बुस्टर डोज सरकारले नि:शुल्क दिने- समाचार - कान्तिपुर समाचार

बुस्टर डोज सरकारले नि:शुल्क दिने

स्वरूप आचार्य, बुनु थारु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क दिन तयारी थालेको बताएका छन् । 

मन्त्री खतिवडाले बुधबार कान्तिपुरसँगको कुराकानीमा सबैलाई नि:शुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति दिई सकेकोले त्यसका लागि मन्त्रालयले तयारी थालिसकेको जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई नि:शुल्क लगाउन निर्णयमा सरकार पुगेको बताए ।

‘हामीले सुरुमा बुस्टर डोज सबैलाई आवश्यक नपर्ने हुँदा यसलाई ऐच्छिक मान्दै निजी क्षेत्रलाई आयात गर्न अनुमति दिएर शुल्क तिरेर लगाउन दिने कि भनेर छलफल गरिरहेका थियौं,’ उनले भने, ‘तर, फेरि कोरोनाको नयाँ भेरिएन्ट आएपछि भने विश्वका अन्य देशले पनि नि:शुल्क बुस्टर लगाउन सुरु गरेकोले नेपालमा पनि निशुल्क दिने समझदारी बनेको हो ।’

मन्त्री खतिवडाका अनुसार मन्त्रालयले कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर भने निर्णय नगरी सकेको र त्यसमा छलफल भइरहेको पनि बताए । ‘बुस्टर डोज लगाउनुपर्छ भन्नेमा अब विवाद रहेन तर कुन लगाउने भन्ने प्राविधिक विषय हो । त्यसमा छलफल हुँदै छ,’ उनले भने, ‘तर, बुस्टर डोज सबैभन्दा सुरुमा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मीलगायतलाई दिइन्छ । त्यसमा करिब ९ लाखजना जति पर्नुहुन्छ ।’

सरकारले यसअघि पनि अग्रपंक्तिमा रहेर कोरोनाविरुद्ध काम गर्नेहरुलाई नै भारतबाट अनुदानमा प्राप्त १० लाख डोज कोभिसिल्ड खोप लगाएको थियो । उनका अनुसार हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको हो ।

‘हामीले शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छौं । काठमाडौं उपत्यका, पोखरा, विराटनगर, चितवन जस्ता ठूला शहरमा बस्ने लगभग सबैले खोप लगाइसकेका छन्,’ उनले भने, ‘अब हाम्रो ध्यान ग्रामिण भेगमा बसोबास गर्नेहरुमा केन्द्रित छ । सँगै १२ देखि १८ वर्ष उमेर समूहकालाई पनि खोप दिनुपर्ने छ । त्यो समूहलाई दिने खोप पनि आइरहेको छ । अब त्योसँगै हामी बुस्टर लगाउन पनि सुरु गर्छौं ।’ उनले ग्रामिण भेगमा खोप लगाउनेको जनसंख्या केवल ३० प्रतिशतको हाराहारी मात्रै रहेकोले केही चिन्ता बढाएको बताए । उनले मान्त्रालयले सो जनसंख्यामा पनि खोपको पहुँच पुर्‍याउने गरी योजना बनाइरहेको दाबी गरे ।

गत माघ १४ गते नेपालमा खोप अभिायन सुरु भएकोमा २८ दिनपछि दोस्रो मात्रा लगाएका नागरिकहरुले खोप लगाएको १० महिना नाघिसकेको छ । विज्ञहरुले खोप लगाएको ६ महिनापछि प्रभावकारिता कम हुँदै जाने र बुस्टर डोज लगाउँदा प्रभावकारी हुने बताइरहेका छन् । मन्त्री खतिवडाले सबै लक्षित समूहमा खोपको पहुँच बढाउन १६ हजार खोप केन्द्रबाट खोप दिन लागिएको बताएका छन् ।

