एमाले महाधिवेशन

प्रतिनिधिमा ओलीको एकछत्र

१६ सयभन्दा बढी प्रतिनिधि छानिए, पूर्वमाओवादीसहित १३ सयभन्दा धेरै ओली पक्षका, साढे ३ सय प्रतिनिधि छान्न बाँकी
पूर्वमाओवादीबाट साढे तीन सयभन्दा बढी प्रतिनिधि हुन्छन् कि भन्ने सोचेका थियौं तर दुई सयमात्र आए । के कारण हो, पत्ता लगाउन खोजिरहेका छौं । – टोपबहादुर रायमाझी
बबिता शर्मा, मणि दाहाल

काठमाडौँ — एमालेको दसौं महाधिवेशन प्रतिनिधिमा अध्यक्ष केपीशर्मा ओली पक्षको एकछत्र देखिएको छ । अधिकांशठाउँमा ‘सर्वसम्मत’ प्रतिनिधि चयन गर्दा दसबुँदे सहमतिका पक्षधर र पूर्वमाओवादी समूहको झिनो उपस्थिति देखिएको हो ।

एकताको सन्देश प्रवाह गर्न भन्दै एमाले नेतृत्वले प्रतिनिधि चयनमा सकेसम्म सर्वसम्मत विधि अपनाउन प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्मै निर्देशन दिएको थियो । कात्तिक २८ यता भएको प्रतिनिधि चयनमा भौगोलिक र गैरभौगोलिक दुवैतिर ओली पक्षको वर्चस्व देखिएको हो । ९८ प्रतिशत प्रतिनिधि सर्वसम्मत रूपमा चुनिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनमा निर्वाचित, पदेन र मनोनीत गरी १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । पाँच प्रतिशत अर्थात् करिब एक सय प्रतिनिधि मनोनीत भएर आउनेछन् । उनीहरूको नाम टुंगिन बाँकी छ ।

एमालेले जिल्ला, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी, जनवर्गीय संगठन र प्रवास कमिटी, केन्द्रीय कमिटी र सल्लाहकार कमिटीबाट प्रतिनिधि सहभागी गराउने मापदण्ड बनाएको थियो । मनोनीत १ सयबाहेक २ सय ५२ प्रतिनिधि चयन भएर आउन बाँकी छ । केन्द्रीय कार्यालयका अनुसार शुक्रबार साँझसम्म १ हजार ६ सय ४७ प्रतिनिधि चयन भएकामा ११ सयभन्दा धेरै ओली पक्षको रहेको स्रोतको भनाइ छ । एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार अझै ९ वटा भूगोल कमिटीबाट विवरण आउन बाँकी छ । राष्ट्रिय युवा संघ, खेलकुद महासंघका साथै प्रदेश २ को मजदुर प्रतिनिधि ७ र प्रदेश कमिटीबाट ५ जनाको विवरण पनि आउन बाँकी छ ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पूर्वमाओवादी पक्षका करिब २ सय प्रतिनिधि चयन भएको बताए । ‘हामीले साढे तीन सयभन्दा बढी समावेश हुन्छन् कि भन्ने सोचेका थियौं,’ उनले भने, ‘साथीहरूले अलि कम गरिदिए । के कारण हो, पत्ता लगाउन खोजिरहेका छौं ।’ रायमाझीका अनुसार विधान महाधिवेशन, वडा र पालिकामा पूर्वमाओवादीको सम्मानजनक उपस्थिति रहेको थियो । ‘तर पार्टी एउटै भएकाले त्यसमा असन्तोष हुनुपर्ने कारण छैन,’ उनले भने । एमाले केन्द्रीय कार्यालय सचिव तामाङले भने सबै पक्षलाई मिलाइएको दाबी गरे । ‘निर्वाचन भएको भए बाहिरबाट हेर्दा देखिने पक्षहरू समस्यामा पर्न सक्थे,’ उनले भने, ‘सर्वसम्मत हुँदा सबै पक्ष समेटिएका छन्, समेटिन्छन् ।’

