कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुस्टर डोज सरकारले नि:शुल्क दिने

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क दिन तयारी थालेको बताएका छन् । 

बुस्टर डोज सरकारले नि:शुल्क दिने

मन्त्री खतिवडाले बुधबार कान्तिपुरसँगको कुराकानीमा सबैलाई नि:शुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति दिई सकेकोले त्यसका लागि मन्त्रालयले तयारी थालिसकेको जानकारी दिए । उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लागेसँगै संक्रमणको नियन्त्रण तथा रोकथामका लागि बुस्टर डोज महत्त्वपूर्ण हुने देखिएपछि सबैलाई नि:शुल्क लगाउन निर्णयमा सरकार पुगेको बताए ।

‘हामीले सुरुमा बुस्टर डोज सबैलाई आवश्यक नपर्ने हुँदा यसलाई ऐच्छिक मान्दै निजी क्षेत्रलाई आयात गर्न अनुमति दिएर शुल्क तिरेर लगाउन दिने कि भनेर छलफल गरिरहेका थियौं,’ उनले भने, ‘तर, फेरि कोरोनाको नयाँ भेरिएन्ट आएपछि भने विश्वका अन्य देशले पनि नि:शुल्क बुस्टर लगाउन सुरु गरेकोले नेपालमा पनि निशुल्क दिने समझदारी बनेको हो ।’

मन्त्री खतिवडाका अनुसार मन्त्रालयले कुन खोपलाई बुस्टर डोजका रुपमा लगाउने भनेर भने निर्णय नगरी सकेको र त्यसमा छलफल भइरहेको पनि बताए । ‘बुस्टर डोज लगाउनुपर्छ भन्नेमा अब विवाद रहेन तर कुन लगाउने भन्ने प्राविधिक विषय हो । त्यसमा छलफल हुँदै छ,’ उनले भने, ‘तर, बुस्टर डोज सबैभन्दा सुरुमा कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मीलगायतलाई दिइन्छ । त्यसमा करिब ९ लाखजना जति पर्नुहुन्छ ।’

सरकारले यसअघि पनि अग्रपंक्तिमा रहेर कोरोनाविरुद्ध काम गर्नेहरुलाई नै भारतबाट अनुदानमा प्राप्त १० लाख डोज कोभिसिल्ड खोप लगाएको थियो । उनका अनुसार हाल पहिलो र दोस्रो डोजको खोप लगाउने कार्य अगाडि बढिरहेको र सँगै १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई पनि खोप लगाउनुपर्ने भएकाले तत्काल बुस्टर डोज लगाउन सुरु गर्न केही ढिलाई भएको हो ।

‘हामीले शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको छौं । काठमाडौं उपत्यका, पोखरा, विराटनगर, चितवन जस्ता ठूला शहरमा बस्ने लगभग सबैले खोप लगाइसकेका छन्,’ उनले भने, ‘अब हाम्रो ध्यान ग्रामिण भेगमा बसोबास गर्नेहरुमा केन्द्रित छ । सँगै १२ देखि १८ वर्ष उमेर समूहकालाई पनि खोप दिनुपर्ने छ । त्यो समूहलाई दिने खोप पनि आइरहेको छ । अब त्योसँगै हामी बुस्टर लगाउन पनि सुरु गर्छौं ।’ उनले ग्रामिण भेगमा खोप लगाउनेको जनसंख्या केवल ३० प्रतिशतको हाराहारी मात्रै रहेकोले केही चिन्ता बढाएको बताए । उनले मान्त्रालयले सो जनसंख्यामा पनि खोपको पहुँच पुर्‍याउने गरी योजना बनाइरहेको दाबी गरे ।

गत माघ १४ गते नेपालमा खोप अभिायन सुरु भएकोमा २८ दिनपछि दोस्रो मात्रा लगाएका नागरिकहरुले खोप लगाएको १० महिना नाघिसकेको छ । विज्ञहरुले खोप लगाएको ६ महिनापछि प्रभावकारिता कम हुँदै जाने र बुस्टर डोज लगाउँदा प्रभावकारी हुने बताइरहेका छन् । मन्त्री खतिवडाले सबै लक्षित समूहमा खोपको पहुँच बढाउन १६ हजार खोप केन्द्रबाट खोप दिन लागिएको बताएका छन् ।

सरकारले खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड ९५ लाख ६८ हजार ३२९ मात्र खोप लगाइसकाइएको छ मन्त्रालयको तथ्यांकले देखाउँछ । हालसम्म कुल जनसंख्याको ३५.२ प्रतिशतले एकमात्रा खोप र २९.२ प्रतिशतले दुई डोज खोप लगाएका छन् ।

