कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसिड जलनको जोखिममा कामदार

एसिड प्रयोग हुने उद्योग, कारखानामा न कामदारको बिमा छ न मापदण्ड पालना
प्रेम वा अन्य प्रतिशोधका कारण हुने एसिड प्रहारका घटना सार्वजनिक हुने गरे पनि कार्यस्थलमा हुने असावधानी वा दुर्घटना विरलै बाहिर आउँछन् 

काठमाडौँ — बौद्ध सिमलटारका रमेश गजमेर चार महिनायता केही दिन बिराएर सुष्मा कोइराला मेमोरियल अस्पताल धाइरहेका छन् । फागुन १५ को त्यो घटना नभइदिएको भए उनी धातुबाट बुद्धका मूर्ति, पाला, मानेलगायत सामग्री बनाउने आफ्नै कारखानामा काम गरिरहेका हुने थिए । असावधानीले अनुहारमा एसिड परेयता उनले उपचारको दौडधुपमा दुई लाख रुपैयाँभन्दा धेरै सके नै, एसिडको जलनले दिएको अथाह छटपटी पनि भोगे ।

एसिड जलनको जोखिममा कामदार

धातुका सामग्री टल्काउन प्रयोग हुने एसिडको बिक्रीवितरणमा सरकारले कडाइ गरेपछि उनी सुनको जलप लगाउने काम गर्ने आरुबारीका साथीकहाँ एसिड लिन पुगेका थिए । साथीले ठूलै जर्किनमा किनेर राखेको एसिड लिन उनी अरू बेलाजस्तै सिसाको बोतल लिएर गएका थिए । तर त्यहीं पुगेपछि उनले थाहा पाए, बोतलमा त बिर्को नै थिएन । साथीले पानीको बोतलमा दिएको एसिड बोकेर कारखाना आएपछि उनले बिर्को के खोलेका थिए, एसिड माथिसम्मै उछिट्टिने गरी बाहिर आयो र अनुहारमा परिहाल्यो ।

एसिडको जलनमा उनले हारगुहार गरे । परिवारका सदस्यले अत्तरखेलको मेडिकल कलेज पुर्‍याए । उसले थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज रेफर गरिदियो । तीन दिन अस्पतालमा बसेर उपचार गरेपछि थोरै सुधार आयो । त्यसयता उनी हरेक साता फिजियोथेरापी गर्न सुष्मा कोइराला मेमोरियल अस्पताल धाइरहेका छन् । ‘एसिडले दाहिने आँखामा गहिरो चोट पारेको छ । आँखा राम्ररी देख्दिन,’ उनले सुनाए । उपचारमा संग्लन चिकित्सकहरूले उनलाई आँखा पूरै निको हुन ६/७ महिना र अनुहारको जलन मात्रै निको हुन कम्तीमा २ वर्ष लाग्ने बताएका छन् । ‘आफ्नै गल्तीले अनुहारमा एसिड पर्‍यो । सायद मेरो पुरानो अनुहार कहिल्यै फिर्ता पाउँदिन होला,’ गजमेर निराश सुनिए ।

सामान्यतः प्रेम वा अन्य प्रतिशोधका कारण हुने एसिड प्रहारका घटना सार्वजनिक हुने गरे पनि कार्यस्थलमा हुने असावधानी वा दुर्घटनाका कारण एसिडको जलन भोग्न बाध्य हुने यस्ता घटना विरलै बाहिर आउँछन् । सानै उमेरदेखि धातुको काम गर्न थालेका गजमेरले ८ वर्षअघि बाबु बितेपछि भाइसँग मिलेर कारखाना सम्हालिरहेका छन् । भने, ‘मजस्तै सानो कारखाना चलाउनेहरू सयौं छन् । तीमध्ये धेरैजसो न दर्ता छन् न त्यहाँ कार्यरत कामदारको दुर्घटना बिमा नै गरिएको छ ।’ एसिड जलनमा परेकाहरूका लागि सहयोगमा सक्रिय उज्ज्वलविक्रम थापाका अनुसार धातुका सामग्री बनाउने, सुनचाँदीको काम गर्ने र दूध संकलन गर्ने डेरीमा एसिडको प्रयोग भइरहेको देखिन्छ । ‘तर यस्तो क्षेत्रमा काम गर्नेहरूको बिमा छैन । उनीहरूले एसिडको प्रयोग व्यवस्थित तरिकाले गरिरहेको पनि देखिँदैन,’ उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यका अनुसार सुनचाँदी तथा रत्न क्षेत्रमा करिब डेढ लाख कालिगड छन् । तीमध्ये ७५ प्रतिशत भारतीय हुन् । ती कालिगड सीपअनुसार ज्यालादारीमा काम गर्छन् । जसले गर्दा बिमा हुन नसकेको शाक्यले बताए । ‘सुनचाँदी जोड्न र सफा गर्न एसिड नभई हुँदैन । एसिड नहुँदा पुरानो गहना, धातु, पित्तल रिफाइन हुँदैन,’ उनले भने, ‘पसलका कर्मचारी तलबमा हुन्छन् तर उत्पादनमा काम गर्ने कालिगड आफ्नो सीप र कामअनुसार कमाउँछन् । जति काम गर्‍यो ज्याला जम्मा हुँदै आउँछ । बिमा हुँदैन ।’

भारतीय कालिगडको ठेगाना र रासनकार्डलगायत परिचयपत्रसमेत उपलब्ध हुँदैन । नेपाली नागरिक नभएकै कारण बिमाको शुल्क सबै पसलले तिर्न नसक्ने शाक्यले बताए । ‘विदेशमा कार्यविधि छ, नियन्त्रण गरिरहेको हुन्छ तर नेपाल सरकारले त्यो गरेको छैन,’ उनले भने । सुनचाँदी क्षेत्रजस्तै हस्तकला क्षेत्रमा पनि एसिडको प्रयोग व्यापक हुन्छ । श्रमिक पनि लाखौं छन् तर उनीहरूको पनि बिमा भएको हुँदैन ।

