कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मत थुनेर महाधिवेशन

नयाँ केन्द्रीय कमिटीमा अध्यक्षका आकांक्षी केपी शर्मा ओली स्वयम्ले मध्यरातमा आफूसहित ३०१ जनाको नाम घोषणा गरे, जिल्ला–जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिले ताली पिटेर अनुमोदन गरे
बबिता शर्मा, मणि दाहाल

चितवन — शुक्रबार नारायणी तीरमा भव्य समारोहबीच उद्घाटन भएको महाधिवेशनको बन्दसत्र कार्यतालिकाअनुसार शनिबार र आइतबार दिनभर अघि बढ्न सकेन । आइतबार दिनभर महाधिवेशन प्रतिनिधि बन्दसत्रमा व्यग्र प्रतीक्षामा थिए भने अध्यक्ष ओली भने आफ्नो ‘कोर टिम’ सँग होटलमा बसेर नामावली बनाइरहेका थिए ।

मत थुनेर महाधिवेशन

को–को के–के पदमा बस्ने भन्ने टुंगो लगाएर मात्र ओली बन्दसत्रमा प्रवेश गरेका थिए । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १० बजे मात्र सुरु भएको थियो । निर्धारित समयभन्दा १२ घण्टा ढिलो आएका अध्यक्ष ओलीले करिब दुई घण्टा अध्यक्षमण्डलका नेताहरूसँग छलफल गरेका थिए । उनले निर्वाचनमा जाँदा प्रतिस्पर्धा हुने र त्यसले पार्टीभित्र वैमनस्यता हुने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका थिए ।

ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डलको बैठक बसिरहेका बेला विजय सुब्बा नेतृत्वको निर्वाचन आयोगले राति नै कार्यतालिका सार्वजनिक गरेको थियो । राति ११ बजेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक भने ११:३० मा गरिएको थियो । मतदाता नामावलीमा दाबी विरोध गर्न १५ मिनेट, छानबिन गर्न ५ मिनेट र अन्तिम नामावली प्रकाशन गर्न ५ मिनेट मात्रै छुट्याइएको थियो । त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिन १५ मिनेट र छानबिन गर्न १० मिनेट मात्र छुट्याइएको थियो ।

त्योबीचमा पनि आकांक्षीहरूले आयोगबाट फारम लिएर भरिरहेका थिए । फारम भर्ने म्याद १२.३० सम्म थियो । तर, त्यो समय नसकिँदै आयोगले निर्वाचनका सबै प्रक्रिया स्थगन गर्‍यो । योबीचमा अन्य उम्मेदवारसहित अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले मनोनयनपत्र भरिसकेका थिए । तर निर्वाचन कार्यक्रम बिहान ८ बजे मात्र सुरु हुने भनिएपछि उनीहरूले फारम बुझाउन पाएनन् । आयोग अध्यक्ष सुब्बाले रातिको समयमा उम्मेदवारी दर्तालगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताए । ‘यो काम राति नगरौं भन्ने भयो । अहिले निर्वाचनका सबै प्रक्रिया स्थगित गरिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुन्छ,’ सुब्बाले कान्तिपुरसँग भने ।

निर्वाचन कार्यक्रम स्थगित भएसँगै उम्मेदवार र प्रतिनिधिहरू अलमल परेका थिए । एकाएक ओली बन्दसत्रमा आएर प्रस्तावित केन्द्रीय कमिटीका सदस्यहरूको नामावली पढ्न थाले । करिब १७ मिनेटमा ३ सय जनाको नाम पढेपछि उनले अन्त्यमा आफ्नो नाम पढौं कि नपढौं बनेर सोधे । सबैले तालीले स्वागत गरेपछि उनले आफ्नोसमेत घोषणा गरे । त्यसपछि बन्दसत्र केही समयका लागि स्थगित भयो । १९ सदस्यीय केन्द्रीय पदाधिकारीको नाम घोषणा गर्न बाँकी नै थियो । दिनभर पनि नेताहरूबीच समझदारी हुन नसकेकाले अन्तिम छलफलका लागि ओली अध्यक्षमण्डलका सदस्यहरूसँग बसे ।

ओलीनिकट नेताहरूले छिनछिनमा भनिरहेका थिए– अब १५ मिनेटमा पदाधिकारीको पनि नामावली प्रस्ताव हुन्छ । तर, राति २:३५ सम्म पनि ओली अध्यक्षमण्डलसँग छलफलमा थिए । रावल र भुसालले भने सर्वसम्मतिका नाममा व्यक्तिले कमिटी घोषणा गर्न नपाइने भन्दै निर्वाचन प्रक्रिया सुरु गर्न माग गरिरहेका थिए । निर्वाचन प्रक्रियाबिना नाम घोषणा गरेर केन्द्रीय कमिटी बनाए । महाधिवेशनको वैधानिकतालाई चुनौती दिन आफू अदालतसमेत जाने भनेर नेता रावलले चुनौती दिएपछि संस्थापन पक्ष केही हच्किएको थियो ।

उता सूचीमा नाम परेका केन्द्रीय सदस्य उत्साही छन् भने नाम छुटेकाहरू भने आक्रोशित भएका छन् । ‘सहमतिका लागि नाम प्रस्ताव गरें, सहमत नहुनेहरूले चुनाव लड्न पाइन्छ, यद्यपि हामीलाई भोलि सोमबार बस्ने ठाउँ छैन, समस्या छ,’ उनले भने ।

अध्यक्षमण्डलमा लामो छलफलपछि नामावली घोषणा गरेको ओलीले बताए । तर अध्यक्षमण्डलमै रहेका रावलले ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका थिए । ‘अध्यक्षमा उठ्ने राजनीतिक घोषणा गरिसकेको छु र मनोनयनपत्र भरिसकेको छु । आयोगले जहिले भन्छ तहिले मनोनयनपत्र दाखिला गर्छॅ । अध्यक्षमा उम्मेदवारी दिन्छु भनेर मैले अध्यक्षमण्डलको बैठकमा पनि भनेको छु,’ उनले बन्दसत्रमा भने । केन्द्रीय सदस्यको सूचीमा पनि अध्यक्षमण्डलमा सहमति नभएको रावलको भनाइ छ । ‘यो सूचीबारे कुनै सहमति भएको छैन, यो सम्पूर्ण प्रक्रियामा मेरो असहमति छ,’ उनले भने ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्न लागेका नेता घनश्याम भुसालले आफू पछि नहटेको बताएका छन् । ‘अध्यक्षले नाम सुनाउनुभयो, चित्त नबुझेका साथीहरूले फारम भर्नुहोस् भन्नुभएको छ, मैले पनि फारम भर्छु,’ उनले कान्तिपुरसँग भने । पार्टीको नीति र लोकतान्त्रिक मान्यताअनुसार आफूले प्रतिस्पर्धा गर्ने उनको अडान छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?