कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
दार्चुला तुइन प्रकरण

एसएसबीको संलग्नता किटान गर्दै भारतलाई पत्र

दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्ति माग, अनुमति लिएर मात्र नेपाली आकाशमा हेलिकोप्टर उडाउन ध्यानाकर्षण
मातृका दाहाल

काठमाडौँ — सरकारले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीमा खसाउने घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको किटान गरेको छ । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन उद्धरण गर्दै सरकारले एसएसबीको ‘उपस्थिति र संलग्नतामा’ तुइन घटना भएको जानकारी भारतलाई दिएको छ ।

एसएसबीको संलग्नता किटान गर्दै भारतलाई पत्र

गृहको छानबिन समितिले नै एसएसबीको ‘संलग्नता’ बारे प्रस्ट लेखे पनि गृहको विज्ञप्तिमा भने ‘उपस्थिति’ मात्र भनिएकाले प्रतिवेदनमाथि आशंका उठेको थियो । तर, परराष्ट्रले शुक्रबार नेपालस्थित भारतीय दूतावासमार्फत पठाएका दुवै कूटनीतिक नोट कान्तिपुरले प्राप्त गरेको छ ।

‘नेपाल सरकार, परराष्ट्र मन्त्रालय काठमाडौंस्थित भारतीय दूतावासलाई यो जानकारी गराउँदछ कि दार्चुलाको व्यास गाउँपालिका–२ निवासी नेपाली नागरिक जयसिंह धामी २०२१ जुलाई ३० मा तुइनमार्फत नेपालको मालघाटबाट भारततर्फ महाकाली नदी पार गर्ने क्रममा खसेका हुन्,’ नोटमा भनिएको छ, ‘उक्त घटनाबारे अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीको भनाइ, परिस्थिति र तथ्यहरूका आधारमा उनी बेपत्ता भएको विषयमा बुझाएको प्रतिवेदनमा उक्त घटना सशस्त्र सीमा बल (एसएसबी) को उपस्थिति र संलग्नता (प्रेजेन्स एन्ड इन्भल्भमेन्ट) मा भएको परराष्ट्र मन्त्रालय जानकारी गराउँदछ ।’

तुइन घटनाको पाँच सातापछि भारतलाई पत्र

छानबिन समितिले नै एसएसबीको संलग्नता प्रस्ट पार्दै भारततर्फबाट समेत अनुसन्धान गरी कारबाही र क्षतिपूर्तिको पहल गर्न सिफारिस गरेको थियो । नोटमा भनिएको छ, ‘यस घटनामा एसएसबीको संलग्नताबारे विस्तृत अनुसन्धान गरी घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न तथा पीडितको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन परराष्ट्र मन्त्रालय आग्रह गर्दछ ।’

साउन १५ मा व्यास गाउँपालिका–२ माल (खाङदाङ) का ३३ वर्षीय धामी महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइनको लट्ठा खुस्काइदिएपछि नदीमा खसेर हराएका थिए । लगत्तै परिवारले घटनाको अनुसन्धान गर्न तुइन टाँगिएको भारततर्फको गस्कु नजिकै पाङला प्रहरी चौकीमा जाहेरी दियो । तर, त्यसमा प्रहरीले अनुसन्धान नै गरेन ।

त्यही दिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले बेपत्ताको खोजी र घटनामा एसएसबीको संलग्नताबारे अनुसन्धानमा सहयोग गर्न पिथौरागढस्थित भारतीय जिल्लाधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) लाई पत्र पठाएको थियो । भोलिपल्ट साउन १६ मा जिल्लाधिकारी आनन्द स्वरूपले आफ्नो पक्षको संलग्नता इन्कार गर्दै ‘जयसिंह धामी आत्तिएर आफैं खसेको’ दाबी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ पठाए । भारतीय प्रशासनले नेपाली पक्षलाई अनुसन्धानमा नै असहयोग गर्‍यो ।

तुइनपछि हेलिकोप्टर, प्रतिक्रियाविहीन सरकार

साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले सत्यतथ्य पत्ता लगाउन सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । धामीको खोजी गर्न महाकाली नदीको दुवै किनारामा ड्रोन उडाउन सहमति माग्दै दार्चुला प्रशासनले साउन २३ मा पठाएको पत्रको जवाफ पिथौरागढ प्रशासनले अहिलेसम्म दिएको छैन ।

यता गृहको छानबिन समितिले भदौ १५ मा गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनले घटनामा एसएसबीको संलग्नता किटान गरेपछि दोषीलाई कारबाही गराउन तथा पीडित परिवारका लागि क्षतिपूर्ति भराउन गृह मन्त्रालयले भदौ १७ मा परराष्ट्रलाई पत्र पठाएको थियो । त्यसकै आधारमा परराष्ट्रले कूटनीतिक नोट पठाएको हो । भारतले बिनाअनुमति नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा पनि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको छ ।

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर

यस्तो घटना भविष्यमा हुन नदिन भारतको ध्यानाकर्षण पनि गराइएको छ । ‘अनुमति नलिई तथा समन्वय नगरी भारतीय गैरसैनिक हेलिकोप्टर नेपालको दार्चुलास्थित गुरु गोरख गुल्मको मुख्यालय खलंगा ब्यारेकमाथिको आकाशमा नियमित रूपमा उडाइएको विषयमा नेपाल सरकारका सरोकारवाला निकायद्वारा चासो व्यक्त भएकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय काठमाडौंस्थित भारतीय दूतावासलाई जानकारी गराउँदछ,’ नोटमा भनिएको छ, ‘त्यसैले, भारत सरकारको सम्बद्ध निकायलाई यसबारे जानकारी गराउन र नेपाली आकाश प्रयोग गर्नुअघि आवश्यक अनुमति लिन सुझाव दिन भारतीय दूतावासलाई परराष्ट्र मन्त्रालय आग्रह गर्दछ ।’

महाकाली नदी वारि नेपालको दार्चुलाका पाँच वटा गाउँपालिका हुँदै भारतीय हेलिकोप्टर निरन्तर उड्न थालेपछि सेनाले आपत्ति जनाउँदै रोक्ने गरी पहल गर्न दार्चुला प्रशासनलाई पत्र लेखेको थियो । गृहमा पत्रको बोधार्थ दिइए पनि गृह मन्त्रालयबाट कूटनीतिक पहल नै भएन । बरु, भारतीय हेलिकोप्टर खलंगास्थित गुरु गोरख गुल्म हेडक्वार्टरमाथिको आकाशबाट उड्ने क्रम नरोकिएपछि जिल्ला प्रशासनले पिथौरागढलाई आपत्ति जनाउँदै पत्र पठाएको थियो । त्यसको बोधार्थ गृहमा पठाइयो ।

नेपाली आकाशमा हेलिकोप्टर उडेको भिडियो र तस्बिरसहित शुक्रबार कान्तिपुरले समाचार प्रकाशित गर्‍यो । सोही दिन गृहले परराष्ट्रमा पत्र पठाएको थियो । त्यसकै आधारमा परराष्ट्रले भदौ २० मा नेपालस्थित दूतावासमार्फत भारतलाई पठाएको हो ।

प्रकाशित : भाद्र २३, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?