कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा प्रतिष्ठाको लडाइँ

काठमाडौं, जनकपुर — मधेसमा जन्मिएका विमलेन्द्र निधिले २०३६ सालमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर राष्ट्रिय चर्चा बटुले । कांग्रेसको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री बनेर राष्ट्रिय राजनीतिमा स्थापित भए । अहिले उनका लागि गृह प्रदेशको पार्टी–निर्वाचन ठूलो प्रतिष्ठाको विषय बनेको छ । 

प्रदेश २ मा प्रतिष्ठाको लडाइँ

प्रदेश २ को बुधबार हुने निर्वाचनमा निधिले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई सभापतिमा उम्मेदवार बनाएका छन् । यादवलाई शेखर कोइराला समूहले पनि समर्थन गरेको छ । मधेस मामिलाबारे जानकार राजनीतिक विश्लेषक विजय मिश्र निधिका लागि आफ्नै प्रदेशको निर्वाचन ठूलो प्रतिष्ठा बनेको बताउँछन् । ‘हरेक राष्ट्रिय नेताका लागि आफ्नो प्रदेशमा प्रभाव कायम राख्नु प्रतिष्ठाको विषय बन्ने गर्छ,’ उनले भने ।

पार्टी महाधिवेशनमा प्रदेश २ बाट करिब ८ सय प्रतिनिधि सहभागी भएका थिए । निधिले भने देशभरबाट २ सय ५० मत मात्र ल्याए । त्यसैले प्रदेश २ मा उनले कोइराला समूहसँग मिलेर आफ्नो कमजोर धरातललाई बलियो बनाउन चाहेको मिश्रको भनाइ छ । निधिको चाहनासँग कोइराला समूहको पनि प्रतिष्ठा जोडिएको छ । निधि–कोइराला समूहले सफलता पाए लाभको बढी अंश कोइरालातिर हुने मिश्र बताउँछन् । ‘प्रदेश सभापतिका उम्मेदवार निधिनिकट भए पनि जितका लागि कोइरालाको योगदान बढी हुनेछ,’ उनले भने, ‘त्यसैले कोइराला समूहले निधिको गृह प्रदेशमा आफ्नो सहयोगबाट चुनाव जित्नुलाई प्रतिष्ठा ठानेको छ ।’

प्रदेश २ का कांग्रेस जिल्ला सभापतिमध्ये देउवा समूहका ६ र निधि समूहका २ जना छन् । जिल्ला नेतृत्वमा कोइराला समूह शून्य छ । यस्तो अवस्थामा निधिसँग समीकरण गरेर जित निकाल्ने प्रयास भइरहेको कोइराला समूहका युवा नेता भूपेन्द्रजंग शाहीले बताए । ‘चुनावमा कसको कति मत छ भन्नेले मात्र अर्थ राख्दैन, हामी संयुक्त रूपमा मिलेर चुनावी अभियानमा लागेका छौं,’ उनले भने ।

संस्थापन समूहले प्रदेश २ को निर्वाचनलाई झन् ठूलो प्रतिष्ठा ठानेको छ । करिब साढे २ दशकदेखि आफूसँग रहेका निधिले महाधिवेशन नजिकिँदै जाँदा साथ छाडेपछि सभापति देउवा उनीसँग रिसाएका छन् । देउवा निधिलाई उनको गृह प्रदेशमै कमजोर बनाएर बदला लिन चाहन्छन् । त्यसैले दोस्रो चरणको निर्वाचनमा निःसर्त समर्थन गरे पनि देउवाले प्रदेश २ मा निधिको चाहनालाई साथ दिएनन् । उनले गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणको नेतृत्वमा आफूपक्षीय उम्मेदवार कृष्ण यादवलाई जिताउने जिम्मा दिएर एक टोली जनकपुर पठाएका छन् ।

संस्थापन समूहका लागि प्रदेश २ मा नेतृत्व जितेर समग्र प्रदेशको राजनीतिमा आफ्नो अवस्था मजबुत गर्ने आकांक्षा पनि उत्तिकै छ । ६ वटा प्रदेशमध्ये वाग्मती, कर्णाली र सुदूरपश्चिममा मात्र संस्थापन समूहले सभापति जितेको छ । गण्डकी र लुम्बिनीमा कोइराला समूह र प्रदेश १ मा कृष्णप्रसाद सिटौला समूहले सभापति जितेका छन् । ‘केन्द्रीय महाधिवेशनमा समेत प्रदेश २ र मधेसी कोटामा सबै सिट जितेकाले संस्थापन समूहलाई जितको निरन्तरता कायम गर्नुपर्ने चुनौती छ,’ विश्लेषक मिश्रले भने, ‘संस्थापनलाई निधिले छाडेर गए पनि मधेसमा आफ्नो प्रभाव बलियो छ भन्ने देखाउनुपर्ने पनि छ ।’

प्रदेश २ को कांग्रेस राजनीतिमा निधिका साथै महेन्द्र यादव, चित्रलेखा यादव, रमेश रिजाल, आनन्दप्रसाद ढुंगाना, अमरेशकुमार सिंह, फरमुल्लाह मन्सुरजस्ता स्थापित नेताहरू छन् । रामसरोज यादव, कृष्ण यादव, दिनेश यादवलगायत उदीयमान नेता हुन् । सप्तरीमा बलियो प्रभाव भएका दिनेश महाधिवेशनको मुखमा मात्र देउवाको पक्षमा खुलेर केन्द्रीय सदस्य उम्मेदवार बनेका थिए । अमरेशकुमार सिंह भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । ‘मधेसको राजनीतिमा स्थायी रूपमा कहिल्यै कसैको पकड हुँदैन । हरेक निर्वाचनमा मधेसले कतिबेला के निर्णय गर्छ भन्ने थाहा हुँदैन,’ मधेस राजनीतिका विश्लेषक चन्द्रकिशोरले भने, ‘त्यसैले यस पटकको पनि कसको अवस्था के हुन्छ भन्न सकिँदैन ।’

संस्थापन समूहबाट कृष्ण यादवको नेतृत्वमा प्यानल बनेको छ । उपसभापतिमा प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र चन्द्रशेखर यादव, महामन्त्रीमा बृहस्पतिकृष्ण श्रेष्ठ र उपेन्द्र यादव, सहमहामन्त्रीमा जयनारायण यादव, पर्शुराम चौधरी र रीता यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निधि–कोइराला समूहबाट प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको नेतृत्वमा टिम बनेको छ । त्यही समूहबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनाल, महामन्त्रीमा हरेश महतो र नरेश यादव तथा सहमहामन्त्रीमा विनोद यादव र अरबिन्द अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन समूहबाट सभापतिमा उम्मेदवारी दिएपछि कृष्ण यादवले प्रदेश २ लाई कांग्रेसको माइती बनाउने बताए । उनले सबै जिल्लामा कांग्रेसको पकड बलियो बनाउने प्रतिबद्धता जनाए । त्यस्तै अर्का उम्मेदवार रामसरोज यादवले निर्वाचनमा कमजोर भएको कांग्रेसलाई जुझारु बनाउने बताए । कांग्रेसलाई बलियो बनाएर प्रदेशमा कांग्रेसको सरकार बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । मंगलबार राति ८ बजे मनोनयन सकिएको छ । निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ । प्रदेश २ अधिवेशनका लागि १ हजार ८ सय ३६ मतदाता रहेको निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए ।

प्रकाशित : पुस ७, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?