कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ वर्षपछि अक्टोबरमा भारी वर्षा

अब्दुल्लाह मियाँ

काठमाडौँ — मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै देशभर व्यापक जनधन क्षति हुने गरी भारी वर्षा भएको छ । बंगालको खाडी र मध्यभारतमा रहेको न्यून चापीय प्रणालीमा पश्चिमी वायुको बलियो प्रभाव थपिएपछि आइतबारदेखि पानी परेको हो ।

१२ वर्षपछि अक्टोबरमा भारी वर्षा

विज्ञहरूले मनसुनका बेला र मनसुनपछि वर्षाको चरित्र बदलिएको विश्लेषण गरेका छन् । अक्टोबरमा भएको भारी वर्षा १२ वर्षयताकै उच्च हो ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार मुलुकका २० वटा मापन केन्द्रलाई आधार मान्दा अक्टोबरभरिको सरदर वर्षा ६६.५ मिमि हो । तर यो वर्ष अक्टोबरका १९ दिनमै १६८.३ मिमि वर्षा भइसकेको छ । जुन सरदरभन्दा १०२ मिमिले बढी हो । यसलाई भारी वर्षाका रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् ।

सन् १९९१ देखि सन् २०२० सम्मको अक्टोबरमा भएको वर्षालाई विश्लेषण गर्दा सबैभन्दा बढी वर्षा सन् २००९ मा भएको देखिन्छ । त्यस वर्षको अक्टोबर ७ मा बझाङको थलारा स्टेसनले ४०४.२ मिमि वर्षा रेकर्ड गरेको कँडेलले जानकारी दिइन् ।

अहिले विभागअन्तर्गत मुलुकभरका २ सय १५ स्थानमा वर्षा मापन केन्द्र छन् । तीमध्ये ६३ मानव सञ्चालित हुन् भने १ सय ५२ वटा स्वचालित । पछिल्लो २४ घण्टामा २ सय ९ केन्द्रमा वर्षा रेकर्ड भएको छ । जसमध्ये सबैभन्दा बढी डडेलधुराको साहुखर्कस्थित केन्द्रमा वर्षा रेकर्ड (३६१ मिलिमिटर) भएको विभागले जनाएको छ ।

वर्षाको ‘चरित्र’ बदलिँदा ठूलो क्षति

५ केन्द्रमा २ सय मिमिभन्दा बढी, १५ केन्द्रमा १ सय ५० मिमिभन्दा बढी, ३६ केन्द्रमा १ सय मिमिभन्दा बढी, ९१ केन्द्रमा ५० मिमिभन्दा बढी, १ सय ३८ केन्द्रमा २५ मिमिभन्दा बढी र १ सय ६९ केन्द्रमा १० मिमिभन्दा बढी वर्षा रेकर्ड भएको छ । जसअनुसार दिपायलमा १९८.२, धनगढीमा २११.७, वीरेन्द्रनगरमा ४५.१, नेपालगन्जमा २१.८, जुम्लामा ५४.४, घोराहीमा २.२, पोखरामा ३०.५, भैरहवामा ०.२, सिमरामा ११.१, काठमाडौंमा ३.९, ओखलढुंगामा ८३.३, ताप्लेजुङमा ५३.८, धनकुटामा १५६.२, विराटनगरमा १३३.६, धरानमा ६८.४, लुम्लेमा १०४.६ र जनकपुरमा १५१.९ मिमि वर्षा भएको छ ।

