कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘ओली चतुर खेलाडी, प्रचण्ड सबैलाई रिझाउने’

पूर्वभारतीय राजदूत रेको नजरमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वकाल नेपाल–भारत सम्बन्धको सबैभन्दा उर्वर
पूर्वभारतीय राजदूत रेको पुस्तकमा नेपालमा गढेको ‘एन्टी–इन्डियन’ मानसिकता, ‘चाइना–कार्ड’ र नेपाली नेताहरुको पीपलपाते चरित्र चित्रण गर्नैमा केन्द्रित छ
सन्धि–सम्झौता, नाकाबन्दी, प्रबुद्ध विज्ञ समूहको हैसियत र नेपालले बारम्बार पठाएका कूटनीतिक नोटलाई भने ‘कामचलाउ’ सम्बोधन
देवेन्द्र भट्टराई

काठमाडौँ — नेपालमा २०७२ सालमा आएको विध्वंसकारी भूकम्पलगत्तै भारतले ठूलो राहत र साथ–सहयोग दिएपछि पनि भारतविरोधी नेपाली मनस्थिति सेलाइसकेको थिएन । केही भारतीय मिडियाले देखाएको नेपाल–नेपालीको चित्रका कारण विपत्तिमा परेका नेपालीमा स्वभावैले आक्रोश थियो । त्यो बेला ‘ब्याक अफ इन्डियन मिडिया’ भन्दै चर्किएको विरोध सानो थिएन । भूकम्पको घटनालगत्तै तत्कालीन भारतीय राजदूत रञ्जित रे नेपालबारे ब्रिफिङ गर्न दिल्ली पुगेका थिए । दिल्लीको लोककल्याण मार्गको निवासमा भेट हुनासाथ प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो जिज्ञासा थियो, ‘किन उनीहरू हामीलाई मन पराउँदैनन् ?’

‘ओली चतुर खेलाडी, प्रचण्ड सबैलाई रिझाउने’

यही पृष्ठभूमिबाट छिरेर नेपालका लागि पूर्वराजदूत (२००२–२००६) रेले हालै प्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ मा आफूले भेट गरेका नेपालका विभिन्न नेता, प्रशासक र सर्वसाधारणसँगको सम्बन्ध र सन्दर्भलाई उधिनेका छन् । कूटनीतिको लवजभन्दा पनि ठाडो शैलीमा ‘नेपालीले भूगोलको स्वरूपसँग झगडा गर्न नमिल्ने’ भन्दै उनले नेपालका दुई पहिचान भगवान् बुद्ध र सर्वोच्च शिखर सगरमाथासमेत उत्तर–दक्षिणका दुई छिमेकीसँग ‘बाँडिएर बसेको’ उल्लेख गरेका छन् । सगरमाथा चीनसँग र बौद्ध सम्पदाको विशालता भारतसँग ‘सेयर’ भएर बसेको यथार्थलाई नेपाल र नेपालीले आत्मसात् गर्नैपर्ने उनको राय छ । लेखक रेले तत्कालीन उपराष्ट्रपति परमानन्द झाले २००८ जुलाईमा हिन्दीमा ओहोदाको शपथ लिएपछिको (अनावश्यक) विवाद र मधेस–तराईमा हिन्दीको ‘सम्पर्क भाषा’ सम्प्रभुतालाई स्मरण गराएका छन् । समझदारी र बुझाइका कतिपय साना विषयले पनि सम्बन्धको स्वरूपलाई बिगार्ने गरेको उदाहरणमा उनले ऋतिक रोशन, माधुरी दीक्षितका कारण उब्जेको असहज स्थितिसमेत स्मरण गरेका छन् ।

