सीमास्तम्भ नपुगी टोली फिर्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमास्तम्भ नपुगी टोली फिर्ता

हेलिकोप्टरबाट पनि  निरीक्षण गर्न खोजियो तर मौसमी प्रतिकूलताले सकिएन । – जयप्रसाद आचार्यअध्ययन टोली संयोजक 
कृष्णप्रसाद गौतम, छपाल लामा

सुर्खेत, हुम्ला — गृहमन्त्रालयको नेपाल–चीन सीमा अध्ययन टोली ३ वटा सीमास्तम्भ नहेरी फर्किएको छ । भौगोलिक विकटता र मौसम प्रतिकूल हुँदा टोलीले हुम्लाको उत्तरी सीमामा रहेका ३, ४ र ११ नम्बर सीमास्तम्भको अध्ययन गर्न नसकेको हो । 

३ वटै सीमास्तम्भ समुद्र सतहदेखि ५२ सय मिटर उचाइका हुन् । ३ नम्बर सीमास्तम्भ बझाङको सिमानासँग जोडिएको छ भने ४ नम्बर स्तम्भ हिल्सामा र ११ नम्बर स्तम्भ हिल्सा–लिमी जाने बाटोमा छन् । सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय टोली गठन गरेको थियो ।

टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्र प्रहरीका एसएसपी प्रदीपकुमार पाललगायत सहभागी थिए । ‘पैदलमार्गबाटै जान खोजेका थियौं, तर हिउँले ढाकिएको, ठाडो बाटो भएको र सधैं बादल लागिरहने क्षेत्र भएकाले जान सकिएन,’ टोली संयोजक आचार्यले भने, ‘मौसम प्रतिकूलताका कारण हेलिकप्टरबाट पनि जान सकिएन । हामी (शुक्रबार) सुर्खेत फर्कियौं ।’

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाको नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा अध्ययन गर्न टोली खटिएको हो । टोलीले हुम्लाको सिमानामा पर्ने अन्य ७ वटा स्तम्भको भने स्थलगत अध्ययन गरेका थियो । १, २, ५, ६, ७, ८, ९, १० र १२ नम्बर सीमास्तम्भ अध्ययन गरिएको टोली प्रमुख आचार्यले बताए । उनका अनुसार यीमध्ये १२ नम्बर सीमास्तम्भ ५ हजार ४८ मिटरमा छ भने सबैभन्दा कम ९ नम्बर सीमास्तम्भ झन्डै ३६ सय मिटरको उचाइमा छ ।

२७ गते सिमकोट पुगेको टोली सिमकोटदेखि हल्जीसँग गाडीमा गएको थियो । अन्य ठाउँमा हिँड्नुपरेको थियो । १२ नम्बर सीमास्तम्भ अध्ययन गर्न बढी कठिन भएको टोलीले जनाएको छ । ‘त्यहाँ पुग्दा हावा लागिरहेको थियो, पानी पर्नेबित्तिकै हिउँ पर्न थाल्यो,’ संयोजक आचार्यले भने, ‘भूगोल पनि कठिन थियो ।’ उनका अनुसार समस्या भएको भनिएको सीमास्तम्भ पनि १२ नम्बर नै हो ।

टोलीले एक साताभित्रै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । गृहको टोलीले अध्ययन गर्न नसकेका सीमास्तम्भमा एक महिनाअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो । प्रहरीले त्यहाँ समस्या नभएको जनाएको आचार्यले बताए । टोलीले अध्ययन गरिएका सबै सीमास्तम्भको भौगोलिक अवस्थिति र सामाजिक अवस्थाबारे तथ्यांक लिएको जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

दुई ठूला अस्पतालबीचको ‘रोगी’ सडक

प्रसूति गृह र नर्भिक अस्पताल आउजाउ गर्ने बिरामीले दिनहुँ प्रयोग गर्ने बाटो धरापजस्तो, एक वर्षमा पनि सकिएन ३ किमि कालोपत्र
‘पानी परेको पर्‍यै छ, अहिले बेस हालेर काम गर्दा झन् हिलो हुन्छ, घाम लाग्नासाथ कालोपत्र थालिहाल्छौं ।’-अर्जुन कँडेल- प्रोप्राइटर, कँडेल निर्माण सेवा
विमल खतिवडा

