पर्वत पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो [अपडेट]- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्वत पहिरो : मृत्यु हुनेको संख्या ११ पुग्यो [अपडेट]

लालप्रसाद शर्मा, अगन्धर तिवारी

पोखरा, पर्वत — पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

कुश्मा–११ पकुवा ताल्चेमा पहिरोमा बेपत्ता ७० वर्षीया डल्ली पाध्या पौडेलको शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको हो ।

मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी विमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीका डीएसपी मिनबहादुर घलेले बताए ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको घलेले बताए । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ ।

प्रकाशित : भाद्र १८, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा खोलाले बगाएका ६ जनाको सकुशल उद्धार

सम्झना रसाइली

तनहुँ — भिमाद नगरपालिका–६ स्थित मालेबगरमा शुक्रबार खोलाले बगाएका ६ जनालाई सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग १ च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि सबैलाई प्रहरीले उद्धार गरेको थियो ।

जिपमा सवार एक महिला, चार पुरुष र एक बालकलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका बताए । उनले भने, ‘घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा छ ।’

बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित : भाद्र १८, २०७८ १३:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×