साता पाटन उच्च अदालतको एउटा पत्र उनको घरमा पुग्यो । पत्रमा लेखिएको थियो, ‘राजस्व अनुसन्धान विभागको विस्तृत अनुसन्धान प्रतिवेदनले वादी नेपाल सरकारविरुद्ध अभियुक्त/प्रतिवादी तपाईंसमेत भएको राजस्व चुहावट मुद्दामा तपाईंसमेतका उपर अभियोगपत्र दर्ता भएकाले यो म्याद तामेल भएको १५ दिनभित्र प्रमाण भए सो समेत लिएर तपाईं आफैं यस अदालतमा हाजिर हुन आउनुहोला । अन्यथा मुद्दा कानुनबमोजिम हुनेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’

उच्च अदालतको पत्र पाएपछि उमाशंकरलाई उनका दाइ सन्तोषले झापाबाट झिकाए । उमाशंकर ऋण खोजेर काठमाडौं आए । उच्च अदालत पाटन पुगेपछि थाहा भयो, राजस्व अनुसन्धान विभागले उनका नाममा काठमाडौंमा दर्ता भएका ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स प्रालिबाट जालसाजी तथा झूटा कर बिजक जारी गरेर नक्कली कारोबार देखाई राजस्व चुहावटमा प्रत्यक्ष संलग्न भएको भन्दै मुद्दा दर्ता गरेको रहेछ ।

१० जना मुख्य अभियुक्त र सात जना मतियारलाई विभागले झूटा, जालसाजी तथा नक्कली कर बीजक जारी गरेको र मूल्य अभिवृद्धि कर, आयकर र लाभांश करबापत एक अर्बभन्दा बढी छली गरेको अभियोग मुद्दा लगाएको थियो । त्यसमध्ये रायभरलाई ब्लु क्रस ट्रेडर्समार्फत १५ करोड ८७ लाख ७ हजार ९ सय १३ र जेन सप्लायर्समार्फत १२ करोड ३ लाख ४३ हजार ७ सय ३९ रुपैयाँ छलेको अभियोग लगाइएको छ । दुवै कम्पनीबाट गरी छलेको भनिएको २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ जरिवाना र मुद्दाको फैसला हुने समयसम्मको थप जरिवाना रकम उनीबाट असुल्नुपर्ने विभागको मागदाबी छ । साथै राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम पाँच वर्षसम्म कैद गर्न पनि माग गरेको छ ।

पत्रबारे बुझ्न झापाबाट बारा हुँदै काठमाडौं आएका रायभरलाई फागुन १९ मा उच्च अदालतलको आदेशले सीधै नख्खु कारागार पठाइएको छ । न्यायाधीशद्वय अच्युत विष्ट र दीपेन्द्रबहादुर बमको इजलासले उनीबाट ७५ लाख नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक जमानत लिई तारिखमा राख्नू भन्ने आदेश गरेको छ । आदेशमा भनिएको छ, ‘उक्त धरौटी दिन नसकेमा थुनुवा पुर्जी दिई कारागार कार्यालय पठाउनू ।’ बाटो खर्चसमेत ऋण गरेर आएका उमाशंकरले ७५ लाख रुपैयाँ धरौटी राख्न सक्ने कुरै थिएन । अदालतले प्रहरीको जिम्मा लगाएर नख्खु कारागार पठायो ।

उमाशंकरको परवानीपुर– १ मा ऐलानी जग्गामा फुसले छाएको सानो घर छ । परिवारका नाममा घरदेखि दुई किलोमिटर टाढा साढे चार कट्ठा खेत छ । त्यसले परिवार चलाउन कठिन पर्छ । ‘भाइको सानैदेखि बायाँ आँखामा समस्या छ । बाँच्नै धौधौ भएपछि बीचमै उसले पढाइ छाडेको हो । त्यत्रो रकम हिनामिना गर्न सक्ने भए परिवारको हालत यस्तो हुन्थ्यो र !’ उमाशंकरका दाइ सन्तोषले कान्तिपुरसँग भने, ‘कर ठगेको भए अदालतले बोलाउँदा खुरुखुरु हाजिर गर्न किन काठमाडौं जान्थ्यौं र ?’