‘सबै तथ्यांकले सन् २००९ र अहिले (अक्टोबरमा) भएको वर्षा उस्तै देखिन्छ,’ कँडेलले कान्तिपुरसँग भनिन्, ‘यो वर्ष मात्रै धेरै वर्षा भएको होइन । बरु धेरै समयको अन्तरमा यत्तिको वर्षा भएको हो भन्न मिल्छ ।’ विभागको तथ्यांकअनुसार सन् २०१०, २०११ र २०१२ को अक्टोबर महिनामा पूरै सुक्खा भएको थियो । सन् २०११ मा अन्य वर्षको तुलनामा अझ कम पानी परेको उनले सुनाइन् । त्यो वर्षको अक्टोबरमा अरू वर्षभन्दा २२ प्रतिशतले कम वर्षा भएको थियो । २०१५ को अक्टोबर महिना पनि सुक्खामय बन्यो भने सन् २०१६ को अक्टोबरमा केही बढी वर्षा भएको देखिन्छ । ‘२०१७ देखि २०२० सम्मको अक्टोबर महिनामा पानी परेको देखिन्न,’ उनले थपिन्, ‘धेरै वर्षको अन्तरमा यो वर्ष अलि धेरै वर्षा भयो । विगतको वर्षा भुलिसकेकाले सर्वसाधारणमा अहिले मात्र किन बढी वर्षा भयो भन्ने जिज्ञासा बढेको हो ।’

मनसुनका करिब १ सय दिनलाई विश्लेषण गर्दा पनि वर्षाको चरित्र बदलिएको पुष्टि हुने विज्ञहरू बताउँछन् । सोमबार र मंगलबारको वर्षालाई पनि त्यही रूपमा हेर्नुपर्ने उनीहरूको धारणा छ । जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले मनसुनपछिको मौसम आश्चर्यजनक हिसाबले बदलिएको भन्दै सुक्खायाममा भल–पहिरोजन्य विपद् निम्तिएको ट्वीटरमा उल्लेख गरेका छन् । अर्का विज्ञ मधुकर पाध्याले मनसुनपछि पनि बाढीजन्य विपद् निम्तिएकाले मनसुन अवधिभर सञ्चालन भएको बाढीको पूर्वसूचना सेवालाई कात्तिकसम्मै विस्तार गर्नुपर्ने पाठ अहिलेको मौसमी गतिविधिले सिकाएको जनाएका छन् । जलवायु परिवर्तनसम्बन्धी विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि केही वर्षयता वर्षाको चरित्र बदलिएको र चरम मौसमी गतिविधिहरू बढेको देखाएका छन् । यो वर्षको मनसुनमा सिन्धुपाल्चोक, मनाङ, लमजुङ र मुस्ताङलगायत जिल्लामा आरीघोप्टे वर्षा (एक्स्ट्रिम रेनफल) भएको र त्यसले ठूलो क्षति निम्त्याएको थियो ।

वैज्ञानिक अनुसन्धानले औद्योगिक क्रान्तियता १.१ डिग्री सेल्सियसले तापक्रम बढेको देखाएको छ । संयुक्त राष्ट्रस‌ंघअन्तर्गतको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले अहिलेकै किसिमले कार्बन उत्सर्जन कायम रहे सन् २०४० अगावै विश्वको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ । हिमालय क्षेत्र, हिमताल, हिमनदी पग्लिने र अनियन्त्रित डढेलो तथा आरीघोप्टे वर्षाजस्ता चरम मौसमी गतिविधि बढेको आईपीसीसीको प्रतिवेदनमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक ऋषिराम शर्मा अहिलेको मौसमी बदलावलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने तर्क गर्छन् । ‘मनसुन सकिसकेपछि पनि अहिलेका जस्ता घटनाहरू विरलै हुन्छन्,’ शर्माले भने, ‘यस्ता अतिजन्य मौसमी घटनाहरू जलवायु परिवर्तनकै कारण बढोत्तरी भएका हुन् ।’

विभागले अझै २ दिन केही स्थानमा भारी वर्षा हुने आकलन गर्दै नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, उच्च हिमाली भेगमा हिमपातको सम्भावना भएकाले पदयात्रा र हिमाल आरोहण नगर्नसमेत सुझाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बुधबारदेखि हाल विकसित प्रणाली कमजोर बन्दै जाने भएकाले बिहीबारदेखि मुलुकभरको मौसममा सुधार हुँदै जाने बताइन् ।

प्रकाशित : कार्तिक ३, २०७८ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?