कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगु बस दुर्घटना : मृतकको संख्या २४ पुग्यो, १५ घाइते [अपडेट]

सुर्खेत र मुगु — मुगुको छायानाथरारा नगरपालिका–७ पिनाटप्लेखोलामा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या २४ पुगेको छ । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।  

मुगु बस दुर्घटना : मृतकको संख्या २४ पुग्यो, १५ घाइते [अपडेट]

जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए । दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको र थप २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार ७ महिला, १६ पुरुष र एउटा बच्चाको मृत्यु भएको छ । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको उनले जनाए ।

कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी भएको उनको भनाइ छ । ‘एकदमै अप्ठ्यारो ठाउँमा गाडी दुर्घटना भएको छ,’ उनले भने, ‘त्यसैले मानवीय क्षति धेरै देखियो’, उनले भने । घाइतेहरुमध्ये १४ जनालाई नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत उद्धार गरी सुर्खेत र नेपालगन्ज पुर्‍याइएको छ ।

प्रमुख जिल्ला अधिकारी महतका अनुसार बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । ‘ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ,’ उनले भने, ‘अहिले पनि उद्दारको काम जारी छ ।’ प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थीहरु बढी थिए । मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो ।

मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । तर अहिलेसम्म सडक साघुँरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ ।

प्रकाशित : आश्विन २६, २०७८ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?