सरकारले खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड ९५ लाख ६८ हजार ३२९ मात्र खोप लगाइसकाइएको छ मन्त्रालयको तथ्यांकले देखाउँछ । हालसम्म कुल जनसंख्याको ३५.२ प्रतिशतले एकमात्रा खोप र २९.२ प्रतिशतले दुई डोज खोप लगाएका छन् ।

नयाँ भेरिएन्टविरुद्ध उच्च सतर्कता

मन्त्री खतिवडाले कान्तिपुरसँगको कुराकानीका क्रममा विश्वलाई अहिले त्रसित बनाइरहेको कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको नियन्त्रण तथा रोकथामका लागि सरकारले सबै संयन्त्रलाई उच्च सतर्कतामा राखिएको दाबी गरेका छन् । ‘खास गरी भारतमा देखिएपछि हामीले सबै औपचारिक नाकामा निगरानी बढाएका छौं । भारतबाट केवल औपचारिक नाकाबाट मात्रै आवतजावत हुँदैन । त्यो सत्य हो । त्यसैले सम्पूर्ण रुपमा नियन्त्रित छ भनेर म भन्दिन । तर, हामीले निगरानीमा राखेका छौं,’ उनले भने, ‘पहिलो वा दोस्रो लहरमा हामी सबै आत्तिएका थियौं । अहिले हामीसँग अनुभव छ र स्रोत–साधन पनि छ । त्यसैले पहिलो जस्तो भद्रगोल हुन दिँदैनौं ।’

मन्त्री खतिवडाका अनुसार नेपाली सेनालाई सरकारले सातवटै प्रदेशमा हजारजना अट्ने आइसोलेसन सेन्टर बनाउने जिम्मा दिएकोमा केही प्रदेशमा त्यो बनेर तयार पनि भइसकेको छ । ‘ओमिक्रोन सुरुमा पत्ता लाग्दा धेरै त्रास थियो । अहिले त्यसमा पनि केही कमि आएको छ । धेरै फैलिएपनि गम्भिर रोग भने लगाउँदैन भन्ने जस्तो देखिएको छ । तर त्यो भनेर हामी हात बानेर बसेका छैनौं । तयारी भइरहेका छन्,’ उनले भने, ‘हामी यो भेरिएन्ट मात्रै होइन अरु भेरिएन्ट आएमा पनि के गर्ने भनेर पूर्वतयारी अवस्थामा छौं ।’

मन्त्री खतिवडाले दोस्रो लहरको अनुभवबाट पाठ सिकेर अहिले धेरै सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटरको व्यवस्था गरिएको बताउँदै उनले भने, ‘धेरै अस्पतालहरुमा अक्सिजन प्लान्ट बनिसकेका छन् । जिल्लामा रहेका ठूला अस्पतालहरु आफैं अक्सिजन उत्पादन गर्ने भइसके ।’

‘सरुवामा अनावश्यक विवाद’

मन्त्री खतिवडाले टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवाको सम्बन्धमा मिडियाले अनावश्यक महत्व दिएको आरोप लगाए । उनले मन्त्रालयले डा. अनुप बास्तोलाको नियमित प्रक्रिया अनुसार नै सरुवा गरेको दाबी समेत गरे ।

‘सरकारी जागिर खाएपछि सरुवा नियमित प्रक्रिया हो । अरु ठाउँमा पनि सरुवा भए । तर कसैको चासो भएन,’ उनले भने, ‘सरकारी कर्मचारी भइसकेपछि उसलाई विभिन्न जिम्मेवारी दिइन्छ । उहाँ टेकु अस्पतालमा नै मात्र बसेको १३ वर्ष भएछ । फेरि राम्रो काम गर्ने मान्छेलाई सधैं एकै स्थानमा मात्रै राख्न पनि त भएन । उहाँले अन्त पनि त राम्रो काम गर्न सक्नुहुन्छ । अहिले उहाँको स्थानमा गएको व्यक्तिले कामै गर्न सकेन भने अनि सेवाग्राहीले नै पनि त भन्लान् नि ।’