गजमेरका अनुसार यो क्षेत्रका कामदारहरूको सुरक्षा प्राथमिकतामा नपर्ने भएकाले यस्तो दुर्घटनाको जोखिम सधैं रहन्छ । उनलाई लाग्छ, सरकारले एसिडको बिक्रीवितरणमा कडाइ गरेपछि यसको असुरक्षित ओसारपसारको जोखिम झनै बढेको छ ।

गोकर्णेश्वरबाट सुन्ताखाना जाने बाटोमै पर्ने जेनिश ह्यान्डिक्राफ्टमा काम गर्ने रमेश रम्तेलले गत चैत अन्तिम साता सँगै काम गर्ने बुद्धि विकमाथि एसिड छ्यापे । तामाको भाँडा टल्काउन एसिड ब्रस गरिरहेका विकलाई नजिकै रहेका एक बालकले जिस्किँदै पानी छ्यापिदिए । रिसाउँदै बुद्धिले ती बालकलाई हकारे । नजिकै रहेका रम्तेल रिसाउँदै आएर ‘हाम्रो भाइलाई किन थर्काको ?’ भन्न थाले । त्यही झोंकमा विकसँग उनको विवाद सुरु भयो ।

एकैछिनमा रम्तेलले नजिकै रहेको एसिडको बट्टाले उनलाई हिर्काए । एसिड प्रयोग हुने कारखाना अति प्रज्वलनशील रसायनको व्यवस्थित भण्डारण नहुँदाको परिणाम थियो यो घटना । शंखरापुर नगरपालिका–१ स्थित सरस्वती दुग्ध उत्पादक सहकारी संस्थाको आँगनमा गत चैत १६ मा स–साना बालबालिका होली खेल्दै थिए । दूधको फ्याट नाप्ने सल्फ्युरिक एसिडलाई पानी ठानेर छ्याप्दा ९ र ११ वर्षका दुई बालक र १६ वर्षकी एक बालिका घाइते भए । यस्तै घटना गत वर्ष काभ्रेको बेथानचोक गाउँपालिका–२ मा पनि भयो । स्थानीय दूध संकलनकर्ता नवराज तिमल्सेनाले बियरको बोतलमा राखेको एसिड झुक्किएर २ वर्षीय बालक सम्पर्द तिमल्सेनामाथि पर्‍यो । एसिडको जलनपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।

नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले थोरै परिमाणमा भए पनि ल्याबमा एसिड अनिवार्य चाहिने बताए । केही उद्योगमा कर्मचारीको बिमा गरिए पनि ल्याबकै लागि भनेर छुट्टै बिमा नहुने उनको भनाइ छ । ‘डेरी क्षेत्रमा करिब ३० हजारले रोजगारी पाएका छन् । औपचारिक रूपमा करिब ४ सयले ल्याबमा काम गर्छन्,’ उनले भने, ‘अनौपचारिकको तथ्यांक नै भएन । उनीहरू एक हजारभन्दा बढी छन् ।’

मन्त्रिपरिषद्ले गत असोज १२ मा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी अध्यादेश २०७७ जारी गरेको थियो । नाइट्रिक, सल्फ्युरिक र हाइड्रोक्लोरिक एसिड लगायतका तेजाबजन्य र ज्वलनशील रासायनिक पर्दाथ दुरुपयोग गरे संशोधित कानुन आकर्षित हुने उल्लेख छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, प्रयोग, बिक्रीवितरण तथा विसर्जन गर्ने कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुका स्वास्थ्य र अन्य जैविक वा गैरजैविक वस्तुलाई पर्ने प्रतिकूल प्रभावलाई निवारण गर्ने कुरा अध्यादेशको प्रस्तावनामा उल्लेख छ ।

अध्यादेशअनुसार अनुमतिपत्र नलिई एसिडको उत्पादन, निकासी, पैठारी र बिक्रीवितरण गरे वा स्वीकृति नलिई पैठारी गरे ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ । उत्पादक तथा विक्रेताले प्रयोग र बिक्री तथा उत्पादनसम्बन्धी सर्त पालना नगरे पनि १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुनेछ । सरकारले यस्तो कानुनी व्यवस्था गरे पनि एसिडको निर्बाध प्रयोग सुनचाँदी पसलदेखि, दूध डेरीसम्म, तामा, पित्तलका भाँडा बनाउने उद्योगदेखि गाडीको ब्याट्री मर्मत हुने ठाउँसम्म र खोटो संकलनमा पनि बिनाकुनै कार्यविधि भइरहेको छ ।

सरकारले कानुन नै ल्याएर एसिडको बिक्रीवितरणमा नियमन गर्न खोजे पनि एसिड प्रयोग हुने उद्योग, कारखानामा कार्यरत कामदारको बिमा नहुने र कार्यस्थलको मापदण्ड पूरा नहुनाले कामदारहरू जोखिममा पर्ने गरेका छन् । अभियानकर्मी थापाले भने, ‘कामदारको १५ सयदेखि २ हजार रुपैयाँ तिरेर हुने दुर्घटना बिमा पनि नगरिँदा जलनमा पर्नेहरू आर्थिक क्षतिसमेत भोग्न बाध्य छन् ।’ महासंघ पूर्वअध्यक्ष शाक्यले बिमाको हकमा संघ मात्रै अगाडि बढेर सम्भव नहुने बताए । ‘यसका लागि सरकारको प्रयास पनि जरुरी छ,’ उनले भने ।

प्रकाशित : असार १७, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?