नयाँ भेरिएन्टविरुद्ध उच्च सतर्कता

मन्त्री खतिवडाले कान्तिपुरसँगको कुराकानीका क्रममा विश्वलाई अहिले त्रसित बनाइरहेको कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको नियन्त्रण तथा रोकथामका लागि सरकारले सबै संयन्त्रलाई उच्च सतर्कतामा राखिएको दाबी गरेका छन् । ‘खास गरी भारतमा देखिएपछि हामीले सबै औपचारिक नाकामा निगरानी बढाएका छौं । भारतबाट केवल औपचारिक नाकाबाट मात्रै आवतजावत हुँदैन । त्यो सत्य हो । त्यसैले सम्पूर्ण रुपमा नियन्त्रित छ भनेर म भन्दिन । तर, हामीले निगरानीमा राखेका छौं,’ उनले भने, ‘पहिलो वा दोस्रो लहरमा हामी सबै आत्तिएका थियौं । अहिले हामीसँग अनुभव छ र स्रोत–साधन पनि छ । त्यसैले पहिलो जस्तो भद्रगोल हुन दिँदैनौं ।’

मन्त्री खतिवडाका अनुसार नेपाली सेनालाई सरकारले सातवटै प्रदेशमा हजारजना अट्ने आइसोलेसन सेन्टर बनाउने जिम्मा दिएकोमा केही प्रदेशमा त्यो बनेर तयार पनि भइसकेको छ । ‘ओमिक्रोन सुरुमा पत्ता लाग्दा धेरै त्रास थियो । अहिले त्यसमा पनि केही कमि आएको छ । धेरै फैलिएपनि गम्भिर रोग भने लगाउँदैन भन्ने जस्तो देखिएको छ । तर त्यो भनेर हामी हात बानेर बसेका छैनौं । तयारी भइरहेका छन्,’ उनले भने, ‘हामी यो भेरिएन्ट मात्रै होइन अरु भेरिएन्ट आएमा पनि के गर्ने भनेर पूर्वतयारी अवस्थामा छौं ।’

मन्त्री खतिवडाले दोस्रो लहरको अनुभवबाट पाठ सिकेर अहिले धेरै सरकारी अस्पतालमा आईसीयू र भेन्टिलेटरको व्यवस्था गरिएको बताउँदै उनले भने, ‘धेरै अस्पतालहरुमा अक्सिजन प्लान्ट बनिसकेका छन् । जिल्लामा रहेका ठूला अस्पतालहरु आफैं अक्सिजन उत्पादन गर्ने भइसके ।’

‘सरुवामा अनावश्यक विवाद’

मन्त्री खतिवडाले टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवाको सम्बन्धमा मिडियाले अनावश्यक महत्व दिएको आरोप लगाए । उनले मन्त्रालयले डा. अनुप बास्तोलाको नियमित प्रक्रिया अनुसार नै सरुवा गरेको दाबी समेत गरे ।

‘सरकारी जागिर खाएपछि सरुवा नियमित प्रक्रिया हो । अरु ठाउँमा पनि सरुवा भए । तर कसैको चासो भएन,’ उनले भने, ‘सरकारी कर्मचारी भइसकेपछि उसलाई विभिन्न जिम्मेवारी दिइन्छ । उहाँ टेकु अस्पतालमा नै मात्र बसेको १३ वर्ष भएछ । फेरि राम्रो काम गर्ने मान्छेलाई सधैं एकै स्थानमा मात्रै राख्न पनि त भएन । उहाँले अन्त पनि त राम्रो काम गर्न सक्नुहुन्छ । अहिले उहाँको स्थानमा गएको व्यक्तिले कामै गर्न सकेन भने अनि सेवाग्राहीले नै पनि त भन्लान् नि ।’

उनले हरेक सरकारले आफ्नो कार्यकालमा काम गर्न सजिलो हुने गरी कर्मचारहिरुबाट सहयोग लिने बताए । ‘अघिल्लो सरकारले आफ्नो सरकारको सुविधा अनुसार सरुवा गर्‍यो । यो सरकारले पनि आफ्नो सुविधा अनुसार काम गर्छ,’ उनले भने, ‘पोलिटिकल नियुक्ति भनेको राजनितिक सहयोगका लागि हो । यही परम्परा चलिराखेको छ ।’

तस्बिर : जयसिंह महरा

प्रकाशित : मंसिर २३, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?