उनले हरेक सरकारले आफ्नो कार्यकालमा काम गर्न सजिलो हुने गरी कर्मचारहिरुबाट सहयोग लिने बताए । ‘अघिल्लो सरकारले आफ्नो सरकारको सुविधा अनुसार सरुवा गर्‍यो । यो सरकारले पनि आफ्नो सुविधा अनुसार काम गर्छ,’ उनले भने, ‘पोलिटिकल नियुक्ति भनेको राजनितिक सहयोगका लागि हो । यही परम्परा चलिराखेको छ ।’

तस्बिर : जयसिंह महरा

प्रकाशित : मंसिर २३, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

अस्पतालहरूमा संक्रमित अटाउनै मुस्किल

एकै दिन हजारभन्दा बढी कोरोना संक्रमित थपिए, उपत्यकाका आइसोलेसन भरिए, गम्भीर संक्रमितका लागि आईसीयू बेड पाउनै गाह्रो
स्वरूप आचार्य, बुनु थारु

काठमाडौँ — लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरूलाई चाप थेग्न मुस्किल परेको छ । उपत्यकाका अस्पतालका व्यवस्थापक तथा चिकित्सकहरूका अनुसार हाल उपलब्ध सबै आइसोलेसन शय्या तथा केही हदसम्म आईसीयू पनि संक्रमितहरूले भरिएका छन् ।

नयाँ थपिने संक्रमितहरूमा कुनै जटिल समस्या देखिए व्यवस्थापन गर्न असम्भव बन्दै गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) स्रोतका अनुसार उपत्यकामा गत साता लक्षणसहितका संक्रमितहरूको संख्या करिब ३० प्रतिशत हाराहारी थियो भने यो साता ४० प्रतिशत हाराहारी पुगेको छ । मुलुकभरमा मंगलबार मात्रै १ हजार १६ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा २ सय ५ जना नयाँ संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा संक्रमित राख्न करिब ६ सय आइसोलेसन शय्या मात्रै उपलब्ध छ । कोभिड–१९ का बिरामीहरूको उपचारका लागि भेन्टिलेटरको सुविधासहितका शय्याको संख्या करिब सय हाराहारी छ । सरकारले देशभरमा उपलब्ध कुल आईसीयू शय्याको संख्या ९ सय ४६ र भेन्टिलेटरको संख्या ४ सय ९६ उल्लेख गरे पनि ती सबै कोभिड–१९ का बिरामीका लागि उपलब्ध हुन सक्दैनन् ।

उपत्यकामा बाहिरबाट पनि संक्रमित उपचारका लागि आउने गरेका छन् । ठूलो संख्यामा कोभिड–१९ का बिरामी उपचार गरिरहेको उपत्यकाको एक सरकारी अस्पतालका चिकित्सकका अनुसार अब भेन्टिलेटर आवश्यक पर्ने बिरामीको व्यवस्थापन गर्न सकिने अवस्था छैन ।

‘कहीँ पनि भेन्टिलेटर खाली छैन रे । हाम्रो अस्पतालमा पनि आईसीयूमा भएका जति सबैलाई भेन्टिलेटर चाहिएको छ,’ उनले भने, ‘केही बिरामी यही बीचमा निको भए भने ठीकै छ । नत्र त अब के भनौं !’

काठमाडौं उपत्यकामा सुरुमा कोरोना संक्रमितको उपचार गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना संक्रमित भरिँदै गएको छ । ‘अरू बिरामीका लागि जस्तो यसमा बेड बढाउन गाह्रो छ । जहाँ पायो त्यही राख्न मिल्दैन । हामीले एउटै रुममा दूरी कायम गरेर बिरामी राख्ने कि भनेर पनि कोसिस गरेका हौं तर आइसोलेसनका बिरामीहरूले नै विरोध गरे,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने, ‘त्यसैले हामीले स्ट्यान्डर्ड मेन्टेन गरेर जति सकिन्छ त्यति गरेका हौं । बिरामी व्यवस्थापन गर्न गाह्रो छ । दिनमा कम्तीमा ५–६ जना डिस्चार्ज हुन्छन् तुरुन्त अरू भर्ना भइहाल्छन् ।’