रेले सन् ७० दशकमा आएको ‘हरेराम हरेकृष्ण’ फिल्मदेखि पशुपतिनाथ–मुक्तिनाथसम्मको धार्मिक आकर्षणको नेपाल चिनारीलाई ‘अद्भुत’ भनेका छन् । उनले भारतीय सेनामा भर्ती हुन गएका गोर्खालीको सराहना गरेका छन् भने भारतमा निम्नकोटिको मजदुरी, भरिया, चौकीदारी गरिरहेका नेपालीको उल्लेख गरेर ‘नेपाली जाति वीर तर बुद्धु’ को बिम्ब सम्झाउन चाहेका छन् । उनले नेपालको मधेस/तराईमा बसिरहेका नेपालीबारे भारतीय समुदायले सही जानकारी राख्नै नसकेको स्विकारेका छन् । लेखकका अनुसार धेरै भारतीयले नेपालको मधेसमा रहेका नेपालीका यादव, महतो, ठाकुर जस्ता थर देखेर र हिन्दी भाषाको पकड देखेर उनीहरू भारतबाटै नेपाल गएका हुन् भन्ठान्ने गरेका छन् । ‘अच्छा तो आप नेपाल कब गए इन्डिया से ?’ भनेर मधेस/तराईका नेपालीलाई सोधिरहने गरेकोबारे आत्मालोचनाको शैलीमा उनले लेखेका छन् । ‘यहाँसम्म कि भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणपछि विदेशमन्त्री सुष्मा स्वराजले जनकपुरका बासिन्दा भारतीय डायस्पोरा सम्बद्ध रहेको भन्दै ट्वीट गरेपछि नेपालको विरोध आउनासाथै स्वराजले माफी मागेकी थिइन्,’ रेले पुस्तकमा सम्झेका छन् ।

यो पनि पढ्नुहोस् :

एक पटक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गर्न तत्कालीन राजदूत रे कोटेश्वरस्थित उनको निवासमा गएका थिए । त्यसबेला भारतीय विदेशमन्त्री स्वराजले ‘भारत नेपालको बिग–ब्रदर (ठूल्दाइ)’ नभई ‘आफ्नो भाइलाई हेरदेख गर्ने ‘एल्डर ब्रदर’ (जेठो दाजु) झैं रहेको भनेकाले काठमाडौंमा यसको विरोध मच्चिएको थियो । नेता नेपालले त्यतिबेला रेसँग पहिलो जिज्ञासा राखेका रहेछन्, ‘भारतले सधैं नेपाललाई जोडेर किन भाइभाइको रिस्ता भनिरहन्छ ? यो भाइभाइले दाजुभाइको सम्बन्ध भन्ने बुझिन्छ, नेपाल त भारतसँग समान हैसियतको मित्र बन्न चाहन्छ, कान्छो भाइ होइन ।’ नेपालमा बढेको चर्को राष्ट्रवादी सोच र भावनाकै बीच फुटबल म्याच खेल्न भारतबाट आएका खेलाडीलाई दशरथ रगशालाका दर्शकले ‘धोती’ भनेको र ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने अभियान काठमाडौंमा चलिरहँदा कतिपय सार्वजनिक समारोहमा आफू जानै नसकेको उदाहरण रेले पुस्तकमा दिएका छन् । यी पृष्ठभूमिका माझ ‘बुद्ध नेपालमै जन्मेका हुन्, बरु बौद्ध सभ्यता नेपाल–भारत दुवैतर्फ विस्तारित छन्’ भन्ने तहको पुस्ट्याइँ दिन लेखक रे पछि परेका छैनन् ।

नेपाल र भारतबीच सबैभन्दा ‘निकट र जटिल’ सम्बन्धको आयाम रहेको पक्षलाई केलाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा होइन, नेपालकै वीरगन्जछेउमा रहेको र योगको उत्पत्तिसमेत नेपालमै भएको भनेर प्रामाणिकभन्दा पनि ‘चरम राष्ट्रवादिता’ को उदाहरण दिइरहेको सन्दर्भ लेखकले बरोबर उल्लेख गरेका छन् । नेपालको पहिचान, राष्ट्रवादी अठोट र समवेत अवधारणाबारेको पहिलो खण्डमै रेले ‘भारतखण्ड’ को विशाल छातामुनि धर्म, संस्कृति, परम्परा, भाषासहितको समानतामाझ नेपाललाई के–कुन आधारमा ‘युनिक नेसन–स्टेट’ भन्न सकिएला (?) भन्ने बहस चलाएका छन् । कहिलेकाहीं यही समानताको कुरा जब उठ्छ, त्यही सन्दर्भ नै यदाकदा प्रत्युत्पादक बन्ने गरेको तर्कमा उनले जोड दिएका छन् । एक वा अनेक कारणले नेपालको युवा वर्गमा देखिएको ‘भारतविरोधी मानसिकता’ को सम्बोधन हुनुपर्ने र यसलाई बुझ्नैपर्ने सुझाव लेखक रेले नेपाल–भारत दुवैतर्फ दिएका छन् ।

