कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले विधान महाधिवेशन : वैचारिक छलफल कि शक्ति प्रदर्शनमात्रै ?

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीका महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुँदा पार्टीका नीति, सिद्धान्त र विचारमा पर्याप्त छलफल हुन नपाएको भन्दै नेकपा एमालेले प्रथम विधान अधिवेशन आयोजना गरेको छ । तर, पार्टीको विधानमाथि छलफल गर्न आयोजित महाधिवेशनमा अहिलेसम्मकै धेरै प्रतिनिधिहरु बोलाइएका छन् ।

एमाले विधान महाधिवेशन : वैचारिक छलफल कि शक्ति प्रदर्शनमात्रै ?

जबकि ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज अन्तर्राष्ट्र्रिय सम्मेलन केन्द्रमा भइरहेको महाधिवेशनका दृश्य हेर्दा लाग्छ यो विधान महाधिवेशन होइन, ठूलो चुनावी सभा हो । ठूलो मेला, जात्रा वा महोत्सव हो ।

पार्टी विभाजन भएर संगठन र नेता कार्यकर्ता छताछुल्ल भएका बेला एमालेले विधान महाधिवेशन बोलाए पनि महाधिवेशनमा विधान र वैचारिक छलफल भने कम हुने देखिएको छ । एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनबाट पार्टी र आफ्नो पक्षमा थप शक्ति सञ्चय गर्ने कोशिस गरेका छन् ।

महाधिवेशनमा अध्यक्ष ओलीलाई थप देवत्वकरण गरिएको छ । गोदावरीस्थित महाधिवेशन स्थलमा मात्रै होइन, काठमाडौंदेखि नै सार्वजनिक स्थल र पोल–पोलमा ओलीको फोटो झुण्ड्याइएको छ । ओलीको प्रशंसा र भक्तिगान हुने गरी नाराहरु गुञ्जाइएका छन् । विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक विधान र नीतिगत छलफल गर्न अलग्गै महाधिवेशन आयोजना गरेको हो ।

एमाले विधान संशोधन प्रस्ताव : ५ उपाध्यक्ष, १ महासचिव र ६ सचिव, उपमहासचिव पद खारेज

विधान महाधिवेशन भनेर महत्त्व दिएर आयोजना गरे पनि त्यसबारे पर्याप्त छलफल गर्न नपाएको एमाले उपमहासविच घनश्याम भूसाल बताउँछन् । उनी आफैँ अहिलेको विधान महाधिवेशनलाई शक्ति प्रदर्शनका रुपमा बुझ्न सकिने बताउँछन् । ‘विधान अधिवेशन भनेर जुन महत्व दिएका छौँ, अब समयको हिसाबले वा विभिन्न कारणले दुर्भाग्य नै भन्नुपर्छ, हामीले विधानमा राखेको महत्वका हिसाबले हामीले समय दिएर मेहनत गर्न सकेनौँ । त्यसकारण अहिले पनि सकेसम्म छलफल हुनेछ । यसपछाडि यहाँ छलफलमा आएका विषयमा फेरि स्थायी कमिटीमा छलफल हुन्छ,’ भूसालले इकान्तिपुरसँग कुराकानीको क्रममा भने, ‘त्यसका साथै आगामी राष्ट्रिय महाधिवेशनमा पनि ती विषयहरुमा छलफल हुन्छ, त्यसपछि मात्रै टुंगोमा पुग्छौँ । त्यसैले यसलाई अहिले शक्तिप्रदर्शनकै रूपमा पनि बुझ्न सकिन्छ ।’

एमाले सचिव एवम् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि अहिले विधानमा पर्याप्त छलफल हुन नपाएको बताए । ‘हरेक हिसाबले मुलुकको परिस्थिति नयाँ छ । हामीले अहिले ठीक खालको राजनीतिक कार्यदिशा बनाउनुपर्ने छ । त्यही कुरा समेटिएको विधान निर्माण गर्न यो विधान महाधिवेशन गरिएको हो,’ सचिव आचार्यले इकान्तिपुरसँग भने, ‘हतार–हतारमा विधान महाधविशेन भयो । पर्याप्त छलफल गर्न सकेनौँ । यद्यपि यसले ठूलो संख्यामा साथीहरुमाझ छलफल र बहस हुन्छ । त्यहाँबाट सुझावहरु प्राप्त हुन्छन् । यहाँबाट आएका सुझावहरुलाई हामी फेरि स्थायी कमिटीमा बसेर छलफल गर्छौ । अन्य विषयमा आगामी राष्ट्रिय महाधिवेशन पनि छलफल भइहाल्छ ।’

विधान महाधिवेशनबाट विधानलाई टुंगोमा पुर्‍याउने विषयमा नेताहरु आफैँ विश्वस्त छैनन् । विधान महाधिवेशनमा वैधानिक छलफल कम हुनेमा उनीहरु ढुक्क देखिएका छन् ।

३ दिने विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १/१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेन्ट टाँगेर १ हजार जना अटाउने गरी हल तयार गरिएको छ । महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?