दसबुँदे पक्षधर १० नेतानिकट करिब ३ सय प्रतिनिधि चयन भएको नेताहरूले बताएका छन् । ‘नवौं महाधिवेशनदेखि एउटा समूह थियो । त्यसमा माधव नेपालले धेरै लिएर जानुभयो । हामीनजिक जति साथीहरू हुनुहुन्थ्यो, त्यसमध्ये धेरै कम प्रतिनिधि बन्नुभएको छ,’ दसबुँदे सहमति पक्षधर एक नेताले भने, ‘स्वाभाविक रूपमा केपी कमरेडसँग पहिलादेखि नै जोडिएर आएकाहरूको संख्या धेरै छ ।’ दसबुँदे सहमतिका पक्षधर र पूर्वमाओवादी समूहले मनोनीत हुने प्रतिनिधिको सूचीपार्टी अध्यक्ष ओलीलाई बुझाउँदै छन् । यी दुवैसमूहले मनोनीतमा आफ्नोतर्फबाट धेरै समेट्न आग्रह गरेका छन् ।

‘हामी सूची दिन्छौं । नेतृत्वले मनोनीत प्रतिनिधिमाकति समेट्छ, हेर्नुपर्छ,’ पूर्वमाओवादी एक नेताले भने । दसबुँदे सहमतिका पक्षधर एक नेताले प्रतिनिधि चयनमा देखिएको असन्तुष्टि सम्बोधनमा ध्यान दिनपार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको जानकारी दिए । ‘हामीले अध्यक्षलाई भेटेर पार्टीभित्र असन्तुष्टि जन्माउने कारण सम्बोधन गर्न आग्रह गरेका छौं । यसमा उहाँले ध्यान दिएर मनोनीत प्रतिनिधि चयन गर्नुहोला,’ उनले भने ।

वडा र पालिकापछि प्रतिनिधि चयनमा पनि सर्वसम्मतको सूत्र अघि सारेका थिए । ओलीले प्रतिनिधि चयनको दिन भिडियो सन्देशमार्फत समझदारीबाटै प्रतिनिधि चयन गर्न निर्देशन दिएका थिए । ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धामात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो,’ ओलीले सम्बोधनमा भनेका थिए, ‘दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो, तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरूलाई उच्च समझदारीका साथ आसन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनोट गर्न हार्दिक आह्वान गर्दछु ।’

मतदानको ४ घण्टामै नतिजा

नवौं महाधिवेशनमा विवादका कारण अन्तिम समयमा विद्युतीय मतदान (ई–भोटिङ) रोकेको एमालेले १० औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ई–भीएम) प्रयोग गर्ने भएको छ । चुनाव परिणाम चाँडो आउने, विवादरहित र खर्च कम हुने भएकाले एमालेले पहिलो पटक ई–भीएम प्रयोग गर्न लागेको हो । एमालेको नवौं महाधिवेशनमा मतपत्र प्रयोग गर्दा अन्तिम परिणाम आउन एक साताभन्दा बढी समय लागेको थियो ।

ई–भोटिङमार्फत मतदान गर्न प्रतिनिधिहरूलाई कम्तीमा १२ घण्टा लाग्ने र मतदान सकिएको चार घण्टापछि अन्तिम परिणाम आउने प्राविधिकहरूको भनाइ छ ।

पदाधिकारीमा सर्वसम्मत गराउने प्रयास हुने भए पनि केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धालाई जोड दिने एमालेले जनाएको छ । यस पटकको महाधिवेशनमा समूहगत (प्यानल) उम्मेदवार नहुने देखिएको छ । एमालेले महाधिवेशनको निर्वाचन गराउन ई–भीएम र त्यसको व्यवस्थापनका लागि ‘राम–लक्ष्मण इनोभेसन्स’ सँग ५६ लाख ५० हजार रुपैयाँको सम्झौता गरेको छ । मतदानका लागि सयवटा मेसिन प्रयोग गरिनेछ । चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनमा २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । ‘एक जना प्रतिनिधिले मतदान गर्न औसत ३० मिनेट लगाउनुहोला भन्ने अनुमान गरेका छौं’, इनोभेसन्सका लक्ष्मण रिमालले भने, ‘२ हजार प्रतिनिधिले १२ घण्टामा मतदान गर्नु हुनेछ र चुनाव सकिएको ४ घण्टाभित्र नतिजा सार्वजनिक गर्नेछौं ।’ चुनावी प्रतिस्पर्धामा कति उम्मेदवार हुन्छन् भन्ने विषयले पनि समय थपघट हुने रिमालले बताए ।