रेले सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्व अवधि (२००३ जुन–२००४ जुन) लाई नेपाल–भारत सम्बन्धको सबैभन्दा उर्वर भनेर मूल्यांकन गरेका छन् । उनकै पालामा हुलाकी राजमार्ग, संयुक्त चेकपोस्ट (आईसीपी), संयुक्त सैन्य तालिम जस्ता दीर्घकालीन महत्त्वका योजना अघि बढेको रेले जनाएका छन् । नेपालमा सशस्त्र द्वन्द्वको अन्त्य हुनुपर्ने र माओवादीसँग वार्ता हुनुपर्ने पक्षमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह ‘अडिग’ रहेको उल्लेख गर्दै रेले भारतको ‘नेपाल नीति’ निर्माताका रूपमा तत्कालीन विदेश सचिव श्याम शरण र रअ प्रमुख होर्मिस थारकनलाई ‘क्रेडिट’ दिएका छन् । शरणलाई उनले भारत सरकारमा रहेका ‘मस्ट नलेजेबल’ (सबैभन्दा जानकार) भनेर दोहोर्‍याउँदै प्रशंसा गरेका छन् । आफू भारतको विदेश मन्त्रालयमा छँदै र पछि राजदूत भएर सन् २०१३ सेप्टेम्बरमा काठमाडौं आउनुअघि समेत नेपाली नेता अमरेशकुमार सिंहले थुप्रै नेपाली नेता र उच्च अधिकारीसँग सम्पर्क नवीकरण गराइदिएकामा कृतज्ञ भएर रेले सम्झेका छन् ।

प्रधानमन्त्री मोदीको २०१४ अगस्ट ३–४ को नेपाल भ्रमणअघि तत्कालीन राजदूत रेलाई नेपालको वस्तुस्थितिबारे ‘ब्रिफ’ गर्न दिल्ली बोलाइएको थियो । नेपालको संसद्मा प्रधानमन्त्री मोदीको मन्तव्य हुने भएकाले त्यसका लागि केही टिपोट तयार गर्ने काम साउथ ब्लकमा जारी थियो । संयोगले विदेश सचिव सुजाता सिंहसँग साउथ ब्लकमा कुराकानी भइरहेकै बेला रेलाई काठमाडौंबाट राष्ट्रपति रामवरण यादवको फोन आएको थियो, जसमा प्रधानमन्त्री मोदीले सार्वजनिक रूपमै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को शासकीय स्वरूपलाई संवर्द्धन गरिदिनुपर्ने आग्रह थियो । झन्डै एक घण्टाजति प्रत्यक्ष र एक्लाएक्लै भेटवार्ता भएपछि प्रधानमन्त्री मोदीले रेसँग जिज्ञासा राखेछन्, ‘नेपालमा कतिवटा शक्तिपीठ रहेका छन् ?’ रेसँग त्यति बेला जवाफ थिएन । ‘सर, आइ एम सरी, आइ डन्ट नो,’ राजदूतले तत्कालै जवाफ फर्काएका थिए र काठमाडौं पुगेर शक्तिपीठबारे सोधपुछ थालेका थिए । त्यसअघि एउटा अवसरमा दिल्ली पुगेका तत्कालीन सांसद चन्द्रमोहन यादव (राष्ट्रपति रामवरण पुत्र) ले प्रधानमन्त्री मोदीलाई भेट गरेर ‘साउने सोमबारको अवसर पारेर पशुपति दर्शनमा आउन उपयुक्त हुने’ भन्दै सुझाएका रहेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको २०७८ असोजमा हुने भनिएको भारत भ्रमणको तयारी अन्तिम अवस्थामा पुगेपछि एकाएक रद्द भएको थियो । रेका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रपतिको भ्रमण ‘अचानक’ स्थगन गरिदिएका थिए । ‘ओली सरकारविरुद्ध षड्यन्त्र भइरहेको छ, दिल्लीमा रहेका नेपाली राजदूत दीपकुमार उपाध्याय र काठमाडौंस्थित भारतीय राजदूत रञ्जित रे पश्चिम नेपालको कुनै स्थलमा गोप्य रूपमा भेटघाट गर्दै छन् भनेर एउटा प्रायोजित समाचार पनि बाहिर आयो,’ रेले पुस्तकमा लेखेका छन्, ‘खासमा हामी पश्चिम नेपालमा त्यहाँको पर्यटन विकास–प्रवर्द्धनका लागि जुटेका थियौं । यो समाचारलगत्तै ओली सरकारले राजदूत उपाध्यायलाई फिर्ता बोलायो पनि ।’

