कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सत्ता–संघर्ष

त्यागकी लक्ष्मी : अष्टलक्ष्मी

हिजो केपी ओलीका कारण मुख्यमन्त्री पद नपाएकी उनले आज माधव नेपालका कारण पद त्याग्नुपर्ने अवस्था आउँदै छ
मणि दाहाल, बबिता शर्मा

काठमाडौँ — ठूलै राजनीतिक उथलपुथल नभए वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य चाँडै सत्ताबाट बाहिरिनेछिन् । विभाजन संघारमै पुगेको समयमा भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्य एक सातामै प्रदेशसभामा अल्पमतमा परेकी थिइन् । 

त्यागकी लक्ष्मी : अष्टलक्ष्मी

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले भदौ २ मा एकाएक दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । सर्वसम्मत रूपमा दलको नेता चुनिएको केही घण्टाभित्रै शाक्यले वाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । संघीय संरचनामा गएपछि पहिलो महिला मुख्यमन्त्रीको इतिहास रचेकी उनको एमाले विभाजनसँगै शासनको दिनगिन्ती पनि सुरु भएको हो ।

उनी संविधानको धारा १६८ (१) अनुसार बहुमतप्राप्त दलको संसदीय दलको नेताका रूपमा मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । उनी मुख्यमन्त्री हुँदा १ सय १० सदस्यीय प्रदेशसभामा एमाले सामान्य बहुमतमा थियो । एमालेका ५६ सांसदमध्ये १३ जना नवगठित नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेका छन् । जसले प्रदेशसभा त्रिशंकु बनेको छ । सबैभन्दा ठूलो दल एमाले ४३ सांसदमा खुम्चिएको छ । शाक्य अल्पमतमा परेकी छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको केन्द्रीय नेतृत्वले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

विग्रहको चुनाव

२०७४ माघ अन्तिम साता ललितपुरको च्यासलमा भएको संसदीय दलको चुनावमा शाक्य पराजित भएपछि एमालेभित्र विग्रहको बीउ रोपिएको थियो । २०७४ मंसिरमा भएको संघीय र प्रदेशसभा चुनावमा वाम गठबन्धनले प्राप्त गरेको सफलतापछि शक्तिशाली बनेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनेभन्दा पनि माधवकुमार नेपाल समूह मिलेर जाने पक्षमा थियो । नेपाल समूहले एमालेको भागमा परेका चारमध्ये प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री पाउने अपेक्षा गरेको थियो । एमाले र माओवादीबीच एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने गरी भागबन्डा भएको थियो ।

अध्यक्ष ओलीबाटै मुख्यमन्त्रीको आश्वासन पाएकी एमाले उपाध्यक्ष शाक्यले केन्द्रीय सदस्यसमेत नरहेका पौडेलबाट संसदीय दलको चुनावमा हारको सामना गर्नुपर्‍यो । ३४ मत ल्याउँदै पौडेल संसदीय दलको नेता चुनिँदा शाक्यले २४ मतमात्रै प्राप्त गरेकी थिइन् । प्रदेशसभाको चुनावमा एमालेबाट प्रदेशमा प्रतिस्पर्धा गर्नेमा शाक्य सबैभन्दा वरिष्ठ नेता थिइन् । उनी पार्टीको वाग्मती प्रदेशको इन्चार्जसमेत थिइन् । टिकट वितरणमा समेत उनको भूमिका थियो ।

एमाले र माओवादीको गठबन्धनले प्रदेशसभामा करिब दुई तिहाइ बहुमत ल्याउँदा शाक्य मुख्यमन्त्री हुने धेरैले अपेक्षा गरेका थिए । प्रदेशसभामा एमाले एक्लैको स्पष्ट बहुमत थियो । आमनिर्वाचनपछि सिर्जना भएको नयाँ परिस्थितिमा अध्यक्ष ओलीले पूरै पार्टीलाई एकढिक्का बनाएर लैजान्छन् भन्ने आशामा रहेको नेपाल समूहलाई शाक्यको पराजयले झस्काएको थियो ।