राजस्व अनुसन्धान विभागले उच्च अदालतमा दर्ता गराएको ८७ पृष्ठ लामो अभियोग पत्र, उमाशंकरले अदालतमा दिएको बयान, अदालतको आदेश र उमाशंकरका दाइ सन्तोषसँगको कुराकानीबाट मिश्रले उमाशंकर जस्ता सिधासाधा युवाको कागजात दुरुपयोग गरेर ठूलो रकम कर छली गरेको प्रस्ट हुन्छ । मिश्रले प्रोकरस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं ६०३५३२३४८), आरकेएस इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२३२८९२), अनन्या इन्टरनेसनल (स्थायी लेखा नं. ६०५२१६४१५), इन्टरसिटी इन्टरनेसनल (स्थायी लेखा नं ६०५२१६४२८), ब्लु क्रस ट्रेडर्स (स्थायी लेखा नं. ६०४८५७६०८), जेन सप्लायर्स (स्थायी लेखा नं. ६०४२९६७७३), राज एन्ड किशोर इन्टरनेसनल (स्थायी लेखा नं. ६०३८२८६९६) र स्विफ्ट इन्टरनेसनल प्रालि (स्थायी लेखा नं. ६०४२९६७९९) नामक फर्म/प्रालिहरूको बैंक खाता सञ्चालक बनेर तथा एसकेएम एक्टिभ ट्रेडिङ प्रालि (स्थायी लेखा नं. ६०३५३०६४१) को सञ्चालक बनेर एक अर्ब रुपैयाँभन्दा बढी कर छलेको राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोग पत्रमा देखिन्छ । विभागले मिश्रले मूल्यअभिवृद्धि कर, आयकार र लाभांश कर ठगी गरेको भन्दै एक अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ बिगो कायम गरेर बिगो र त्यति नै जरिवाना रकम उनीबाट असुल्न माग गर्दै मुद्दा चलाएको हो ।

सर्लाहीको साविक गोडैता गाविस– ६ (हाल गोडैता नगरपालिका–८) का मिश्र यो समग्र ठगीका मुख्य ‘डिजाइनर’ हुन् । तर उनको त्यस्तो कर्मको सजाय उमाशंकरले भोग्दै छन् । मिश्र भने फरार छन् । मिश्रले आफ्नो नागरिकता, फोटो, दस्तखत र ल्याप्चे प्रयोग गरेर ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गराएको उमाशंकरले सुइँको समेत पाएका थिएनन् । सिटिजन्स् बैंकमा खाता खोलेर बैंकसम्बन्धी सम्पूर्ण कारोबारको अख्तियारी मिश्र आफैंले लिएका थिए । तर विभागले उमाशंकरविरुद्ध दुई कम्पनीका नामबाट झूटा तथा जालसाजी बिजक जारी गरेर नक्कली कारोबार देखाई राजस्व चुहावटमा प्रत्यक्ष संलग्न रहेको भन्दै मुद्दा चलायो । उमाशंकर पाटन उच्च अदालतको आदेश खारेज गर्न माग गर्दै सर्वोच्च अदालत जानका लागि वकिल पनि नपाएर नख्खु कारागारमा थुनिए ।

विभागले उच्च अदालतमा उमाशंकरजस्ता निर्दोषदेखि यो सम्पूर्ण प्रक्रियामा संलग्न मिश्र, उनका कम्पनीमा कार्यरत कर्मचारी र लेखा परीक्षकसम्म गरी १७ जनाविरुद्ध कर छलीको मुद्दा चलाएकामा अहिलेसम्म अदालतमा हाजिर हुन पुगेका रमेश घिमिरे, वीरेन्द्रकुमार चौधरी, गंगाप्रसाद भट्टराई र तोयानाथ अधिकारी ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । टंकबहादुर राउत २ लाख र दीपक निरौला १ लाख धरौटीमा छुटे । जयकिशोर साह भने अदालतले मागेको ७० लाख धराटीमा बैंक जमानत बुझाएर छुटेका छन् 

७५ लाख धरौटी बुझाउन नसकेर परमेश्वर साह उमाशंकरसँगै नख्खु कारागारमा छन् । उनले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । गत असोज १ मा सर्वोच्च अदालतका न्यायाधीशहरू टंकबहादुर मोक्तान र सुष्मालता माथेमाले धरौटी रकम ७५ लाखबाट १० लाखमा झारिदिएका छन् तर त्यतिसमेत नबुझाएका कारण उनी कारागारमै छन् ।

