बझाङका १४ हजार परिवारलाई चरम खाद्य संकट, महिला–बालबालिका बढी मारमा- समाचार - कान्तिपुर समाचार

बझाङका १४ हजार परिवारलाई चरम खाद्य संकट, महिला–बालबालिका बढी मारमा

हिमाली तथा उच्च पहाडी भेगमा हिउँ कम पर्न थालेसँगै उत्पादन घट्दा विपन्न तथा गरिब परिवारलाई हातमुख जोर्नै मुस्किल
विद्या राई, वसन्तप्रताप सिंह

काठमाडौं, बझाङ — सिजनअनुसारको सागसब्जीले करेसाबारी हराभरा हुन्थ्यो । खेतमा लहलह धान, गहुँ मात्रै होइन गहत, मास, कला (केराउ), मुसुरो फल्थ्यो । बझाङको थलारा गाउँपालिका पाराकाट्नेकी देवकी विकको पाँच जनाको परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान समस्या थिएन । केही वर्षयता लगातार खडेरी पर्न थालेपछि उब्जनी घट्दै आयो । बिहान–बेलुकीको छाक टार्न विक परिवारलाई मुस्किल छ ।

‘बर्खामा पनि उब्जनी हुँदैन, हिउँदे बाली त झन् राम्रोसँग उम्रिनै छोड्यो,’ देवकीले भनिन्, ‘दालचामल, तरकारी सबै किनेरै खानुपर्ने अवस्था छ । मजदुरी गरौं भने काम पाइँदैन, बड्डा (श्रीमान्) इन्डिया गएका छन् ।’ कुराकानीको क्रममा उनले सुत्केरी अवस्थामा पोसिलो खाना नपाएका कारण आफ्नो स्वास्थ्य बिग्रिएको सुनाइन् । पछिल्लो पटक (पाँच वर्षअघि) सुत्केरी हुँदा पोसिलो खानेकुरा पुगेन । माछा, मासु, फलफूल, तरकारी किनेर खान पैसा थिएन । उमेरले ३३ वर्ष पुगेकी उनलाई अचेल शरीर कमजोर भएको महसुस हुन्छ । कहिलेकाहीँ सहनै नसक्ने गरी पिठ्युँ र कम्मर दुख्छ । हातखुट्टा सुनिन्छ । आँखा तिर्मिराउने हुन्छ । चार वर्षको छोरोलाई पनि बेलाबेला झाडापखालाले सताउँछ ।

दिनदिनै कमजोर हुन थालेपछि उनी छोरो लिएर स्वास्थ्य चौकी गइन् । सुत्केरी हुँदा पर्याप्त खाना र स्याहार नपुगेकाले आमाछोरालाई स्वास्थ्यमा समस्या देखिएको स्वास्थ्यकर्मीले बताए । हरियो तरकारी, सागसब्जी, सिजनअनुसारका फलफूल खान सुझाए । राम्रो वर्षा भयो भने असार, साउन र भदौमा फर्सीका मुन्टा, रायो सप्रिन्छ । बाँकी नौ महिना बारी सुक्खा हुन्छ । रिपोर्टिङको क्रममा उनी स्थानीय विद्यालय भवन मर्मतका लागि ढुंगा ओसार्दै गर्दा भेटिएकी थिइन् । यसबाट कमाएको पैसाले चामल किन्ने र केटाकेटीको लुगा फेरिदिने उनले सुनाइन् । बिहान उठेदेखि घाम नडुबेसम्म खेतबारीमा काम गर्ने उनी अचेल सडक खन्ने, ढुंगा, गिट्टी, बालुवा बोक्ने काम गर्छिन् । बारीमा उत्पादन राम्रो हुँदा उनी गहुँ, जौ, मुसुरोलगायत सिजनअनुसारका बाली काट्ने, चुट्ने, छ्वाली र भुस्सा थन्काउने काममा गर्थिन् । कुटे, कोदालो, आँसी (हँसिया) चलाउने हातले अचेल दिनहुँ घन, साबेल, बेल्चा उठाउँछन् । खानकै दु:खले उनका श्रीमान्ले भारतमा मजदुरी जान थालेको १० वर्ष भयो ।