दसौं राष्ट्रिय महाधिवेशनमा १५ पदाधिकारीसहित केन्द्रीय कमिटीका २ सय २५ र अनुशासन तथा लेखा आयोगका ३० जना गरी कुल २ सय ५५ जना छान्नका लागि मतदान हुनेछ । इनोभेसन्सका रिमालले एमाले महाधिवेशनका लागि भनेर आफूहरूले ७० वटा थप नयाँ ई–भीएम थपेको जानकारी दिए । उनका अनुसार एउटा मेसिनको एक लाख रुपैयाँ पर्छ । ‘मेसिनले ८ सय उम्मेदवारसम्मको मतदान सञ्चालन गर्न सक्छ,’ रिमालले भने, ‘हामीलाई करिब ५ सय उम्मेदवार हुन सक्ने जानकारी गराइएको छ ।’

सयवटा मेसिनमध्ये ९२ वटा मतदानका लागि प्रयोग हुनेछन् । कुनै मेसिन बिग्रे त्यसको सट्टामा प्रयोग गर्न थप ५ वटा रहनेछन् । ३ वटा मतदानस्थलमा अभ्यास लागि राखिनेछ । ‘मतदानका लागि एउटै लाइन हुनेछ तर एकै पटक ९२ जना मतदानमा सहभागी हुन पाउनुहुनेछ,’ रिमालले भने, ‘हामीले मतदान हुने स्थलसमेत हेरिसकेका छौं ।’

एमाले केन्द्रीय कार्यालय थापाथलीमा गत कात्तिक २२ देखि नै मेसिनमा अभ्यास गराउने काम भइरहेको छ । महाधिवेशनमा चुनावी प्रक्रिया सञ्चालन र व्यवस्थापनका लागि ४० जनाको टिम परिचालन हुने रिमालले जानकारी दिए । रिमालले मतदातालाई भोट दिन सहज हुने गरी तयारी गरिएको बताए । ‘उम्मेदवारको फोटो आउने, सिरियल नम्बर र नाम आउने गरी व्यवस्था गरिएको छ,’ रिमालले भने, ‘स्क्रिनमा छुनेबित्तिकै मतदान हुन्छ । कसैलाई मत दिएपछि मन लागेन रद्द गरौं भन्ने भयो भने पनि मतदाताले गर्न सक्नुहुन्छ ।’ कसरी मतदान गर्ने भनेर भिडियो पनि बनाइएको छ ।

हालसम्म विभिन्न संघसंस्था, राजनीतिक दल, तीनका भ्रातृ संगठनका गरी ९२ वटा निर्वाचनमा ई–भीएमको प्रयोग गरिएको रिमालले बताए । ‘कसैमा पनि कुनै गुनासो र समस्या आएको छैन,’ उनले भने, ‘राप्रपाका २ वटा महाधिवेशनबाट नेतृत्व छनोट पनि हाम्रो मेसिन प्रयोग गरेर भएको हो । यो अझै परिष्कृत छ ।’ राप्रपाको महाधिवेशनमा एक पटक २ हजार ८ सय र अर्को पटक ३ हजार ४ सय प्रतिनिधिले मतदानमा भाग लिएका थिए । त्यसैगरी कांग्रेसका भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले पनि यो मेसिन प्रयोग गरेका थिए । ‘करिब १० हजार सदस्य रहेको राष्ट्रिय सहकारी बैंकको नेतृत्व छनोटमा पनि हाम्रै मेसिनको प्रयोग भएको थियो,’ रिमालले भने, ‘नेविसंघमा मतदाताको संख्या कम भए पनि धेरैलाई छान्नुपर्ने एमालेको जस्तै अलि जटिल थियो ।’

