कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाको ‘चरित्र’ बदलिँदा ठूलो क्षति

चुरे, महाभारत हुँदै मध्यपहाडी क्षेत्रमा सक्रिय हुने मनसुन यसपालि सिधै हिमाली भागमा सक्रिय भयो । हिउँ परे पनि विरलै पानी पर्ने सिन्धुपाल्चोक, मनाङ, मुस्ताङका माथिल्ला भागमा अधिक वर्षापछिको बाढीपहिरोले जनधनको क्षति निम्तियो ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — मनसुन प्रवेश भएको चौथो दिन जेठ ३१ मै मनाङको हुम्डे विमानस्थल क्षेत्रमा ठूलो वर्षा भयो । ३ हजार ३ सय ८८ मिटर उचाइको विमानस्थलस्थित मौसम मापन केन्द्रले उक्त दिन २९.६ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । त्यहाँ असार १ मा ४०.९ र असार २ मा ५०.२ मिमि वर्षा भयो । यो परिमाणको वर्षा हिमाली क्षेत्रका लागि अनपेक्षित थियो । हिउँद र अन्य मौसममा पनि धेरै समय हिउँले ढाक्ने त्यो क्षेत्रमा मनसुन अवधिमा विरलै वर्षा हुन्थ्यो । 

वर्षाको ‘चरित्र’ बदलिँदा ठूलो क्षति

लगातारको वर्षापछि मर्स्याङ्दी नदीमा ठूलो बाढी आयो । त्यसले सदरमुकाम चामेसहित तल्लो तटीय क्षेत्रको तालगाउँ डुबायो । मानवीय क्षति थोरै भए पनि त्यहाँका पुल, जलविद्युत् आयोजना, विद्यालय र घरलगायतका धेरै संरचनामा क्षति पुग्यो । त्यसो त, यो वर्ष मनसुन सुरु हुनुअघि (प्रि–मनसुन) को वर्षाले पनि मनाङमा ‘रेकर्ड ब्रेक’ गरेको थियो । मौसमी प्रारूप (क्लाइमेट मोडल्स) मा विद्यावारिधि गरेकी जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार मनाङमा मार्चदेखि मेसम्मै ठूलो वर्षा भएको थियो । यो अवधिलाई प्रि–मनसुन मानिन्छ । अप्रिल र मेमा सरदरभन्दा २–३ सय प्रतिशत बढी वर्षा भएको थियो । ‘मे महिनाभरिमा औसत २४ मिमि वर्षा हुने हुम्डे क्षेत्रमा १६६ मिमिसम्म वर्षा भएको छ,’ कँडेलले कान्तिपुरसँग भनिन्, ‘जुनभरिमा त्यो क्षेत्रमा ४२ मिमि वर्षा हुनुपर्नेमा १६ जुनभित्रै १९७ मिमि वर्षा भयो, त्यसकै कारण बाढी निम्तियो ।’

यो वर्ष मनसुन अवधिका १ सय दिनमा नेपालका धेरै भागमा सरदरभन्दा बढी वर्षा हुन्छ भनेर विभागले वैशाख तेस्रो साता आकलनसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । ‘हामीले हिमाली र उच्च पहाडी भागमा सरदरभन्दा बढी वर्षा हुने भनेर आकलन गरेका थियौं,’ कँडेलले भनिन्, ‘मनसुन प्रवेश हुनेबित्तिकै उच्च भागतिर बढी वर्षा भयो । सिन्धुपाल्चोकदेखि मुस्ताङसम्म उस्तै प्रकृतिको वर्षा रेकर्ड भएको छ ।’ यो वर्ष ठूलो विपद् निम्तिएको मेलम्ची क्षेत्रभन्दा माथिल्लो भागमा पनि मनसुन सुरु भएको भोलिपल्टै जेठ २९ मा ठूलो वर्षा भएको थियो । एकै पटक धेरै वर्षा हुने भएकाले विज्ञहरूले त्यस्तोलाई आरीघोप्टे वर्षा भनेका छन् ।