सय शय्या क्षमता भएको टेकु अस्पतालमा हाल संक्रमितको उपचारका लागि ३० वटा आइसोलेसन शय्या र २० वटा आईसीयू शय्या छन् ।

‘अहिले त हामीले लक्षण भएकाहरूलाई मात्र लिने गरेका छौं,’ डा. भण्डारीले भने, ‘हामी बेडको क्षमता बढाउन सक्दैनौं । हाम्रो क्षमता, स्रोत, जनशक्ति यति नै हो । यस्ता बिरामी उपचार गर्न निगेटिभ प्रेसर रुम चाहिन्छ जुन अरू अस्पतालमा पनि छैन । त्यसैले पनि स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुने गरेका छन् । सरकारले यहाँको जस्तो अस्पताल अरूतिर पनि बनाउनुपर्‍यो ।’

६ सय शय्याको त्रिवि शिक्षण अस्पतालले पनि गणेशमान भवनमा कोरोना संक्रमितको उपचार गरिरहेको छ । केही समययता स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएकाले यस अस्पताललाई बेड मिलाउन हम्मे परेको छ । अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार हाल ६० जना कोरोना संक्रमित उपचाररत छन् । ‘हाललाई कोरोना उपचारका लागि ४५ बेड क्षमता छ । हाम्रै स्टाफ पनि संक्रमित भइरहेका छन् । बेड सब प्याक छन्,’ उनले भने । उनले समान्य शय्या थप्दै लगिरेहको जानकारी दिँदै बिरामी व्यवस्थापन गर्न गाह्रो भएको बताए । ‘नन–कोभिड बिरामी पनि धेरै छन् । गणेशमान भवनमा जति क्षमता छ, त्यति मिलाउने हो । अरूतिर बिरामी राख्यो भने सर्ने सम्भावना बढी हुन्छ,’ उनले भने ।

सरकारी अस्पतालहरूमध्ये उपत्यकामा सबैभन्दा बढी संक्रमित उपचार गरेको पाटन अस्पतालमा पनि शय्या अपुग हुन थालेको छ । पाटनका निर्देशक डा. रवि शाक्यका अनुसार हाल अस्पतालमा ८९ जना संक्रमित आइसोलेसन वार्डमा भर्ना छन् भने २१ शय्या क्षमताको आईसीयूको पनि १० शय्यामा गम्भीर प्रकृतिका बिरामी भर्ना छन् । ‘बेड उपलब्ध गराउनै गाह्रो छ । त्यसमाथि स्वास्थ्यकर्मीहरूको व्यवस्थापन अर्को समस्याका रूपमा देखिएको छ,’ डा. शाक्यले भने, ‘अहिले बिरामी केही कम भएका विभागबाट स्वास्थ्यकर्मी तथा चिकित्सक तानेर कोभिड उपचारमा खटाइरहेका छौं ।’

कोभिड–१९ का बिरामीको उपचार सुरु गर्ने पहिलो निजी अस्पताल ह्याम्सका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार संक्रमितको उपचारका लागि भनेर छुट्याइएका सबै आइसोलेसन र आईसीयू शय्या भरिएका छन् । ह्याम्समा ३८ जना संक्रमितको उपचार भइरहेको छ जसमध्ये ११ जना आईसीयूमा छन् । ‘पहिला एउटा कोठामा एउटा मात्र बेड राखेका थियौं । पछि आइसोलेसन बेड नपुगेर एउटा कोठामा दुइटा बनाएका छौं । यस्तै पोस्ट अपको जेनेरल बेडलाई पनि ओइसोलेसनमा परिवर्तन गरेका छौं,’ डा. शर्माले भने, ‘अहिले बेड उपलब्ध गराउनै गाह्रो छ । इमर्जेन्सी आउने बिरामबाट र फोनमा पनि आइसोलेसन बेड छ कि छैन भन्ने प्रश्न धेरै आउँछन् ।’