रेका अनुसार त्यहीबेला भारतीय टीभी च्यानलमा आएको एक प्रायोजित समाचारमा ‘प्रधानमन्त्री ओलीले भारतीय राजदूत रेलाई पर्सना ननग्राटासहित देश निकाला गर्दै छन्’ भनियो । ‘लगत्तै मलाई भारतीय विदेश सचिव जयशंकरको फोन आयो, यसबारेमा बुझ्नैका लागि । सचिवले भारत सरकारको राजदूत रेलाई पूर्ण साथ समर्थन रहेको र नेपाल सरकारले यस्तो कुनै कदम चालेमा त्यसको परिणाम देखा पर्ने भन्दै आश्वस्त बनाएका थिए,’ रेले पुस्तकमा लेखेका छन् । त्यसपछि आफूले तत्कालै तत्कालीन परराष्ट्रमन्त्री कमल थापालाई फोन गरेर यसबारे जानकारी दिएको र थापाले अनभिज्ञता रहेको बताउँदै तत्कालै ट्वीट गरेर यस्तो कुनै कदम चालिनेबारेको हल्लालाई ‘बदर’ गरेका थिए ।

माओवादी नेता पुष्पकमल दाहाललाई ‘करिश्मायुक्त नेता’ भन्दै रेले ‘यी मित्रवत् नेता’ पनि ‘सामुमा बसेको व्यक्ति जे जसरी खुसी हुन सक्छ, त्यसरी बोलिदिने र आफ्नो काम बनाउने’ भनेर घुमाउरो अर्थ लाग्ने गरी प्रशंसा गरेका छन् । ‘प्रचण्डले मलाई महिनौंसम्म भनिरहेका थिए, म प्रोगेसिभ नेता हुँ, मेरो एलायन्स कांग्रेस वा मधेसीजस्ता लोकतान्त्रिक पार्टीसँग मात्रै हुन्छ,’ रेले लेखेका छन्, ‘तर अन्ततः प्रचण्ड कट्टर परम्परावादी एमाले (ओली) सँग गएर मिसिए ।’ रेले प्रचण्डलाई तुलनात्मक रूपमा ‘सामान्य जीवनशैली’ भएका नेता भन्दै लैनचौरछेउको दाहाल निवासमा बिहान ८ बजेको समयमा धेरैपटक भेटघाट भएको र कहिलेकाहीं दाहाल परिवारसँगै खाना खाएको लेखेका छन् । ‘एकपटक विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदा नेता प्रचण्डसँग भेटवार्ता भएको थियो । त्यो भेटमा स्वराजले प्रचण्डतिर फर्केर आप तो हमारे कमल पुष्प है भन्दै दाहालको नाम भारतमा बीजेपी पार्टीको चिह्न रहेको किस्सा सुनाएकी थिइन् । यो सुनेर प्रचण्ड आनन्दित हुँदै मन्द मुस्कानमा हराइरहे,’ रेले पुस्तकमा लेखेका छन् ।