जेठ २९ मा सिन्धुपाल्चोकको सेर्माथान क्षेत्रमा २४ घण्टा अवधिमा ११०.२ मिमि वर्षा भएको थियो । त्यही दिन गुम्थाङ क्षेत्रमा ५० मिमि वर्षा भयो । धाप क्षेत्रमा असार ९ मा १०५ मिमि वर्षा भएको थियो । त्यहीं असार १७ मा ९०.६ मिमि वर्षा भएको रेकर्ड छ । हिमाली क्षेत्रका लागि त्यो ठूलो वर्षा हो । मनसुनअघिकै वर्षाले मनाङ र मुस्ताङमा जस्तै त्यहाँको माटो पनि कमजोर बनाइसकेको थियो । पछि थपिएको वर्षाले बाढीपहिरो निम्त्यायो । असार १ मा मेलम्ची बजारसम्मै ठूलो मात्रामा धनजनको क्षति भयो । साउन १६ मा भेमाथान र त्योभन्दा माथिबाट बगेर आएको गेग्रानले दोस्रो पटक तल्लो तटीय क्षेत्रका बस्ती र भौतिक संरचना ध्वस्त गरेको थियो । उक्त क्षेत्रमा ठूलो वर्षा भए तल्लो तटीय क्षेत्रमा अझै जोखिम रहेको विज्ञ बताउँछन् । असार १ मा गोरखाको बिरेनचोक क्षेत्रमा ९७.१ र असार २० मा ८७.६ मिमि वर्षा भएको थियो । त्यति बेला गोरखाको उत्तरी क्षेत्रमा भएको वर्षाले उत्तरी क्षेत्रका ३ हजार मिटरभन्दा माथिल्लो बस्तीमा धेरै पहिरो निम्त्याएको छ ।

वर्षाको चरित्र बदलिएका कारण यो वर्ष उच्च हिमाली भागमा अतिवृष्टि (एक्सट्रिम रेनफल) भएको विज्ञहरू बताउँछन् । विगतमा हिमाली क्षेत्रलाई मनसुन स्याडो क्षेत्र मानिए पनि यो वर्षको मनसुन सिधै हिमाली क्षेत्र सोझिएको जलवायुविज्ञ ङमिन्द्र दाहालले बताए । ‘चुरे, महाभारत हुँदै मध्यपहाडी क्षेत्रमा सक्रिय हुने मनसुन यसपालि सिधै हिमाली भागमा सक्रिय भएको छ, यो चाहिँ फरक चक्र हो,’ उनले भने, ‘हिउँ परे पनि पानी विरलै पानी पर्ने सिन्धुपाल्चोक, मनाङ, मुस्ताङका माथिल्ला भागमा भेलबाढी नै आयो, यो हाम्रा लागि राम्रो खबर होइन ।’ उनका अनुसार विगतमा पनि मनसुन अवधिमा अतिवृष्टि हुन्थ्यो । तर, अहिले त्यस्तो प्रकृतिको वर्षा हुने दिनको संख्या बढिरहेको छ । धेरै स्थानमा थोरै अवधिमा धेरै वर्षा (हेभी रेनफल) भएको उनले बताए । वार्षिक वर्षाको ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुन्छ भनिन्छ । ‘मनसुनमा हुने वर्षाको मात्रा ८० प्रतिशतभन्दा माथि गइरहेको छ र सुक्खा दिनहरू बढिरहेका छन्,’ उनले भने ।

१ मिनेटमा १ मिमि वर्षा हुनु भनेकै ठूलो वर्षा हो । १ मिमि वर्षा हुँदा पनि भल बग्छ । मौसमविद् कँडेलका अनुसार बतासा केन्द्रमा १० मिनेटमा २१ मिमिसम्म वर्षा भएको थियो । थोरै समयमा धेरै वर्षा भयो भने बाढी, पहिरो र डुबानको सम्भावना अत्यधिक हुन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अध्यक्ष अनिल पोखरेल गत वर्षको मनसुनसँग अहिलेको मनसुनी विपद् दाँज्दा मानवीय क्षति कम भएको देखिए पनि मनसुनी चरित्र बदलिएको बताउँछन् । ‘मनसुन सुरु भएको केही दिनमै हिमाली भागका ५ स्थानमा मिसाइल पड्काएजस्तै गरी मनसुनी विपद् निम्तियो,’ उनले भने, ‘एकै पटक उच्च भागमा भारी वर्षाका कारण भेलबाढीले क्षति निम्त्यायो, यसले मनसुनको चरित्र बदलेको पुष्टि हुन्छ ।’