एकीकृत समाजवादीको मकवानपुर जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देल अहिलेको विग्रहको सुरुवात शाक्यको संसदीय दलमा पराजयसँग जोडिएको ठान्छिन् । ‘संसदीय दलको चुनाव हुँदा त्यतिबेला उहाँ पार्टीको सिनियर नेता हुनुहुन्थ्यो तर गुटबन्दीले गर्दा उहाँले हार्नुभयो । यो गलत भयो । गुट भएपछि पार्टीको विधि, पद्धति नहेर्ने त्यस्तो भएको थियो,’ सिग्देलले भनिन्, ‘खासमा नेकपा एमालेभित्र विग्रह सुरु भएकै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्न रोकेदेखि हो ।’

उनका अनुसार बैठकमा छलफल नगरी ओलीको एकलौटी निर्णयले पौडेललाई दलको नेतामा चुनिएको थियो । ‘अघिल्लो दिनसम्म एउटा मन्त्रालय वा सभामुख दिनुस् भनेर माग्न गएकालाई मुख्यमन्त्री बनाए, उहाँ मेरो मातहत जिल्ला कमिटीमा हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यो पार्टीभित्रको चरम गुटबन्दीको परिणाम थियो ।’

भदौ २ मा शाक्य मुख्यमन्त्री बन्दासम्म सिग्देल साथमै थिइन् । ‘त्यतिबेला पार्टीभित्रको लडाइँमा हामी अष्टतिर लाग्यौं,’ उनले भनिन्, ‘हिजो विधि, पद्धतिबाट पार्टी चल्नुपर्छ भन्ने लडाइँमा थियौं । उहाँ हाम्रो नेता हो । उहाँले दिएको निर्देशनअनुसार पार्टीमा काम गर्‍यौं । पछिल्लो समयमा आएर उहाँहरू विचारबाट विचलित हुनुभयो, हामी पछि लाग्न सकेनौं ।’ सिग्देलसहितका १३ सांसद एकीकृत समाजवादीमा लागेका छन् ।

पार्टी निर्माणका क्रममा शाक्यसँग सहकार्य गरेकी साहित्यकार सुलोचना मानन्धरले शाक्यलाई सुरुमै मुख्यमन्त्री बनाएको भए पार्टीमा अहिलेको झमेला नै नआउने बताइन् । ‘अहिले हाम्रो बाटो फरक छ, म साहित्यतिर लागें, अष्ट राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँलाई पहिले नै मुख्यमन्त्री बनाएको भए यो झमेला आउने थिएन होला,’ उनले भनिन्, ‘हुनुपर्ने बेलामा पार्टीले बनाएन । त्यसले ठूलै कष्ट दिन्छ जस्तो लागेको थियो, त्यस्तै भयो ।’

२०७४ मा संसदीय दलमा शाक्यको पराजयले एमालेभित्र मात्रै नभएर माधवकुमार नेपाल समूहभित्र पनि विग्रहको बीजारोपण गरेको थियो । एकीकृत समाजवादी गठनमा सहभागी नहुने कतिपय नेताले शाक्यको पराजयपछि पार्टी सञ्चालन गर्ने ओलीको कार्यशैलीप्रति आफ्नो फरकमत रहेको स्पष्ट सन्देश नेता नेपालले प्रवाह गर्न नसकेको आरोप लगाउने गरेका छन् ।

राष्ट्रपतिसँग टकराव

२०७४ फागुन २३ मा राष्ट्रपतिको चुनावका लागि उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठक लामो समयसम्म चल्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक राष्ट्रपतिमा दोहोरिन चाहेकी थिइन् । अध्यक्ष ओलीसहित धेरै नेता त्यसको पक्षमा थिए तर मध्यरातसम्म बैठकले औपचारिक निर्णय गर्न सकेको थिएन । त्यसको प्रमुख कारण थिइन्– शाक्य । शाक्यले आफूलाई मुख्यमन्त्री हुनबाट रोक्न ओलीमात्रै नभएर राष्ट्रपति भण्डारी नै लागेको आरोप सार्वजनिक रूपमा लगाएकी थिइन् । उनले भण्डारी पार्टीको गुटगत राजनीतिमा सक्रिय भएको भन्दै राष्ट्रपतिमा दोहोर्‍याउन नहुने अडान बैठकमा राखिन् ।