मिश्रसँगै उमाशंकर सहनी, हीरालाल जहरा, रामबाबु सहनी, राजकिशोर सहनी, रामसुन्दर रायभर, वीरेन्द्रकुमार चौधरी, सुरेन्द्रकुमार इङ्नाम र दीपककुमार कोइराला भने फरार छन् । राजस्व अनुसन्धान विभागले मुद्दा चलाएकामध्ये कति जनाको साँच्चिकै करछलीमा भूमिका थियो र कति जना उमाशंकर जस्तै फसाइएका हुन् भन्नेबारे स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

प्रकाशित : कार्तिक १३, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

मरियमको जोस

कोर्टमा खाली खुट्टा खेल्दै गर्दा उनलाई सजिलो पटक्कै थिएन
मधु शाही, रुपा गहतराज

बाँके — भलिबल कोर्टमा सबै साथीहरू जर्सी, जुत्ता लगाएर उत्रिइरहेका थिए । नरैनापुर गाउँपालिका–६ जमुनीकी मरियम मुकेरी भने लगाएको फित्तेवाल चप्पल फुकालेपछि खाली खुट्टामै देखिइन् । उनले जर्सी सेट त लगाइन् । घुँडा छोपिने गरी टाउजर पनि लगाएकी थिइन् । अनुहारमा थोरै डर र धेरै लाज बोकेर उनी कोर्टमा भलिबल खेल्न उत्रिइन् ।

मरियम १२ कक्षामा पढ्छिन् । तर उनलाई मैदानमा खेल्ने कुरा त परै जाओस्, खुलेर घुँडा देखाउने लुगा लगाउनमै लाज लाग्छ ।

उनी त्यो भेगमा बस्छिन्, जहाँ बुर्काबिना किशोरीहरू बाहिर निस्कँदैनन् । १६ वर्षीया उनलाई नेपालगन्ज आउन पनि सजिलो थिएन । मुस्लिम समुदायकी मरियम धेरै हिम्मत जुटाएर खेल्न आएकी हुन् । परिवारको मन बुझाएर समाजको कुरा काट्ने बानीको नजरअन्दाज गर्दै उनी मैदानसम्म आएको सुनाउँछिन् ।

जयकिसान माविमा पढ्ने उनी मुस्लिम समुदायबाट खेल्न हिम्मत जुटाउने एक्ली किशोरी हुन् । ९ खेलाडीको टिममा मरियमले मात्र त्यो समुदायको प्रतिनिधित्व गर्छिन् ।

शुक्रबारदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । मरियमले खेल्ने अवसर पाएको सम्भवतः यो पहिलो खेल थियो । रातो माटोको कोर्टमा खाली खुट्टा भलिबल खेल्दै गर्दा मरियमलाई सजिलो पटक्कै भएको थिएन । तर, दर्शक भने उनको खेलप्रतिको उत्साह देखेर चकित थिए । पालिकाले तीन दिनअघि मात्रै प्रतियोगितामा सहभागी हुने जानकारी दिएको थियो ।

उनले स्कुलमा आक्कलझुक्कल बलको मुख देख्न पाएकी थिइन् । त्यसकै आधारमा उनलाई भित्री मनदेखि भलिबल खेल्न रहर जाग्यो । स्कुलमा पनि उनीहरूलाई खेलप्रति खासै प्रोत्साहन गरिँदैन । मरियम सुनाउँछिन्, ‘खेल्दा जुत्ता लगाउनुपर्छ भन्नेसम्म थाहा थिएन, चप्पल थियो त्यही लगाएर आएँ ।’

यद्यपि पहिलो पटक नेपालगन्ज आएर खेल्न पाउँदामै उनी दंग थिइन् । जिल्ला खेलकुद विकास समिति बाँकेले ग्रामीणस्तरदेखि महिला खेलाडी उत्पादन गर्ने हेतुले पहिलो पटक भलिबल प्रतियोगिता गरेको हो । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ, राप्तीसोनारी, कोहलपुर, डुडुवा, जानकी र खजुरा गाउँपालिका गरी ८ पालिकास्तरीय प्रतिस्पर्धा गराइएको थियो । पहिलो दिन शुक्रबार महिला खेलाडीको आत्मविश्वास, सिकाइ र मिहिनेत मापन गर्न सकिन्थ्यो ।