मतको विषयमा कुनै विवाद भयो भने कुन समयमा कसले मत पायो भन्ने मात्रै नभएर कुनै पनि मतदाताको मतपत्र छुट्टै ‘ब्याक अप’ का रूपमा रहने व्यवस्था भएको रिमालले जानकारी दिए । ‘सबै मतदाताको मतपत्र कागजमा पनि आउने व्यवस्था हामीसँग छ तर मत दिएपछि मतपत्र प्रिन्ट गर्ने हो भने ३–४ मिनेट थप समय त्यसमा लाग्छ,’ उनले भने, ‘त्यस्तो मतपत्र ३ मिटर जति लामो हुन्छ । त्यसैले कुन मेसिनबाट कति मत कसले प्राप्त गर्‍यो भनेर फरक फरक प्रिन्ट गरेर निकाल्छौं । प्रत्येक मेसिनले परिणामको क्यूआर कोड तयार गर्छ । त्यसले पनि चाँडो गराउँछ ।’

रिमालले उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त गरेको १४ घण्टाभित्र मतदान सुरु थाल्ने व्यवस्थापन गर्न सकिने बताए । ‘त्यो १४ घण्टामा उम्मेदवारको फोटो तयार पार्छौं । त्यसैअनुसार क्रम मिलाउँछौं, मेसिनमा हाल्छौं,’ उनले भने, ‘सबैलाई नेटवर्कबाट हाल्न मिल्छ । नेटवर्कमा जोडेपछि सुरक्षाको कुरा पनि आउने भयो । त्यसैले प्रत्येक मेसिनमा एक–एक गरेर राख्छौं । पारदर्शी रूपमा देखाउँछौं ।’ रिमालले हालसम्म निर्वाचनमा कुनै पनि विवाद नआएको र एक पटक मेसिन प्रयोग गरेको संस्थाले अर्को निर्वाचनमा कागजी मतपत्र प्रयोग नगरेको दाबी गरे ।

‘पक्षधरता छैन, सबै एमाले छौं’

– शेरबहादुर तामाङ

एमाले केन्द्रीय कार्यालय सचिव

महाधिवेशनका अहिलेसम्म छानिएका प्रतिनिधिमा निर्वाचित र सर्वसम्मतको अनुपात कस्तो छ ?

सर्वसम्मत रूपमा ९८ प्रतिशत प्रतिनिधि चयन भएका छन् । ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा चुनाव भयो । त्यसबाहेक अन्य केही ठाउँमा पनि चुनाव भएको छ ।

सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेर तपाईंहरूले दिन खोजेको सन्देश के हो ?

एमालेभित्र एकताको भावना विकास भएको छ । कार्यकर्ता पनि पार्टीभित्र हुने अनावश्यक गुटबन्दीको विरुद्ध छन् भन्ने देखाउँछ ।

पार्टीभित्र मूलतः तीन शक्ति छन्, शक्ति सन्तुलनका हिसाबले प्रतिनिधिको उपस्थिति कस्तो देखिन्छ ?

हामी सबै एमाले हो । त्यहाँभित्र समूह, गुट परिकल्पना गर्दैनौं । ठूलो पार्टी भएकाले सबै कुरा मिल्छन्, मिलाइन्छ । सबैको उचित सम्बोधन र व्यवस्थापन हुन्छ ।

कतिपय नेताले 'सर्वसम्मत' चयनका नाममा पार्टीमा ओली पक्षको वर्चस्व भयो भन्ने गुनासो गरेका छन् नि ?

त्यो गलत हो । सबै पक्षका समेटिएका छन् । त्यसमा पनि अहिले कुनै पक्षधरता छैन, सबै एमाले छौं ।

महाधिवेशनका लागि पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ । त्यसमा कस्ता व्यक्तिलाई ल्याइन्छ, छनोटको मापदण्ड के हो ?