काठमाडौँ — सुत्केरी होऊन् कि अन्य बिरामी । सर्वसाधारण, सरकारी कर्मचारी या अन्य पेसाकर्मी । थापाथली चोकबाट परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल वा नर्भिक हस्पिटल अनि बबरमहलतिरबाट भित्री बाटो भएर थापाथलीतिर यात्रा गर्नेहरूले यति बेला निकै कष्ट बेहोर्नुपर्छ । 

एक वर्ष भयो, यात्रुले यो सडकमा जाम र हिलो–धूलोको समस्या बेहोर्नुपरेको । साँघुरो सडक, त्यसमाथि कहिलेकाहीँ ट्राफिक जाम भइदिँदा जो कसैले समयमै गन्तव्य भेटाउँदैनन् । हिलो–धूलोले सडक अस्तव्यस्त त छ, कति पटक हिलोमा चिप्लिएर सर्वसाधारण लडेका पनि छन् । यहाँ व्यवसाय गरी बस्नेहरूलाई त सडकले झन् सास्ती दिएको छ । पानी पर्दा सडक पोखरीजस्तो बन्छ । त्यही पनि गाडीका टायरले छ्यापेर पसलभित्र समेत पुग्ने गरेको छ । घाम लागेका बेला मान्छे नदेखिने गरी धूलो उड्छ, त्यो पनि पस्ने पसलभित्रै हो ।

बबरमहलदेखि थापाथली चोकसम्म र माइतीघरदेखि सेन्ट जेभियर्स कलेज हुँदै प्रसूति गृहसम्मको करिब ३ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको एक वर्ष भइसकेको छ तर काम ४० प्रतिशत मात्रै सकिएको छ । थापाथली चोकदेखि प्रसूति गृहसम्मको बाटो त धरापजस्तै छ ।

काठमाडौं महानगरपालिकाका छोटो दूरीका भित्री सडक निर्माणको जिम्मा महानगरकै हो । महानगरले जयधनञ्जय–कँडेल जेभीलाई १० महिनामा काम सक्ने गरी २०७७ भदौमा ४ करोड २२ लाखमा ठेक्का लगाएको थियो । तर ठेक्का अवधि सकिएर महानगरले अर्को तीन महिना म्याद थपिसकेको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार त्यसमध्ये करिब ७० लाख रुपैयाँ भुक्तानीसमेत भइसकेको छ । ज्वाइन्ट ठेक्का भए पनि निर्माणको सबै काम कँडेल निर्माण सेवाले गरिरहेको छ । ठेक्का सम्झौताअनुसार दुई खण्डको सडक कालोपत्र, सडकका दुवैतर्फ कर्ब स्टोन राख्ने, नर्भिक अस्पतालअघि ढल व्यवस्थापन र सडकका दुवैतर्फ साइड ड्रेन बनाउनुपर्नेछ ।

सर्वसाधारण यो बाटो भएर पैदल हिँड्नु नपरोस् भन्ठान्छन् । व्यवसायी आत्तिएका छन् । प्रसूति गृहनजिकै बालबालिकाका सामान बिक्री गर्दै आएकी गमला खड्काले कपडाको धूलो टकटक्याइराख्नुपरेको गुनासो गरिन् । ‘धूलो उड्दा सास फेर्नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘पानी पर्दा हिलोसहितको लेदो पसलभित्र पस्छ । बिहान आएर हिलो पुछ्ने मात्र काम हुन्छ ।’

शुक्रबार बिहान यहाँ पुग्दा पनि सडकको करिब ७० मिटर दूरीमा पानी जमेको थियो । सर्वसाधारण हिलोमा सकसपूर्ण ओहोरदोहोर गरिरहेका थिए । तीव्र गतिमा सवारी हुइँकिँदा हिलो उछिट्टिने डरले सडक पेटीमा यात्रारत सर्वसाधारण त्रस्त देखिन्थे । थापाथलीबाट प्रसूति गृह हुँदै अघि बढेपछि सडक पेटीसमेत छैन । हिलोमै ओहोरदोहोर गर्नुपर्छ ।