राजदूत रेले चीनले खेलेको भूमिकाकै कारण एमाले र माओवादीको संयुक्त सरकार बन्न सकेको र अन्ततः पार्टी एकीकरण हुन सकेको राय राखेका छन् । उनले नेता ओलीलाई ‘लार्जर देन लाइफ लिडर’ को उपमा दिएका छन् । ओलीको ‘चाइना कार्ड’ तथा ‘एन्टी–इन्डियन’ रणनीतिका कारण उनको सरकारसँग भारतको पछिल्लो समयको सम्बन्ध ‘पेन्डुलम’ झैं बनेको टिप्पणी गरेका छन् । उनले नेपालको शान्ति प्रकृयामा ओली कहिल्यै संलग्न नरहेको र बरु तत्कालीन एमाले महासचिव माधवकुमार नेपालको संलग्नता रहेको दाबी गरेका छन् । ‘मैले ओलीको आतिथ्य धेरैपटक पाएको छु, उहाँकै घरमा पनि श्रीमती राधिका शाक्यसहित पनि । एकपटक विद्या भण्डारीसहित नेता ओली र म बबरमहल रिभिजिटेडमा लन्चमा गएका थियौं,’ उनले लेखेका छन् । जे जस्तै असहमति र असहज स्थितिमाझ पनि नेता ओलीसँग आफ्नो संवादको ढोका सधैं खुला रहेको उल्लेख गर्दै रेले ‘ओली निवासमा मलाई स्वागत गर्न नचाहेका बेला र ओली इन्डिया हाउसमा आउन नचाहँदा हामी काठमाडौंमा एक व्यापारीको घरमा भेटघाट गर्ने गर्थ्यौं’ भनेर खुलासा गरेका छन् । ती व्यापारीका बारे भने विस्तृतमा केही लेखिएको छैन ।

उनले पूर्वप्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिका ‘सबैभन्दा चतुर खेलाडी’ भनेका छन् । महाकाली सन्धि (१९९६) भएताका भारतका सबैभन्दा ‘निकटतम मित्र’ ओली पछिल्ला समयमा ‘राष्ट्रवादी ओहोदा’ का कारण चिनिएको रेले उल्लेख गरेका छन् । कतिसम्म भने भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छविकै कारण ओली आफ्नो उपचारका लागि पनि पछिल्ला वर्षमा दिल्ली नगएर बैंकक वा सिंगापुर गइरहेको धारणा उनले राखेका छन् ।

पेन्गुइन बुक्सले निकालेको पुस्तकको एउटा खण्डमा ‘विवादास्पद सिमाना कालापानी, लिपुलेक र लिम्पियाधुरा’ बारे चर्चा गर्दै भारतीय भूमिलाई नेपालले अनधिकृत र अप्रमाणित ढंगमा आफ्नो राजनीतिक/भौगोलिक नक्सामा समेटेको भन्दै रेले भारतीय पक्षको सनातनी तर्क गरेका छन् । उनले पुस्तकमा आफ्नो राजदूत कार्यकालभन्दा अघि र पछिका (जारी कोभिड महामारीसम्मै) धेरैवटा घटनाक्रम बुनेर ‘काठमाडौं डिलेमा’ तयार गरेका छन् । ६५ वर्षे रे आफैंले ‘यो कुनै प्राज्ञिक वा विद्वत् काम होइन’ भन्दै कुनै ‘डायरी’ का भरमा होइन, बरु ‘मेमोरी’ का आधारमा यो वृत्तान्त लेखेको जनाएका छन् ।

रेले १९५० को सन्धि, सन्धि–सम्झौता परिमार्जनको सरोकार, नाकाबन्दी, प्रबुद्ध विज्ञ समूह (ईपीजी) को हैसियत र दार्चुला/महाकाली आसपासका घटनाक्रममा नेपालले दिल्लीमा बारम्बार पठाएका कूटनीतिक नोटलाई भने ‘कामचलाउ ढंग’ मा मात्रै सम्बोधन गरेका छन् । उनको पुस्तक नेपालमा गढेको ‘एन्टी–इन्डियन’ मानसिकता, ‘चाइना–कार्ड’ र नेपाली नेताहरूको पीपलपाते चरित्र चित्रण गर्नैमा बढी केन्द्रित छ । रेले नेपाल नीति र मामिलामा दिल्लीले राखेको दोधार र द्विविधा (डिलेमा) बारे कहींकतै केही भन्नै चाहेका छैनन् ।

प्रकाशित : आश्विन १८, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?