तुलनात्मक रूपमा पछाडि परेको वर्ग, समुदाय, क्षेत्रको हिसाबमा पार्टीमा काम गरिरहेको र योगदान गरिरहेकालाई नै बढी प्राथमिकता दिइन्छ । त्यति हुँदाहुँदै पनि पार्टीका केही नेता–कार्यकर्ताले विविध कारणले दाबी छाड्दा तल सर्वसम्मत हुन सकेको थियो । त्यस्ता व्यक्तिहरूलाई पनि समेटिन्छ । केही जिल्लाबाट समस्या छ भनेर केन्द्रमा रिपोर्ट आएको छ । त्यस्ता जिल्लालाई पनि सम्बोधन गर्नुपर्ने हुन सक्छ ।

३३ प्रतिशत महिला प्रतिनिधि हुँदैनन् कि भन्ने चिन्ता महिला नेताहरूबाट आएको छ नि ?

मनोनयनमा महिलाको संख्यालाई अलि बढी जोड दिइन्छ ।

प्रतिनिधि छनोटको समस्या कति ठाउँमा छ ?

अहिलेसम्म देखिएको जिल्ला कैलाली हो । अलि अगाडि सुनसरीमा पनि समस्या देखिएको थियो । तर अहिले उहाँहरूले मिलाएर पठाउनुभएको छ । समस्या देखिएका अरू एक/दुई जिल्लाको हकमा पनि स्थायी कमिटी बैठक बसेर मिलाइन्छ ।

प्रकाशित : मंसिर ४, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेतमा १० हजार अट्ने रंगशाला बन्दै

१० औं राष्ट्रिय खेलकुदको तयारीमा कर्णाली
कृष्णप्रसाद गौतम, ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला बन्न भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी तयारी थालेको हो ।

रंगशाला निर्माणका लागि मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी परिषद्ले १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणको सम्झौता गरेको हो । रंगशालामा प्रत्येक इन्डोर खेलका लागि १५ सय दर्शक अट्ने इन्डोर कभर्डहल पनि बन्नेछन् । त्यहाँ चिल्ड्रेन पार्क, ग्रीन पार्कलगायत सम्पूर्ण सुविधा हुने प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले बताए । ‘यो नेपालमा बन्न लागेको पहिलो अत्याधुनिक रंगशाला हो,’ उनले भने, ‘यो रंगशालाले नै हामीलाई १० औं राष्ट्रिय खेलकुद सञ्चालन गर्न योग्य बनाउनेछ ।’ उनका अनुसार प्रदेश रंगशाला २०८१ जेठ ११ गते हस्तान्तरण गर्ने गरी एमएसीजीएसएल जेभीसँग सम्झौता गरिएको हो ।

परिषद्ले प्रदेशका १० वटै जिल्लामा इन्डोर कभर्डहल बनाउने गरी कार्ययोजना बनाएको छ । त्यसअनुसार रुकुम, सुर्खेत र दैलेखमा कभर्डहल निर्माण भइसकेका छन् । यो वर्ष कालीकोट, जुम्ला र हुम्लाका लागि इन्डोर कभर्डहल निर्माण गर्न ५०–५० लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष हमालले बताए । उनका अनुसार जुम्लामा यसै वर्षदेखि हाइअल्टिच्युट फुटबल प्रशिक्षण केन्द्रको काम पनि सुरु हुनेछ । त्यसका लागि २ करोड ५० रुपैयाँ छुट्याइएको छ । रुकुम पश्चिममा पनि खेलमैदान निर्माण गर्न ५ करोड रुपैयाँ पनि विनियोजन गरिएको उनले जानकारी दिए ।

१० औं राष्ट्रिय खेलकुदको तयारीका लागि प्रशिक्षक उत्पादन गर्न परिषद्ले ‘एनआईएस’ प्रशिक्षण आयोजना गर्न लागेको छ । सबै राष्ट्रिय खेलका प्रशिक्षकहरू उत्पादन गर्न सबै जिल्लाबाट ४–४ जना गरी ४० जनालाई प्रशिक्षण दिन लागिएको परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले बताए । ‘३ महिनाको प्रशिक्षण लिएपछि प्रशिक्षकले आफ्नो जिल्लामा गएर स्वयंसेवक प्रशिक्षण गर्नेछन्,’ उनले भने, ‘उनीहरूलाई क्रमशः रोजगारीमा लगाउने हाम्रो योजना छ ।’