जयपृथ्वी नगरपालिका–१ कैलाशकी रुमला विष्टको परिवार पनि उही चपेटामा छ । १५ वर्षअघि हरेक साल हिउँदमा गराका फाँट हिउँले सेताम्मे हुन्थे । हिउँपानीले पुग्ने गरी जमिन भिज्थ्यो । एक सिजनमा उनी १५/२० क्विन्टल गहुँ बेच्थिन् । परिवारका सबैलाई लुगा र नुनतेलको खर्च यसैबाट उठ्थ्यो । बबेनी फाँटमा पछिल्ला वर्ष प्रत्येक हिउँदमा बाँझै हुन्छ । ‘हिउँ पर्न छोड्यो, जग्गा बाँझै छ,’ रुमलाले दुखित हुँदै भनिन्, ‘अहिले आफैंलाई खान किन्नुपर्ने बाध्यता छ ।’

उनीजस्तै यस गाउँका करिब १ सय ५० परिवारको पाँच सय रोपनीभन्दा बढी जग्गामा हिउँदमा खेती हुन छाडेको १५ वर्षभन्दा बढी भइसकेको छ । पहिला वर्षभरि खाएर बढी भएको बेच्नेहरु पनि अहिले किनेर खान बाध्य छन् । थोरै खेतबारी हुनेलाई त झन् समस्या भएको छ । २०५० सालसम्म पनि फाँटमा ‘मान्छे डुबाउने हिउँ’ पर्ने गरेको ७० वर्षीया रेलकला सिंहलाई अझै सम्झना छ । ‘अचेल के भयो कुन्नी हिउँ पर्नै छोड्यो, खेतीपाती पनि हुनै छाड्यो,’ उनले भनिन् ।

देवकी, रुमला र रेलकलाको कथाले समयमा पानी नपर्ने, हिउँ कम पर्नेजस्ता जलवायु परिवर्तनका कारण बढ्दै गएको भोकमरीलाई उजागर गर्छ । साथै, भोक मेटाउनकै लागि वर्षेनी हजारौं संख्यामा मजदुरीका लागि भारत पस्ने बझाङीहरुको तितो यथार्थलाई देखाउँछ । ‘हाम्रोजस्तो कृषिमा निर्भर देशमा खाद्य संकट निम्तिनुमा जलवायु परिर्वतनको महत्त्वपूर्ण भूमिका छ,’ वन तथा वातावरण मन्त्रालयकी सहसचिव तथा जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख राधा वाग्ले भन्छिन्, ‘हामीसँग बाली लगाउने, खाद्य भण्डारण गर्ने परम्परागत ज्ञान र अभ्यास छ तर वर्षात हुने चक्र फेरिँदा परिवर्तित मौसम अनुकूलन गर्न सक्दैनौं, यसले महिला र बालबालिकाको पौष्टिक आहारमा कमी ल्याउँछ, स्वास्थ्यमा असर पुर्‍याउँछ ।’

जिल्ला अस्पताल बझाङका डा. योगेन्द्र खातीका अनुसार पर्याप्त पोसिलो खाना नपुगेर बझाङका गर्भवती, सुत्केरी, पाँच वर्षमुनिका बच्चा र किशोरी कुपोषणको समस्याले ग्रस्त छन् । युनिसेफ नेपाल, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९’ ले सुदूरपश्चिममा पाँच वर्षमुनिका बालबालिकामा ५ प्रतिशतले पुड्कोपन वृद्धि भएको देखाएको छ । यहाँ पाँच वर्षमुनिका ४१ प्रतिशतमा पुड्कोपन छ । ‘राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६’ मा पुड्कोपन भएका बालबालिका ३६ प्रतिशत थिए । सन् २०१६ को भन्दा सन् २०१९ मा सुदूपश्चिममा ५ प्रतिशतले पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपन र कम तौल बढेको छ ।

सुदूरपश्चिम प्रदेशमा पर्ने बझाङको ८० प्रतिशतभन्दा बढी भूभाग उच्च पहाडी र हिमाली क्षेत्रमा पर्छ । तल्लो भेगमा हिउँ पर्न छोडे पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले पनि हिमपात हुन्छ । तर पहिलेको तुलनामा निकै कम छ । हिउँ पर्न छोडे पछि यसको सोझो असर खेतीपातीमा परेको छ । ‘हिउँ पर्न छोडेपछि हाम्रो पालिकाको ५० प्रतिशतभन्दा बढी जमिन हिउँदमा बाँझै हुने गरेको छ,’ बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले भनिन् । समयमा पानी नपर्ने, लामो समय खडेरी पर्ने, जमिन भिज्ने गरी हिउँ नपर्ने कारण बालीनालीमा लाग्ने रोग र किराहरुको प्रकोप बढ्दै गएको किसानहरुको अनुभव छ । रातो कमिला, धिउरा (धमिरा), खुर्मुला जस्ता किराले बालीनाली सखाप पार्ने गरेका छन् । कालोकिट, सिन्दूरे, पहेंले जस्ता रोगले हिउँदे बालीमा समस्या पार्ने गरेको छ । खडेरीकै कारण गाउँमा खुर्सानी खेती हुन छाडेको वर्षांै भइसक्यो । ‘सुरुमा राम्रोसँग हुर्किएको खुर्सानी फूल फुल्ने बेला ओइलिएर मर्छ, माटो खनेर हेर्दा लार्भा जस्तो कालो किरा भेटिन्छ तर विषादीले पनि नियन्त्रण भएन,’ बित्थडचिरकी मनसरा खडायतले भनिन्, ‘हामीले खुर्सानी लगाउनै छोडेको १० वर्ष पुग्यो ।’