भण्डारीलाई पार्टी राजनीतिमा अब सक्रिय नहुन आग्रह गर्ने सहमति गर्दै दोस्रो पटक राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय बैठकले गरेको थियो । स्थायी कमिटीले भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरे पनि त्यसमा शाक्यको असन्तुष्टि कायम थियो । दुवै नेत्रीबीच एमालको भ्रातृ संगठन अखिल नेपाल महिला संघको नेतृत्वका विषयमा रहेको प्रतिस्पर्धासँग पनि जोडिएको थियो । दुवै नेत्री लामो समयदेखि फरक–फरक समूहमा सक्रिय रहँदै आएका छन् । नवौं महाधिवेशनमा पनि भिन्दाभिन्दै समूहबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । दुवै जना निर्वाचित पनि भएका थिए ।

लामो समय शाक्यसँग सहकार्य गरेर हाल नेकपा माओवादी केन्द्रमा रहेकी उर्मिला अर्याल राष्ट्रपति भण्डारी र शाक्यको योगदानको तुलना हुन नसक्ने बताउँछिन् । ‘विद्या भण्डारीभन्दा धेरै संघर्ष अष्टले गर्नुभएको हो, उहाँ सबै कुरा त्यागेर आउनुभएको हो । त्यो हिसाबले उहाँको प्रशंसा गर्छु । केपी कमरेडको चल्दासम्म सबै कुरा ओझेलमा पर्ने भए । धेरै महिला नेत्रीहरूले भण्डारीको अगाडिभन्दा पछाडि जानु ठीक ठाने,’ अर्यालले भनिन्, ‘अष्टचाहिँ त्यस्तो स्वभावको होइन । उहाँले त्यो खालको सोख पनि कहिल्यै खोज्नुभएन । त्याग गर्नुभयो । गरगहना सबै बुझाएर पार्टी बनाउन हिँडेको हो । त्यो हिसाबले अष्टको योगदान धेरै छ । मदन भण्डारीकी श्रीमती हुनुको लिगेसी र केपी कमरेडको आशीर्वाद विद्यालाई सधैंभरि रह्यो । त्यही कारणले माथि पुग्नुभएको हो ।’

मन्त्री अस्वीकारदेखि मुख्यमन्त्रीसम्म

पछिल्लो समय अध्यक्ष ओलीको चर्को आलोचकमध्येकी एक अष्टलक्ष्मी शाक्य धेरैलाई आश्चर्यमा पार्दै वाग्मती प्रदेशको मुख्यमन्त्री भइन् । पार्टी विभाजनमा लागिनन् । आफैंले दुःख गरेर निर्माण गरेको र अध्यक्ष ओलीसँगको मतभिन्नता मात्रैमा पार्टी फुटाउने अवस्था नभएको उनी बताउँछिन् । आफ्नो समूहका नेता नेपालसँग पनि उनले यही कुरा भनिन् ।

‘दुःख गरेर बनाएको पार्टी छोड्न हुँदैन कमरेड, नेतृत्व भनेको गौण हो, नेतृत्व परिवर्तन भयो, त्यसलाई सबैले स्वीकार गर्छ । नेतृत्व रूपान्तरण भएन भने त्यो विस्थापित हुन्छ । पार्टीलाई छोड्नु हुँदैन । नेकपा एमाले कम्युनिस्ट आन्दोलनको लोकप्रिय पार्टी हो । यस्तो पार्टीलाई सबै मिलेर बलियो बनाउनुपर्छ,’ उनले नेता नेपालसँग भनेको स्मरण गरिन्, ‘केपी कमरेडका कारणले पार्टी फुटाउनैपर्छ, अलग हुनैपर्छ भन्ने लागेन । केपीमा गलत सोच, विचारको विकास भयो होला । त्यसको आलोचना पनि गर्‍यौं । यो कुरालाई पार्टीभित्रै बसेर, आमनेसामने भएर आलोचना गर्नुपर्छ । वैचारिक संघर्ष गर्नुपर्छ ।’

