कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदेशको उडानमा व्यवस्थापन भद्रगोल

डोटी र बझाङको उडानका लागि निगमले कर्मचारी नपठाउँदा प्रहरीले काम गर्दै, जिल्ला प्रशासनमा टिकट माग्नेको घुइँचो

बझाङ,काठमाडौं — बेमौसमी वर्षाले सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लाको सडक सम्पर्क अवरुद्ध भएपछि पर्यटनमन्त्रीको निर्देशनमा आइतबारदेखि धनगढीबाट डोटी र बझाङमा उद्धार उडान सुरु भएको छ ।

आदेशको उडानमा व्यवस्थापन भद्रगोल

तर, नेपाल वायुसेवा निगमका कर्मचारी त्यहाँ नगइदिँदा आइतबार डोटी, बझाङ र धनगढीमा विमानस्थलको सुरक्षार्थ तैनाथ प्रहरी र कर्मचारीले यात्रुको नामावली संकलन गर्ने, पैसा लिने, जहाजमा चढाउने र सामान लगेज लोड–अनलोडका काम गरे ।

नियमित उडान रोकिएपछि डेढ वर्षयता निगमको धनगढी कार्यालय बन्द छ । बझाङस्थित निगमको कार्यालय २०६५ मा खारेज गरिएको थियो । उडान सेवा बन्द भएपछि निगमले डोटीमा रहेको कार्यालय

पनि हटाएको थियो । निगममा १ हजार ३ सय जना कर्मचारी छन् तर १३ वर्षपछि जहाज पुनः बझाङ विमानस्थलमा अवतरण गर्दा भने व्यवस्थापन कर्मचारी एक जना पनि थिएनन् ।

दसैंका अवसरमा घर आएर सडक अवरुद्ध भएका कारण फर्किन नपाएकाहरू निगमको जहाज आउने खबर पाएपछि टिकट पाउन जिल्ला प्रशासन कार्यालयमा लाम लाग्न थालेका छन । भीड हुन थालेपछि आइतबार जिल्ला प्रशासन कार्यालय बझाङले भीड नगर्न सूचना नै गरेको छ ।

‘अस्तिदेखि नै टिकटका लागि फोन गर्ने र भेट्न आउनेहरूका कारणले हामीले गर्ने अरू काम पनि प्रभावित भइरहेका छन्,’ बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘सूचना निकाल्यौं तर नेता, कार्यकर्ता र सर्वसाधारणको भीड घटेको छैन ।’ दसैं बिदामा बझाङ आएका कर्मचारी अमृत ओखेडालाई सोमबारदेखि टिकट व्यवस्थापनको जिम्मा दिएको जानकारी आफूलाई निगमबाट प्राप्त भएको उनले बताए ।

निगमले यस्तो बेला फिल्डमै कर्मचारी खटाउनुपर्नेमा नेपालगन्जबाट ५ जनालाई जहाजमा पठाएको थियो । कर्मचारीहरु साँझ त्यही जहाजमा नेपालगन्ज नै फर्किए । ‘निगमको १९ सिट भएको टुइनअटर जहाज आयो । तर, यहाँ कर्मचारी नभएकाले प्रहरीले यात्रुहरूको नाम संकलन गर्ने, हामीले सामान राख्ने, चेकजाँचमा सहजीकरण गर्ने र टिकटको पैसा उठाइदिने काम गरिदियौं,’ धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै बिहीबार बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले शनिबार काठमाडौं फर्केर निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नायब महाप्रबन्धक गणेश चन्दलाई तत्काल सडक सम्पर्क टुटेको डोटीको दिपायल र बझाङको चैनपुरमा उडान राख्न निर्देशन दिएका थिए ।

शनिबारै निगमले उडान तालिका सार्वजनिक गर्‍यो । पर्यटनमन्त्री आलेको सचिवालयले ती क्षेत्रमा सम्पर्क गर्न यात्रुहरूका लागि नेपालगन्ज विमानस्थलका प्रमुख किरणमान श्रेष्ठसहित लोडमास्टर गोविन्द गिरिसहितको नम्बर फेसबुक पेजबाट शनिबारै सार्वजनिक गर्‍यो । तर, निगमका कर्मचारीले नागरिकलाई विपत्मा सघाउनुको बदला फोन अफ गरेका छन् ।

‘निगमको धनगढीमा कार्यालय बन्द छ । सडकबाट जान नसकिने भएपछि जहाज चढ्ने यात्रु र बझाङमा सीडीओबीच तनाव भएछ । निगमले पठाएका ५ जना कर्मचारी दुइटा फ्लाइट सकेर नेपालगन्ज फर्किसके,’ धनगढी विमानस्थल प्रमुख भट्टले भने, ‘यात्रुहरू निगमको टिकट लिन एयरपोर्ट धाइरहेका छन् । यात्रुको चाप छ । प्रहरीले नाम टिपेर सघाइरहेको छ । बझाङ र डोटीमा मैले त्यहाँ रहेका प्राधिकरणका एयर ट्राफिकलाई तत्काललाई हेरिदेऊ भनेको छु ।’ आइतबार नेपालगन्जबाट आएका कर्मचारीले धनगढीमा यात्रुबाट विमानस्थलमा उठाइएको रकम संकलन गरे । धनगढीबाट बझाङ र डोटीका लागि भएको एक/एक उडानमा एक जना कर्मचारी जहाजमै गए, फर्किए ।

आइतबार निगमको ‘ब्राभो, युनिफर्म’ टुइनअटर काठमाडौंबाट पठाइएको थियो । नेपालगन्ज पुगेर उक्त विमान कर्मचारी लिई धनगढी गएको थियो । निगमको नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख किरणमान श्रेष्ठले ‘अति धेरै फोन आएकाले’ मोबाइल अफ गर्नुपरेको बताए ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?