लामो खडेरीको चपेटामा परेका किसानलाई असिनापानीले पनि दु:ख दिने गरेको छ । बझाङमा पोहोर वैशाखमा एक्कासि ठूलो असिना पर्‍यो । सिँचाइ भएका ठाउँमा फलेका गहुँ, जौ, मुसुरोलगायत बालीमा क्षति पुग्यो । भर्खरै फुलेका स्याउ, नास्पाती, आँप, आरू लगायतका फलफूल र तरकारी बाली पनि नष्ट भए । ‘खडेरीले उसै पनि हिउँदे बाली सखाप पारिसकेको थियो, बचेको गहुँ र जौ पनि चुटेर ध्वस्त बनायो,’ कैलाशका किसान कला विष्टले भनिन् । कृषि तथा खाद्य सुरक्षा अनुसन्धानकर्ता सुजाता तामाङको बुझाइ पनि त्यस्तै छ । महिला, सीमान्तकृत समुदायहरु प्रत्यक्ष रूपमा खेतीपातीमा निर्भर छन् । उनीहरुमै जमिनमाथिको पहुँच कम छ ।

खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको एक टोलीका अनुसार सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीले नराम्ररी असर पारेको छ । ‘९० प्रतिशतभन्दा बढी किसानले हिउंदेबाली देख्नसमेत पाउन छाडेका छन्,’ सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजकसमेत रहेका अध्ययन टोलीका सदस्य बलबहादुर रोकायाले भने, ‘कृषिकै भरमा जीवन चलाइरहेका सयौं परिवार यो वर्ष भोकमरीको चपेटामा पर्ने देखिन्छ ।’ कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्टका अनुसार यो वर्ष खडेरीका कारण उत्पादन शून्य भएपछि १४ हजार परिवारले चरम खाद्य संकट बेहोरिरहेका छन् । जिल्लाभर १५ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा गहुँ, जौ, केराउ, मसुरो, तोरीलगायतको खेती गरिएकामा ६ हजार २ सय २४ हेक्टर क्षेत्रफलको उत्पादन शून्य रहेको ज्ञान केन्द्रको तथ्यांक छ । खडेरीका कारण ३२ करोड ६७ लाख ६० हजार बराबरको ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली नष्ट भएको छ । यहाँ सामान्य अवस्थामा वार्षिक उत्पादन ३२ हजार मेट्रिक टन हुने गर्छ । गत वर्ष जिल्लामा उत्पादित खाद्यान्नले नपुगेर ७ हजार मेट्रिक टन अपुग भएको थियो ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को ‘विश्वका बालबालिकाको अवस्था २०१९ : बालबालिका, खाना र पोषण’ प्रतिवेदनले नेपालमा गरिबी, सहरीकरण, जलवायु परिवर्तन र कमसल खानेकुराले गर्दा ४३ प्रतिशत बालबालिका कुपोषित रहेको र दुई वर्षमुनिका दुईमध्ये एक बालबालिकाले कमसल खाना खाने गरेको देखाएको छ । ‘खडेरीका कारण कृषिमा ८० प्रतिशत नोक्सानी पुग्छ, यसले बालबालिका र परिवारका लागि उपलब्ध खानेकुरासँगै त्यसको गुणस्तर र मूल्यमा पनि नाटकीय प्रभाव पार्दछ,’ प्रतिवेदनमा भनिएको छ । कुपोषणको सबैभन्दा ठूलो भार गरिब र सीमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरीमा छ । सबैभन्दा गरिब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाउँछन् ।