करिब पाँच दशकको सक्रिय राजनीतिक जीवनमा दस वर्ष भूमिगत भएकी शाक्य समकालीन महिला नेत्रीहरूमा शीर्ष स्थानमा छिन् । एमालेभित्र मात्रै नभएर उनलाई नेपाली राजनीतिमै संघर्षशील महिला नेत्रीका रूपमा लिइन्छ । एमालेमै रहने र बहुमत गुमाउनै लागेको पार्टीबाट मुख्यमन्त्री बन्ने विषयलाई कतिपयले उनको निष्ठासँग पनि जोडेका छन् । तर, शाक्य यो आरोपमा सत्यता नभएको बताउँछिन् । ‘आरोप सत्य होइन, मुख्यमन्त्री पदमा जाने कि नजाने भनेर माधव कमरेडसँग पनि सल्लाह भएको हो । पदको भोको भएर हिँडेको होइन । केन्द्रमा पनि केपी कमरेडले एकपटक तपाईं मन्त्री हुनुपर्‍यो, मलाई सहयोग गर्नुस् भन्नुभएको थियो । त्यो बेला मैले अस्वीकार गरेको थिएँ,’ उनले भनिन्, ‘एउटै व्यक्तिलाई पटक–पटक मन्त्री, सांसद बनाउनु हुँदैन भनेर हाम्रा माननीयको नाम दिएँ । पदका लागि मरिहत्ते गर्ने भएको भए त्यतिबेलै छोड्ने थिइनँ । पदका लागि हुरुक्कै भएर हिँड्ने मेरो प्रवृत्ति छैन ।’

२०७२ मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा शाक्यले अस्वीकार गरेपछि शान्ता मानवीलाई मन्त्री बनाएको समाचार आएका थिए । लामो समय सँगै राजनीति गरेकी माओवादी केन्द्रकी नेत्री अर्याललाई पछिल्लो समय शाक्य मुख्यमन्त्री बनेको भने चित्त बुझेको छैन । ‘उहाँ मिहिनेती मान्छे हो, निरन्तरको संघर्ष, त्याग र बलिदान छ, पार्टीका लागि लगानी पनि लामै रह्यो, यो अवस्थामा आएर उहाँ मुख्यमन्त्री बनेको चाहिँ मलाई चित्त बुझेको छैन,’ उनले भनिन्, ‘शाक्यले एमालेमै रहने निर्णय लिए पनि मुख्यमन्त्रीमा नगएको भए हुन्थ्यो । आफ्नै पार्टीका मुख्यमन्त्री हटाएर त्यसकै लागि अडिएको रहेछ भन्नेजस्तो सन्देश गयो । मुख्यमन्त्री नपाएर मात्रै झगडा गरेको रहेछ भन्ने कुरालाई पुष्टि गरेजस्तो देखियो । मुख्यमन्त्री नभएको भए उहाँ माथि नै हुनुहुन्थ्यो ।’

अल्पमतमा परेकी शाक्यले विश्वासको मत लिने विषयमा खासै चासो नदेखाएको विपक्षीहरूको आरोप छ । विश्वासको मत लिनेभन्दा सरकारलाई पूर्णता दिने र नियुक्तिको विषयलाई प्राथमिकता दिएकी छन् । आफूले विश्वासको मत लिनेभन्दा पनि विपक्षी दलको अविश्वास प्रस्ताव आउला भन्ने अपेक्षा लिएको देखिन्छ । ‘मैले सजिलै राजीनामा किन दिन्छु र ? पहिला अविश्वास प्रस्ताव आउनुपर्‍यो । अहिलेसम्म त्यो गतिविधि देखिएको छैन । गठन हुँदा बहुमतबाट बनाएको सरकार हो । अहिले धेरै साथीहरू अलग हुनुभयो । बहुमतका लागि ५६ जना सांसद चाहिन्छ । त्यो पुग्ने अवस्था देखिएको छैन । कानुनी हिसाबले केही समस्या त आइहाल्यो । हेरौं न अब केन्द्रको स्थिति कस्तो हुन्छ पनि थाहा छैन,’ उनले भनिन्, ‘संस्कारयुक्त राजनीति गर्नुपर्छ । अविश्वास प्रस्ताव आयो वा विश्वासको मत नै लिनुपर्‍यो भने पनि बहुमत नपुग्दा सहज तरिकाले बिदा लिने ठूलो कुरा हैन ।’

