कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको प्रधानमन्त्रीलाई पत्र ‘चोर बाटोबाट बीएन्डसीलाई सम्बन्धन नदिनु’

आज आयोगको बैठक बस्दै, ऐन नियम मिचेर सम्बन्धन दिने सत्याग्रह थाल्ने डा. केसीको चेतावनी 
सुदीप कैनी

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन नदिन ध्यानार्कषण गराएका छन् ।

डा. केसीको प्रधानमन्त्रीलाई पत्र ‘चोर बाटोबाट बीएन्डसीलाई सम्बन्धन नदिनु’

शुक्रबार दिउँसो ११ बजे चिकित्सा शिक्षा आयोगको बैठक डाकिएको छ । ऐन नियम मिचेर ‘बलजफ्ती’ सम्बन्धन दिलाउन लागिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । यमनमा रहेका डा. केसीले बिहीबार विज्ञप्ति जारी गरेर सम्बन्धन प्रक्रिया अघि बढाए नेपाल फर्के लगत्तै सत्याग्रह थाल्ने चेतावनी दिएका थिए । उनले बीएण्डसीलाई सम्बन्धन दिनकै लागि चिकित्सा शिक्षाको आकस्मिक बैठक डाकिएको बताएका छन् । डा. केसीले शुक्रबार पनि सम्बन्धन अघि बढाए सत्याग्रह थाल्ने दोहोर्‍याएका छन् ।

दुर्गा प्रसाई सञ्चालक रहेको मेडिकल कलेजलाई जबरजस्ती सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय रहेको चिकित्सा शिक्षा आयोगका पदाधिकारीले बताएका छन् । आजको बैठकले प्रधानमन्त्रीको ठाडो निर्देशनमा सम्बन्धन दिने निर्णय लिनसक्ने अनुमान गरिएको छ । त्यहि थाहा पारेर बिहीबार निषेधाज्ञाकाबीच पनि केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्रर्दशन गरेका थिए ।

बैठकमा बजेट कार्यक्रम, कर्मचारी व्यवस्था, परीक्षाका विषयहरु नियमित एजेण्डा रहेका छन् । आयोग स्रोतकाअनुसार चर्चामा रहेको बीएण्डसीको सम्बन्धनको विषय पनि बैठकको जानकारीको लागि एजेण्डामा राखिएको छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन अघि बढाउन आयोगलाई पत्राचार गरेपछि सरकारी पक्षको दबाबमा एजेण्डामा राखिएको एक पदाधिकारीले बताए । चिकित्सा शिक्षा आयोगको बैठ्क डाकेर सम्बन्धनको निर्णय गराउन सरकारी स्तरबाटै विगत देखि नै प्रयास भइरहेको ती पदाधिकारीहरुले गुनासो गरे । ‘आयोगको बैठक राख्नुपर्‍यो भनेर निरन्तर दबाब आइरहेको थियो,’ ती पदाधिकारीले भने, ‘आयोगको बैठक राख्ने र जबरजस्ती सम्बन्धनको विषयलाई बैठकमा प्रवेश गराएर निर्णय गराउने चलखेल त होइन भनेर सशंकित छौं, प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका त्यसका लागि कम्मर कसेर लाग्नु भएको छ ।’ सम्बन्धन दिने निर्णयका विषयमा आयोगका अन्य सदस्यको बैठकमा हुने भुमिकामा निर्भर हुने उनले टिप्पणी गरे ।

काठमाडौं विश्वविद्यालयको सभाले एजेण्डा नै नभएको विषयमा प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन अघि बढाउने निर्णय लिएको थियो । काठमाडौं विश्वविद्यालय सभाको जस्तै ठाडो निर्देशन आयोगको बैठकमा आउने र सम्बन्धनको निर्णय गराउन सक्नेमा सचेत रहेको आयोग निकट स्रोतले जनायो ।

सोलिडारिटी फर डा. गोविन्द केसी एलायन्सले जबरजस्ती बीएण्डसीलाई सम्बन्धन दिन सरकारी स्तरमा नै प्रयास जारी रहेको जनाएको छ । काठमाडौं विश्वविद्यालयका पदाधिकारी र प्रधानमन्त्री ओलीले सम्बन्धन दिलाउन आयोगलाई नाजायज दबाव दिइरहेको एलायन्सका संयोजक डा. जीवन क्षेत्रीले बताए ।

यो पनि पढ्नुहोस्ः

बीएन्डसीलाई ‘बलजफ्ती’ सम्बन्धनको प्रयास

प्रकाशित : जेष्ठ २८, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?