चाँडै सडक निर्माण सकिदिन भन्दै सडक विभागलाई आग्रह गरिएको प्रसूति गृहकी निर्देशक संगीता मिश्रले बताइन् । विभागले भने उक्त सडक आफूहरूको कार्यक्षेत्रभित्र नपर्ने भन्दै काठमाडौं महानगरपालिका जान सुझायो । अस्पताल आउने बिरामी र सर्वसाधारणले सडककै कारण सास्ती भोगिरहेको प्रत्यक्ष देखेकी उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि भेटिन् । उनीसँग पनि उही आग्रह दोहोर्‍याइन् । शाक्यले चाँडै निर्माण सक्ने आश्वासन दिए तर सडकको अवस्था सुधारिएन ।

यो सडक महानगरपालिकाको ११ नम्बर वडामा पर्छ । यस वडाका अध्यक्ष हिरालाल तण्डुकार हुन् । पानीले गर्दा समयमै कालोपत्र गर्न नसकिएको उनको दाबी छ । ‘पानी नपरेको भए हिजोआज नै कालोपत्र भइसक्थ्यो,’ उनले भने । नेपाल विद्युत् प्राधिकरणले आगामी मंगलबारसम्म कालोपत्र नगर्न भनेको उनले जानकारी दिए । राम्रोसँग घाम लागेर जमिन सुक्नासाथ कालोपत्र गरिने उनको भनाइ छ । ‘दुई साताभित्र कालोपत्र भइसक्छ,’ उनले भने, ‘१०/१५ वर्ष टिक्ने गरी सडक बनाउनुपर्छ । त्यसैले मिहिनेत गरेरै कालोपत्रको काम गराउँछौं ।’

छोटो दूरीको सडक भए पनि सर्वसाधारणलाई सास्ती भने धेरै भएको उनले बताए । मेलम्ची खानेपानी आयोजनाको पाइप र विद्युत्, टेलिकमका तार भूमिगत गर्ने काम एकैसाथ गर्दा सडक निर्माणको काम रोकिएको तण्डुकारको भनाइ छ । ‘यो सडकबारे एकदमै धेरै गुनासा आएका छन्, सबैको गुनासो कहिले सडक बन्छ भन्ने नै छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणका तार भूमिगत गर्नुपर्दा काम ढिलो भएको हो, प्राधिकरणसँग समन्वय गरेरै काम गरिएको छ ।’ तार भूमिगत गर्ने काम सकिएपछि मात्र कालोपत्र गरिने डंगोलले बताए ।

असोजभित्रै सडक कालोपत्र गरिसकिने उनको दाबी छ । ‘अब पनि काम सकिएन भने ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुको विकल्प छैन,’ उनले भने । महानगरभित्र १ हजार ४ किमि सडक पर्छ । यसमध्ये १ हजार २ सय किमि महानगरले हेर्छ । ‘८ मिटरभन्दा कम चौडा भएका सडक हामीले हेर्छौं,’ उनले भने ।

यता कँडेल निर्माण सेवाका प्रोप्राइटर अर्जुन कँडेलले भने पुरानो कालोपत्र काटेर सम्याउने काम सकिएको जानकारी दिए । ‘पानी परेको पर्‍यै छ, अहिले बेस हालेर काम गर्दा झन् हिलो हुन्छ,’ उनले भने, ‘समस्या धेरै भएपछि रातिराति गरेर खाल्डाखुडी पुरेका छौं, सडकको लेभल मिलाएर कालोपत्र गर्न ठिक्क पारेका छौं ।’ उनले पनि असोजभित्र सबै काम सक्ने दाबी गरे । ‘तर पानी परिरहे केही कठिन पक्कै हुन्छ,’ उनले भने, ‘घाम लाग्नासाथ कालोपत्र थालिहाल्छौं ।’

प्रकाशित : आश्विन २, २०७८ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×