विभागले २४ घण्टामा १५० मिमि वर्षाको सम्भावना भएमा सतर्कता अपनाउन सूचना जारी गर्न थालेको छ । कुनै ठाउँमा २४ घण्टामा १५० मिमि वर्षा भएमा त्यो क्षेत्रमा पहिरोको सम्भावना अत्यधिक हुने अध्ययनको निष्कर्ष छ । भूगोलविद् नरेन्द्रराज खनालका अनुसार हिमाली क्षेत्रमा १ सय मिमिभन्दा बढी वर्षा भएमा जोखिम बढी हुन्छ । विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत दीनानाथ भण्डारी हिउँको सट्टामा पानी पर्न थालेका क्षेत्र र त्यहाँबाट हुन सक्ने पहिरो र बाढीको जोखिमबारे तत्कालै गहन अध्ययन गरी जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा नसारिए ठूलो क्षति हुन सक्ने औंल्याउँछन् । ‘मेलम्ची र मनाङको बाढी निकट भविष्यमा हुन सक्ने ठूला प्राकृतिक प्रकोपहरूको पूर्वदृश्य हो,’ उनले भने, ‘हिमाली क्षेत्रका बाढीपहिरोबाट हुने जोखिम थाहा पाउन र जनधनको रक्षा गर्ने उपाय खोज्न ढिला नगरौं ।’

भूगोलविद् खनालका अनुसार २०५० साउन ४ मा अत्यधिक वर्षाकै कारण मकवानपुरको कुलेखानी क्षेत्रमा अत्याधिक मात्रामा गेग्रान जम्मा भएको थियो । गेग्रानले इन्द्रसरोवर भरिएको थियो । उक्त क्षेत्रमा २४ घण्टामा ५४० मिमि वर्षा भएको थियो ।बाढीले तल्लोतटीय क्षेत्रको वाग्मती ब्यारेज भत्काएको थियो । आसपसमा रौतहट र सर्लाहीसम्मै ठूलो क्षति गरेको थियो भने कैयौं स्थानमा ठूला पहिरो निम्त्याएको थियो । भूगर्भविद् शिव बाँस्कोटा उच्च हिमाली क्षेत्रमा मौसमी चक्रको परिणाम देखिन थालेकाले त्यस क्षेत्रमा हावापानीको बदलाव बुझ्न मौसममापन केन्द्र बिस्तार गर्न सुझाउँछन् । माथिल्लो तटीय क्षेत्रमा जलवायुजन्य गतिविधि बढ्दै गएकाले वैज्ञानिक अध्ययनका लागि अनुसन्धानको पाटोलाई ध्यान दिन उनको सुझाव छ । ‘पानी पर्ने प्रणाली नै बदलिएको छ, हिमक्षेत्रमा के कति पानी परिरहेको छ भन्ने बुझ्न उच्च भागहरूमा मापन केन्द्र बिस्तार गर्नु आवश्यक छ,’ उनले भने ।

विभागका महानिर्देशक सरजुकुमार वैद्य उच्च हिमाली भागमा वर्षाको अवस्था मापनका लागि केन्द्र राखिए पनि मौसमी गतिविधिका कारण चलाउन नसकिएको बताउँछन् । ‘तिब्बतसँग जोडिएका क्षेत्रमा छिनछिनमा मौसम बदलिरहने र तापक्रमसमेत कम हुने, आउजाउ महँगो हुने र अब्जर्भ गर्न नसकिने हुँदा मापन स्टेसन राखे पनि चलाउन गाह्रो छ,’ उनले भने, ‘स्याटेलाइट प्रणालीबाट अध्ययन गर्न सकिन्छ कि भनेर हामी अध्ययन गर्दै छौं ।’

प्रकाशित : भाद्र १६, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?