सबैभन्दा बढी चासो डुडुवा र नरैनापुर गाउँपालिकाका खेलाडीको थियो । यी दुई गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बाहुल्य छ । त्यसमा महिला खेलाडीलाई खेलमैदानसम्म ल्याउनु नै आफैमा चुनौतीपूर्ण कार्य थियो । हिम्मत जुटाएर मैदानमा आएकी नरैनापुरकी लक्ष्मी पाण्डे भन्छिन्, ‘खेल्न मन लाग्छ, खेलाउने कोही छैनन् ।’ लक्ष्मीले भनेजस्तै प्रतियोगिताको पहिलो खेलमा उनीहरू भलिबलको सामान्य नियमसमेत नबुझेर धेरै पटक हैरानी बेहोरे । उनीहरू कोर्टमा बिगार्दै र सिक्दै खेलिरहेका थिए ।

लक्ष्मीले भने तयारी राम्रो नभए पनि खेल्न पाउँदा खुसी भएको सुनाइन् । प्रशिक्षक अनि गुरुहरूले अभिभावकलाई मनाएपछि उनी बल्ल खेल्नलाई नेपालगन्ज आउन पाएकी हुन् । उनीसँगै अभिभावक बनेर हजुरबुबा सँगै आइपुगेका छन् । एकातिर मुस्लिम समुदायमा छोरीलाई खेल्न पठाउने चलन नै छैन । अर्कोतिर गाउँपालिकाले पनि उनीहरूलाई कसरी खेलाडी बनाउने योजना नै ल्याउँदैन ।

स्थानीय युवा अरसद मिकरानीले भने, ‘स्थानीय सरकारले खेलकुदमा लगानी बढाएमा यो समुदायबाट पनि राम्रा खेलाडी उत्पादन गर्न असम्भव छैन ।’ नरैनापुरले बैजनाथसँग पराजित भए पनि राम्रो प्रदर्शन गरेको थियो । ‘दुई दिनको अभ्यासमा टिम तयार गर्न सफल भएका हौं यो हाम्रा लागि सिकाइ पनि हो,’ स्थानीय शिक्षक अरुण यादवले भने, ‘अर्कोपल्ट प्रशिक्षणमै राम्रो लगानी गरेर खेलाडी उत्पादन गर्छौं ।’

प्रतियोगिता संयोजक समितिका उपाध्यक्ष कृष्णा पाठकले विभिन्न सामाजिक संस्कार र संस्कृति बोकेको समाजमा महिला खेलाडी उत्पादन गर्न सजिलो नभएको अनुभव सुनाइन् । पालिकाले खेल प्रवर्द्धनमा रुचि देखाउन थालेपछि नरैनापुरजस्तो विकट पालिकाबाट खेलाडी खेल्न आउनु ठुलै उपलब्धि रहेको उनको दाबी थियो । ‘छोरी खेल्न पठाउने संस्कारको विकास हुन जरुरी छ,’ उनी भन्छिन्, ‘यो कार्यक्रमको उद्देश्य पनि यही हो ।’

जिखेविसकी उपाध्यक्ष पाठक आफै पनि भलिबलकी पूर्वखेलाडी हुन् । नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबलका लागि घरेलु टोलीको आवश्यकता खट्किरहेका बेला यस्तो प्रतियोगिताबाट त्यो आवश्यकता छिट्टै पूरा हुने उनले सुनाइन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले वडातहसम्म लुकेका प्रतिभाको खोजी गरेर बाँकेमा महिला भलिबल टिम तयार गरिने बताए । जिल्लास्तरीय टिम बनाउन क्यालेन्डर नै बनाएर प्रतियोगितालाई निरन्तरता दिने योजना सुनाए ।

विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना स्थानका लागि १० हजार राखिएको छ । पहिलो खेलमा कोहलपुरले राप्तीसोनारीलाई २–१ सेटमा हरायो । बैजनाथले नरैनापुरलाई २–०, खजुराले डुडुवालाई २–० र नेपालगन्जले जानकीलाई पनि २–० को सेटमा हराएका थिए । शनिबार ८ खेल हुनेछ ।

प्रकाशित : कार्तिक १३, २०७८ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×