७ सय ५० बेड क्षमता रहेको मेडिसिटी अस्पतालमा हाल ३ सय बेड सञ्चालनमा छन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले संक्रमित बढे पनि उपचार गरिहाल्न गाह्रो हुने बताए । ‘कोरोनाका केस आए पनि कसरी उपचार गर्ने भन्नेमा निर्णय गरिहालेका छैनौं । अरू बिरामीलाई कहाँ राख्ने भन्ने समस्या भएको छ,’ उनले भने ।

महाप्रबन्धक रिमालका अनुसार अस्पतालमा सेन्ट्रल एसी सिस्टम छ । एयर सर्कुलेसन मिलाउन सकिएन भने अरूलाई पनि कोरोनाको जोखिम हुन्छ । उनका अनुसार मेडिसिटी अस्पतालमा आइसोलेसनमा रहेका शंकास्पद बिरामीलाई पोजिटिभ देखिएर अन्त जान नमाने मात्रै उपचार गर्ने गरिन्छ । ‘हाम्रो आइसोलेसन बेड संख्या ३३ हो । १० वटा सञ्चालनमा छन् । बेड मात्र राखेर हुँदैन, संक्रमितलाई अप्रेसनलगायत अरू पनि उपचार गर्नुपर्ने हुन सक्छ । आईसीयू पनि चाहिन्छ होला’, उनले भने ।

धापासीस्थित ग्रान्डी अस्पतालले भने आफ्नो क्षमताले भ्याएसम्म कोरोना संक्रमितको उपचार गर्ने जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले १० शय्याको आईसीयूसहित ४० शय्याको आइसोलेसन शय्या तयार गरिएको जानकारी दिए । ‘यस्तो बेला देशलाई सहयोग गर्ने हो । उपचारमा प्रयोग हुने औषधि पनि महँगो छ,’ उनले भने ।

सरकारको गफ धेरै, काम कम

एक सरकारी अस्पतालको आईसीयूमा कार्यरत चिकित्सकका अनुसार अहिले अस्पतालहरूको अवस्था भयावह भइसकेको छ । ‘बाहिरी जिल्लामा उपचार नपाएर काठमाडौं आएका पनि धेरै छन् । यहाँ पनि लक्षण भएका संक्रमित धेरै देखिन थालेपछि समस्या भएको हो,’ उनले भने, ‘सरकारले नै हस्तक्षेप गरेर आईसीयू र भेन्टिलेटरयुक्त सुविधा नथप्ने हो भने धेरै जनाको ज्यान जाने निश्चित छ । हामीले च ाहेर पनि उपचार गर्न सक्ने अवस्था छैन ।’

ती चिकित्सकका अनुसार सरकारले अहिले हरेक दिन आईसीयू शय्या र भेन्टिलेटरको सुविधा भनेर सार्वजनिक गरेको तथ्यांक नै गलत छ । ‘उदाहरणको लागि शिक्षण अस्पतालमा कुल ५० आईसीयू बेड छ त्यसमध्ये २० बेड लेभल ३, २० बेड लेभल २ र १० बेड लेभल १ का छन् । कोभिड–१९को उपचारका लागि १० बेड मात्रै छुट्याइएका छन् । तर, मन्त्रालयले शिक्षण अस्पतालमा ५१ वटा आईसीयू बेड भनेर गणना गरेको छ,’ उनले भने, ‘सबै अस्पतालले आफ्नो आईसीयू बेड र भेन्टिलेटर कोभिड–१९ को उपचारका लागि दिए अरू बिरामी कहाँ जाने ?’

प्रकाशित : भाद्र ३, २०७७ ०६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×