अहिले पार्टीले दिएको जिम्मेवारीमा रहेको र प्रदेश सरकारले गर्नुपर्ने काम गर्ने उनले बताइन् । ‘मैले मन्त्रिपरिषद् विस्तार गरिसकेको छु, नीति योजना पनि बनाइसकेको छु, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीहरूले के गर्ने, के नगर्ने भनेर आचारसंहिता पनि बनाएको छु, जुन हिजो थिएन,’ उनले भनिन् । यसअघि नै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नोतर्फ नआए शाक्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिन नसक्ने बताइसकेका छन् । तर, शाक्यले मुख्यमन्त्रीकै लागि पार्टी नछाड्ने बताएकी छन् ।

सुधारको आशा

लामो समयदेखि निर्माण गरेको पार्टी विभाजनमा पुग्दा शाक्यलाई चित्त बुझेको छैन । उनलाई अध्यक्ष ओलीको कार्यशैली राम्रो लागेको थिएन तर अहिले अध्यक्ष ओलीमा केही सुधार हुँदै गएको र अझै सुध्रिँदै जानेमा आशावादी छिन् । ‘मान्छेहरूको आ–आफ्नै सोच र शैली छ । अहिले उहाँ सत्तामा हुनुहुन्न । आन्दोलन र सर्वोच्च अदालतमार्फत सत्ताबाट बाहिर आइसक्नुभयो । सत्तामा नभएपछि शक्ति पनि हुँदैन,’ शाक्यले भनिन्, ‘अहिले पार्टीको अध्यक्ष हुनुहुन्छ । अब उहाँ विस्तारै सच्चिएर अगाडि बढ्नुपर्छ । हिजोको भन्दा अलि फराकिलो भएको पनि देख्दै छु ।’

एमाले विभाजनलाई उनी कम्युनिस्ट आन्दोलनका लागि दुर्भाग्यपूर्ण मान्छिन् । ‘यो परिस्थिति नआएको भए हुन्थ्यो, साह्रै नराम्रो लागेको छ,’ उनले भनिन् ‘कम्युनिस्ट पार्टी बनाउन कति त्याग गर्नुपर्छ । मैले माधव कमरेडलाई प्रस्ट भनें– म फुटको पक्षमा हस्ताक्षर गर्न सक्दिनँ । तपाईंको पार्टीमा म लाग्दिनँ किनभने माले हुँदै एमालेसम्म आउँदा मैले घर, पढाइ, सम्पत्ति, बालबच्चा छोडें । सबै छोडेर २०३६ सालमा घरबाट भागें । त्यसपछि होलटाइमर भएर भूमिगत रूपमा दुःखकष्ट गरेर माले पार्टी बनाएको हो ।’

एमाले अध्यक्षमा पनि राम्रो र नराम्रो दुवै गुण रहेको उनको बुझाइ छ । ‘व्यक्ति भनेको उसको विचार, सोच, शैलीमा भर पर्छ । उसको आचरणमा भर पर्छ । यी सबै कुराले व्यक्ति कस्तो छ भन्ने मूल्यांकन हुन्छ । मान्छेको रूप र रङ हेरेर मात्रै पुग्दैन,’ उनले भनिन्, ‘उहाँले मन अझै फराकिलो बनाए हुन्थ्यो भन्ने लाग्छ । नेता भनेको सबैको प्रिय हुनुपर्छ, सबैलाई समेट्नुपर्छ । मेरो मान्छे तेरो मान्छे नभन्ने, यस्तो भन्ने हो भने त्यहाँ संकीर्णता जन्मिन्छ । पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने सवालमा समस्या आउँछ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालप्रति उनको अझै आशा र विश्वास छ । ‘उहाँ आदरणीय नेता हो । दुःखकष्ट गरेर कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको हो । झलनाथ कमरेड पनि त्यही हो । भूमिगतकालमा मलाई अगाडि बढाउन उहाँले धेरै मद्दत गर्नुभएको छ । यो बिर्सन हुँदैन,’ उनले भनिन् ।

प्रकाशित : भाद्र २७, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?