कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तुइनपछि हेलिकोप्टर, प्रतिक्रियाविहीन सरकार 

सेनाले पनि जनायो आपत्ति, रक्षा हुँदै परराष्ट्रमार्फत तत्कालै पहल गर्न आग्रह 
भारतसँग जवाफ माग्न गृहले परराष्ट्रलाई लेख्यो पत्र, दोषीलाई कारबाही गराउन ध्यानाकर्षण
परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्ना नागरिक महाकालीमा बेपत्ता भएको विषयमा एक महिनासम्म भारतलाई जानकारीसमेत गराएका छैनन्, त्यसमाथि हेलिकोप्टर प्रकरण थपिएको छ
मातृका दाहाल

काठमाडौँ — भारतले दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर उडाएको विषयमा सर्वत्र आलोचना भएको छ । यसबारेमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न गृह मन्त्रालय र नेपाली सेनाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तर, तुइन प्रकरणमै कूटनीतिक नोट पठाउन अलमलिएको सरकारले हेलिकोप्टर प्रकरणलाई कसरी लिने हो ? स्पष्ट भइसकेको छैन । 

तुइनपछि हेलिकोप्टर, प्रतिक्रियाविहीन सरकार 

गुरु गोरख गुल्म हेडक्वार्टरमाथि भारतीय हेलिकोप्टर पटक–पटक उडाइएकामा नेपाली सेनाले गम्भीर सरोकार राखेको छ । यस विषयमा सेनाका उच्च अधिकारीहरूले शुक्रबार जंगीअड्डामा छलफल गर्दै रक्षा मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराउने निष्कर्ष निकालेका छन् ।

‘हेलिकोप्टर अनधिकृत रूपमा सीमावारि आएको मात्र होइन, पटक–पटक ब्यारेकमाथि उडेको विषयमा ब्यारेकले हेडक्वार्टरलाई जानकारी गराएको थियो,’ छलफलमा सहभागी एक सैनिक अधिकारीले कान्तिपुरसँग भने, ‘यो गम्भीर विषय हो, यस्ता गतिविधि रोक्ने विषयमा आधिकारिक संयन्त्रमार्फत आवश्यक पहल गरिनेछ ।’ सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

गृह मन्त्रालयले पनि भारतसँग जवाफ माग्न परराष्ट्र मन्त्रालयलाई शुक्रबार नै पत्र पठाएको छ । गृहसचिव टेकनारायण पाण्डेले परराष्ट्रलाई पत्र पठाउनुअघि गृहमन्त्री बालकृष्ण खाँण र सम्बन्धित सुरक्षा अधिकारीसँग छलफल गरेका थिए । भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेको विषयमा भारत सरकारसँग असन्तुष्टि जनाउन र त्यस विषयमा संलग्नलाई कारबाही गराउने कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको गृहका एक अधिकारीले बताए ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नेपाली आकाश हुँदै अनधिकृत रूपमा हेलिकोप्टर उडाएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताए । ‘नेपालको स्वीकृति र अनुमतिबेगर भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेको भनेर कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा सरकार गम्भीर र संवेदनशील छ,’ उनले भने, ‘सरकार चुप लागेर बसेको छैन, आफ्नो जिम्मेवारी निर्वाह गर्छ ।’

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर

पत्रसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढस्थित भारतीय प्रशासनलाई पठाएको पत्रको बोधार्थ राखिएको छ । भारतीय हेलिकोप्टर खलंगामाथिको नेपाली आकाश हुँदै पटक–पटक ओहोरदोहोर गरेपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिद्धराज जोशीले आपत्ति जनाउँदै बिहीबार पिथौरागढस्थित डिस्ट्रिक्ट मेजिस्ट्रेट (जिल्ला अधिकारी) लाई पत्र पठाएका थिए ।

भारतीय हेलिकोप्टर केही दिनयता दार्चुलाको नेपाली आकाशमा निरन्तर उडेको विषयमा शुक्रबार कान्तिपुरमा समाचार प्रकाशित भएपछि राजनीतिक दलका नेता–कार्यकर्ता, विभिन्न पेसाकर्मी/बुद्धिजीवी, सर्वसाधारणलगायतले भारतीय प्रवृत्तिको विरोध गरेका छन् । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थीले शुक्रबार काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनसमेत गरेका छन् ।

दार्चुलाका प्रजिअ सिद्धराज जोशीले शुक्रबार भने हेलिकोप्टर नेपाली आकाशमा प्रवेश नगरेको जानकारी दिए । ‘हिजोसम्म महाकालीवारि नेपाली आकाशबाट हेलिकोप्टर आइरहेको थियो । शुक्रबार भने आफ्नो क्षेत्रमा मात्रै ओहोरदोहोर गरेको देखियो,’ उनले भने । उनका अनुसार दुई सातायता भारतीय हेलिकोप्टर नेपालको लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिकाका क्षेत्रमा पटक–पटक उडाइएको थियो ।

भारतीय हेलिकोप्टरको अनधिकृत उडान तत्काल रोक्न पहल गर्न भन्दै सेनाको ब्यारेकले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो । यो विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले भारतीय शैलीको भर्त्सना गर्दै यस्ता गतिविधि रोक्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो । प्रशासनले यो विषयमा जानकारी दिन गृह मन्त्रालयलाई पत्र लेखेको थियो भने नेपाली आकाशमा अनधिकृत उडान रोक्न भारतीय जिल्ला अधिकारीको कार्यालयलाई पत्र लेखेको थियो । तर भारतीय प्रशासनले शुक्रबार बेलुकासम्म पत्रको जवाफ दिएको छैन ।

प्रकाशित : भाद्र १९, २०७८ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?