३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

सीता भण्डारी मृत्यु प्रकरणमा प्रहरी भन्छ, 'आत्महत्या नै हो'

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारी पौडेलको हत्या नभई आत्महत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । भदौ २० मा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी सीताको पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवललले घटना अनुसन्धान गरिरहेका छन् ।

सीता भण्डारी मृत्यु प्रकरणमा प्रहरी भन्छ, 'आत्महत्या नै हो'

अनुसन्धानमा मृतकको मोबाइलमा 'सुसाइड नोट' भेटिएको र त्यसले आत्महत्या पुष्टि गरेको प्रहरीले दावी गर्दै प्रहरीले प्रारम्भीक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । ‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले भने । अनुसन्धान अनुसार उक्त सुसाइड नोट राति साढे १२ बजे मोबाइलमा श्रीमानका नाममा लेखिएको थियो ।

मृतक सीता र उनका श्रीमान टीका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ। डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले लेखेको सुसाइड नोट प्राप्त भएको थियो । मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि पौडेलले श्रीमानलाई लेखेका एसएमएसहरूको परीक्षण गर्दा लेखाइको ढाँचा मिलेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

यसअघि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरे पनि आफन्त तथा स्थानीयले सीताको हत्या भएको दावी गर्दै आन्दोलन गरिरहेका थिए । यही कारण २७ दिनदेखि उनको शव उठेको छैन । सीता बिहान साढे ४ बजे आफन्त पुग्दा, झुण्डिएको पासो काटिएको र मुखभरी नीलडाम अवस्थामा आफ्नै कोठामा थिइन् । सीताको हत्या आरोपमा उनका पति टीका भण्डारी र आमाजु विष्णुविरुद्ध बाबु हरिप्रसादले भदौ २० मै किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी लिएको थिएन । माइती पक्ष आन्दोलनमा उत्रिएर प्रहरी कार्यालय घेराउदेखि सडक प्रद्धर्शन गरे । दबाब बढेपछि बल्ल भदौ २५ मा सीताका पति टीका र उनकी दिदी विष्णुलाई प्रहरीले हिरासतमा लिएको थियो । पोष्टमार्टममा सीताको झुण्डिएर मृत्यु भएको देखिएको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा लिएको थियो । मुद्दाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बाबु हरिप्रसादका अनुसार सीता र टीकाबीच २ वर्षअघि अर्थात् २०७६ असोज १८ मा मागी विवाह भएको हो । पाल्पा तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्ने उनीहरू तीज मनाउन भन्दै ६ गते घर तिलोत्तमा आएका थिए । सीता ७ भदौमा तिलोत्तमा–४ मा रहेको माइती गएकी थिइन् । भदौ १९ अर्थात् मृत्यु हुनुभन्दा १ दिनअघि श्रीमान् टीकाले भतिजको जन्मदिनको भोज छ भन्दै सीतालाई घर बोलाएका थिए । तर त्यसदिन जन्मदिनको भोज थिएन । २० गते बिहान ५ बजेतिर टीकाले नै ससूरा हरिप्रसादलाई जरुरी काम छ भन्दै आफ्नो घरमा बोलाएका थिए । हरिप्रसाद पुग्दा सीताको मृत्यु भइसकेको थियो । तर टीका घरमा थिएनन् । केही समयपछि उनी मदिरा सेवन गरेर आएका थिए ।

पछिल्लो समय परिवारमा सम्पत्ति बाँड्ने र रिसोर्ट चलाउनेबारे विवाद भएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । पौडेल दम्पती कोरोनाका कारण अफ्ठेरोमा परेको रिसोर्ट बेच्ने पक्षमा थिए । तर त्यस कुरालाई परिवारले इन्कार गरेका थिए । यही मामिलामा आमाजुले बिक्री नगर्ने र दम्पतीबीच फाटो ल्याउने काम गरेको अनुसन्धानमा देखिएको ईप्रका बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुंवरले बताए ।

भदौ १९ मा जेठाजु हरिप्रसादकी छोरीको जन्मदिन मनाउने क्रममा विष्णु माइत आएकी थिइन् भने सीता माइतबाट घर आएकी थिइन् । टीकाले मदिरा सेवन गरेका बेला पनि रिसोर्टबारे दम्पती र परिवारबीच विवाद भएको थियो । मदिरा सेवन गरेर तथानाम गाली गर्ने पतिबाट दिक्क भएर आत्महत्या रोजेको हुनसक्ने प्रहरी अनुसन्धानमा उल्लेख छ । टीका जाग्दा सीतालाई झुन्डिएको अवस्थामा देखेपछि भान्सा कोठाबाट चक्कु ल्याएर सलको पासो काटेर आफन्तलाई खबर गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : आश्विन १६, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?