कर्णाली प्रदेशमा भलिबल, एथलेटिक्स, फुटबल, कराते र तेक्वान्दोको बढी सम्भावना रहेको एथलेटिक्सका राष्ट्रिय प्रशिक्षक राम ओलीले बताए । उनका अनुसार ती खेलमा ७ खेलाडीले अन्तर्राष्ट्रिय र झन्डै ७० जनाले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

प्रदेश रंगशाला निर्माणको थालनीले कर्णालीमा १० औं राष्ट्रिय खेलकुद सञ्चालनको ढोका खुलेको उनी बताउँछन् । ‘अरू प्रदेशभन्दा हामी भौतिक पूर्वाधारमा कमजोर छौं, तर प्रदेश रंगशाला सम्पन्न भए १० औं राष्ट्रिय खेलकुद गर्न योग्य हुनेछौं,’ उनले भने, ‘अभावकै बाबजुद पनि कर्णालीका खेलाडी अरूभन्दा कमजोर छैनन्, भौतिक पूर्वाधार भए हाम्रा खेलाडी उच्च नतिजा ल्याउन सफल हुनेछन् ।’ उनले नवौं राष्ट्रियमा सहभागी हुने खेलाडीको क्षमता अभिवृद्धिका लागि तयारी थालिएको जानकारी दिए ।

नवौं राष्ट्रियका लागि खेलाडी छनोट गरी बन्द प्रशिक्षण सञ्चालन गर्ने परिषद्को तयारी छ । ‘नवौं राष्ट्रिय खेलकुद पोखरामा हुने भएपछि अब हामी कर्णालीमा आयोजना गर्छौं भनेर झन्डा ल्याउने योजना छ,’ उपाध्यक्ष हमालले भने, ‘त्यसको तयारीका लागि अहिल्यैदेखि जुटेका छौं ।’ उनका अनुसार परिषद्का पदाधिकारीले शपथ लिँदा नै चार ‘प’ लाई प्राथमिकता राखी संकल्प गरेका थिए । पूर्वाधार, प्रशिक्षण, खेलाडी प्राथमिकता र खेलाडीको पारिश्रमिकलाई प्राथमिकतामा राखी परिषद्को काम अघि बढाइएको उनको भनाइ छ ।

यस्तो बन्दै छ प्रदेश रंगशाला

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश गौरवको आयोजनाका रूपमा घोषणा गरेको प्रदेश रंगशाला फिफाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटबल मैदानमा पानी छर्किने आधुनिक व्यवस्था हुनेछ । त्यस्तै आईएएफको मापदण्डअनुसार ८ लेनको सेन्थेटिक ट्र्याकसहितको रंगशाला निर्माण हुन लागेको परिषद्ले जनाएको छ ।

१० हजार दर्शक क्षमताको रंगशालामा भूकम्प प्रतिरोधी प्यारापिट र भीआईपी प्यारापिटको व्यवस्था गरिनेछ । मिडिया, रेफ्री, चेन्जिङ, रिफ्रेस र मेडिकल रूम, फिजियोथेरापी, भीआईपी वेटिङ रूमका साथै अन्डरग्राउन्ड पार्किङसमेत निर्माण हुने सदस्यसचिव सञ्ज्यालले बताए । ‘टीभी लाइभ ब्रोडकास्ट प्लेटफर्म यसमा हुनेछ भने रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड र स्वीमिङ पुल पनि बन्नेछ,’ उनले भने, ‘रंगशालाभित्र १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल बन्नेछ, जसमा भलिबल, ह्यान्डबललगायतका खेल खेल्न सकिनेछ ।’ उनले व्यावसायिक प्रयोजनका लागि रंगशालामा ४० वटा सटर निकालिने जानकारी दिए ।

रंगशाला निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न गर्न मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । ‘रंगशालासँग कर्णालीको भविष्य र गौरव पनि जोडिएको छ,’ उनले भने, ‘त्यसैले गुणस्तरीय काम तोकिएको अवधिभित्रै गर्न जरुरी छ ।’ उनले कर्णाली प्रदेशको झन्डै ४ वर्षको अवधिमा पहिलो पटक गौरवको आयोजनामा हस्ताक्षर गरिएको बताए ।

प्रकाशित : मंसिर ४, २०७८ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×