बझाङमा खाद्य संकटको कारण खडेरी मात्रै होइन । कमजोर र भिरालो भूबनोट पनि रहेको बझाङका भौगर्भिक इन्जिनियर कमल थापा बताउँछन् । ‘विकासको नाममा जथाभावी सडक खन्न डोजर प्रयोग गर्दा भूबनोट झन् कमजोर भइरहेको हुन्छ, त्यहीमाथि लामो समयपछि एक्कैचोटी ठूलो पानी पर्दा घर, खेत र बस्ती बगाउने गरी पहिरो जान्छ,’ उनले भने । २०७७ असार १९ गते केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा यस्तै भयो । अचानक मध्यरातमा आएको पहिरोमा परेर ७० परिवारको बसोबास रहेको २२ घरमा पूर्ण रूपमा क्षति भयो । खेती गर्ने जग्गा जमिन बग्यो भने सात जनाले ज्यान गुमाए । सुरेश जेठारा पहिरोले बचेको पाँच आना जति जग्गामा टहरो लगाएर बसेका छन् । ‘पहिरोले तरकारी लगाउने सडो (सानो करेसो) पनि बाँकी रहेन, सधैं किनेर खान सकिँदैन,’ उनले दुखेसो पोखे । वातावरणीय पक्षलाई ख्याल नगरी सडक निर्माण हुँदा ८ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको कृषि ज्ञान केन्द्र बझाङको तथ्यांक छ ।

खेती हुन छाडेपछि कमाउन भारत गएकाहरुलाई कोरोना महामारीले सताएको छ । थलारा गाउँपालिकाका मदन नेपाली २०७६ को दसंैतिहार मनाएर मंसिरमा मजदुरी गर्न भारत गए । पाँच महिना नबित्दै कोरोना महामारीले टिक्न दिएन । उनी होटलमा भाँडा माझ्ने काम गर्थे । महामारीले गर्दा होटल बन्द भए । काम खुल्ला भन्ने आसैआसमा पहिलो पाँच महिना बिताए । अलिअलि भएको पैसा पनि सकियो । महामारीको संक्रमण झन् बढेपछि घर फर्किए । उनैमाथि भर परेर बसेका परिवार खानकै पिरलो छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) मा जलवायु परिवर्तन तथा खाद्य सुरक्षा कार्यक्रमको संयोजक प्रगति शर्मा भन्छिन्, ‘उनीहरु मात्रै होइन, खाद्य संकट टार्न परदेशिएकाहरु कोरोना महामारीले रित्तो हात फर्कंदा सुदूरपश्चिम तथा देशभरि भोकमरीको जोखिम बढेको छ ।’

१६ वर्षदेखि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएकी विज्ञ कृष्णा कार्कीले जलवायु परिवर्तनलाई अनुकूलन र न्यूनीकरणमा सरकारले पर्याप्त अध्ययन गरेर कृषि क्षेत्रमा लागू गर्नुपर्ने बताइन् ।

प्रकाशित : भाद्र २३, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री शाक्य

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । नेकपा एमाले औपचारिक रूपमा विभाजनपश्चात् गठन भएको नेकपा (एकीकृत समाजवादी) मा आफ्नो पार्टीका १३ सांसद आबद्ध भएसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

अल्पमतमा परेको सरकारले पाँच मन्त्री र चार राज्यमन्त्री विस्तार गर्न लागेको एमाले मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । शाक्यले मुख्यमन्त्रीको शपथ लिएसँगै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । तर, उनले नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा (एस) रोज्दै पदबाट राजीनामा दिएका थिए । हाल वाग्मती प्रदेशमा दुई सदस्यीय मन्त्रीमण्डल छ । ‘अब ११ सदस्यीय मन्त्रिपरिषद् हुनेछ,’ निरौलाले भने ।

स्रोतका अनुसार रचना खड्का, प्रदीप कटुवाल क्षेत्री, शान्तिप्रसाद पौडेल, डा. अजयक्रान्ति शाक्य र विजय सुवेदी मन्त्रीको रुपमा शपथ ग्रहण गर्दैछन् । जुनेली श्रेष्ठ, जीवन खड्का, बद्री मैनाली र सरस्वती बाटीले राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने बुझिएको छ ।

‘मन्त्री र राज्यमन्त्रीको नाम अझै हेरफेर भइरहेको छ । १२ बजे संसदीय दलको बैठक बसेर अन्तिम सूची तयारी गर्ने भनिएको छ,’ एक सांसदले भने ।

प्रकाशित : भाद्र २३, २०७८ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×