कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीबीच घरमै इद

कपिलवस्तु, रुपन्देही — जैतुन निशाले इमाम अहमद बिन हम्बल (बड्की मस्जिद) पुगेर नमाज नपढेको दुई वर्ष भयो । यस पटक भने परिवारसँगै घरमै बसेर नमाज पढिन् । अल्लाहसँग छिटो कोरोना संक्रमण अन्त्यको कामना गरिन् । ‘अर्को वर्ष सद्भाव साटेर मनाउन पाइयोस् भनेर प्रार्थना पनि गरें,’ कपिलवस्तु–५ की उनले सुनाइन् । 

महामारीबीच घरमै इद

कृष्णनगर–३ लक्ष्मीनगरकी फातमा मिर्जालाई घर सुनसान हुँदा खल्लो लाग्छ । कोरोना महामारीले दुई वर्षदेखि चाडमा कसैलाई बोलाउन पाएकी छैनन् । संक्रमण छल्न परिवारसँग बसेरै अल्लाहसँग छिटो महामारी रोकियोस् भनेर कामना गरेको उनले बताइन् ।

मुलुककै दोस्रो मुस्लिम बहुल जिल्ला कपिलवस्तुमा मुस्लिम समुदायका व्यक्तिले घरभित्रै नमाज पढेका छन् । पहिलो दिन बिहान नुहाइधुवाइ गरी नयाँ कपडा लगाए । बास्नादार अत्तर छर्के । घरमै विशेष नमाज पाठ गरेपछि अभिभावकसँग आशीर्वाद लिए । अँगालोमा बेरिएर शुभकामना आदानप्रदान गरे । दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) मा इदगाह, मस्जिदमा उनीहरू सामूहिक नमाज पढ्न गएनन् । जिल्लामा भीडभाड गर्न नपाउने गरी निषेधाज्ञा जारी छ ।

रूपन्देहीको सिद्धार्थनगर–९ का ५० वर्षीय फजिज अहमद पर्वका दिन बिहानै उठेर इदगाहमा नमाज पढ्थे । यस पटक उनी त्यहाँ जान पाएनन् । वर्षको दुई पटक पर्ने ठूला इदमा मस्जिद वा इदगाहा जान नपाउनु मुस्लिम धर्मावलम्बीका लागि पीडाको विषय भएको उनले बताए । ‘सामूहिक नमाज वाचन र भोजन गरी हर्षोल्लासका साथ पर्व मनाउँथ्यौं,’ उनले भने, ‘दुई वर्ष भयो, घरमै नमाज पढ्ने र परिवारसँग रमाउने ।’

अल्लाहको आदेशमा इब्राहिमले छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान इस्माइललाई कुर्बानी गर्नॅपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

कोरोनाको डरले मस्जिदमा जम्मा भई नमाज पढ्न नपाएपछि घरमै नमाज पढ्दै बुटवलका मुस्लिम धर्मावलम्बी । तस्बिर : सन्जु/कान्तिपुर

इद–उल–फित्रको ठीक २ महिना १० दिनमा मनाइने पर्वको ठूलो महत्त्व भएको राष्ट्रिय मुस्लिम आयोग सदस्य हाजी मिर्जा अरशद बेगले बताए । अरू दिन फजिर, जोहर, अस्र, मग्रिव र इसाका नामबाट पाँच पटक नमाज पढिन्छ । तर, बकर इदको दिन पाँच पटकमा एउटा थप वाजिव नमाज पनि पढेर मुसलमान समुदायले आ–आफ्नो घरमा खसी, राँगा र भेंडा बलि दिई खुसियाली मनाउने उनले बताए । कुर्बानीको मासु तीन भागमा छुट्याई वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग आफैंले खानुपर्ने चलन छ ।

यो पर्वमा कोही पनि मासु खानबाट वञ्चित नहोस् भन्ने मान्यता रहेको छ । बुटवलमा ७ सय मुस्लिम परिवार रहेको मदिन मदरसा मस्जिद प्रबन्ध परिषद् बुटवल–५ का सचिव जमिल मियाँले बताए । एक सय जना अटाउने क्षमता रहेको मस्जिदमा बुधबार २५ जना पदाधिकारी मात्र उपस्थित भई नमाज पढेर शुभकामना आदानप्रदान गरेको उनले बताए ।

प्रकाशित : श्रावण ७, २०७८ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?