रेडक्रसको विधान महाधिवेशनस्थलमा तोडफोड, ६ जना पक्राउ- समाचार - कान्तिपुर समाचार

रेडक्रसको विधान महाधिवेशनस्थलमा तोडफोड, ६ जना पक्राउ

इकान्तिपुर डेस्क, तस्बिर : दीपक केसी

काठमाडौँ — नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । 

विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।

'हामी ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरु भेला भएका थियौं । अचानक एकडेढ सयको हुलमा आएका गैरप्रतिनिधिहरुले सभास्थल बिथोले,' उनले भने । उक्त समूहले वितरण गर्न राखिएका रेडक्रसका ज्याकेटहरु समेत लुटेर लगेको तिम्सिनाले इकान्तिपुरलाई बताए । कुर्सी भाँच्दै बितण्डा मच्चाएपछि कार्यक्रम स्थगन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो । सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो । तीनै जिल्लाबाट आएकाहरुले सभा बिथोलेको अध्यक्ष तिम्सिनाले बताए ।

आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो । 'संघीयता अनुकूल बनाऔं भनेर हामीले विधान महाधिवेशन गर्न लागेका थियौं,' अध्यक्ष तिम्सिनाले भने,'पालिका तहमा हाम्रो संस्थाको राम्रो उपस्थिति थिएन । विधान संशोधन गरेर पालिका स्तरसम्मै रेडक्रसको सञ्जाल फैलाउने उद्देश्य अनुरुप विधान संशोधन गर्न लागेका थियौं । १६ जिल्लाबाट आएकाहरुले बिथोलिदिए ।'

सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी काठमाडौंका प्रवक्ता एसपी सुशीलसिंह राठौरले सभा बिथोल्न खोजेका ६ जनालाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको जानकारी दिए ।

प्रकाशित : कार्तिक २८, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काशीराम डाँगी

रोल्पा — आइतबार बिहान रोल्पामा जिप दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । तीन जना घाइते छन् ।

प्रहरीका अनुसार बिहान ११ बजेतिर घर्तीगाउँ नजिकैको सडकबाट जिप करिब ३ सय मिटरमुनि खसेको थियो ।

माडी गाउँपालिका–६ हान्निङदेखि गाउँपालिकाको केन्द्र घर्तीगाउतिर जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप सडकमुनि खसेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार मृत्यु हुनेहरुमा दुई जना पुरुष र एक जना महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए ।

उक्त क्षेत्रमा केही महिनाअघि एम्बुलेन्स दुर्घटना भएको थियो । उक्त घटनामा चालकको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक २८, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×