तलेजुबाट चोरिएका तोरन–मूर्ति लिलामीबाट हटाइयो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलेजुबाट चोरिएका तोरन–मूर्ति लिलामीबाट हटाइयो

ददी सापकोटा

पेरिस — नेपालबाट ४० वर्षअघि चोरिएका र यो साता पेरिसको ‘बोनह्याम्ज’ कला बिक्री केन्द्रमा लिलामीमा राखिएका ५ प्रतिकात्मक हिन्दु मूर्तिका बारे समाचार आएपछि ‘बोनह्याम्ज’ले यी सम्पदा लिलामीबाट हटाएको छ ।

पाटन दरबारको तलेजु मन्दिरको मूल ढोकामाथि तोरनमा रहेका तामामा सुनको जलप लगाइएका प्रतिकात्मक महालक्ष्मी, नृत्यनाथ, चामुण्डा , भैरव र पञ्चमुखी हनुमानका मूर्तिलाई बढीमा ५ हजार युरो प्रति मूर्तिको दरमा लिलामी (अक्सन)मा राखिएको थियो । १० दिनका लागि खुलाइएको सम्पदा बिक्री जेठ २७ सम्म जारी रहने ‘बोनह्याम्ज’को बिक्री अनलाइनले जनाएको थियो ।

चोरिएका सम्पदाको प्रदर्शनी तथा ‘अक्सन’बारे बिहीबार समाचार आएपछि र काठमाडौंस्थित युनेस्को कार्यालय, पेरिसस्थित नेपाली दूतावाससहितले उक्त चोरिएको सम्पदालाई तत्काल ‘लिलामी’बाट हटाउन तथा नियमानुसार उत्पत्तिको मुलुक (कन्ट्री अफ ओरिजिन)मा फिर्ता गर्न पत्र लेखेका थिए । यी सम्पदालाई बिक्री केन्द्रको ‘अक्सन’ बाट हटाएको थियो । पेरिसस्थित राजदूत दीपक अधिकारीले अन्तर्राष्ट्रिय तहको ‘अक्सन सेन्टर’ बोनह्याम्जसँग नेपाली सम्पदाको प्रामाणिकता र यो सम्पदालाई युनेस्को प्रावधानअनुसार तत्काल नेपाल फिर्ता गर्नुपर्ने बारेमा कुराकानी भएको जानकारी दिए ।

यी प्राचीन सम्पदा १२ औं शताब्दीयताको रहेको ऐतिहासिक अभिलेखहरुमा उल्लेख छ । यी सम्पदाबारेमा भारतीय इतिहासविद् बीएन बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया(आर्किटेक्चर अफ नेपाल), जर्मन अध्येता सिकको ‘गड्स आर लिभिङ द कन्ट्री : आर्ट थेफ्ट फ्रम नेपाल’ आदिमा समेत उल्लेख छ ।

भारतीय अध्येता बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’ पुस्तकबाट । तस्बिर सौजन्य : सञ्जय अधिकारी

नेपालको सम्पदालाई ‘बोनह्याम्ज’ले अक्सनबाट हटाएपछि न्युयोर्कस्थित आर्ट–क्राइम प्रोफेसर एरिन एल थोम्सनले यी पुरातात्विक मूल्यका सम्पदा अब उत्पत्तिको मुलुक (नेपाल) फर्काउनका लागि तदारुकता रहनुपर्ने बताइन् । थोम्सन नेपालबाट चोरिएका वा हराएका सम्पदाको घरफिर्ती अभियानमा लागेकी एक अन्तर्राष्ट्रिय अभियन्ता हुन् ।

यो पनि पढ्नुहोस् :

प्रकाशित : जेष्ठ २१, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सका १५ प्रान्तमा शनिबारदेखि कर्फ्यू

ददी सापकोटा

फ्रान्स — कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त (डिपार्टमेन्ट) मा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ ।

फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमणसित लड्न ६ बजेबाटै कर्फ्यू लगाउनुपर्ने खाँचो रहेको सार्वजनिक गरेका हुन् ।

जनवरी ७ बाट खोल्न अनुमति दिइने भनिएको सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरुपनि अर्को सूचना जारी नभएसम्म बन्द नै राखिने उनले बताएका छन् ।

यी १५ वटा प्रान्तमा कोरोना भाइरस फैलिने क्रम तीव्र देखिएकाले ती प्रान्तलाई उच्च निगरानीमा राख्नुपर्ने भन्दै कर्फ्यूको समय बढाउनुपर्ने प्रवक्ताले उल्लेख गरेका छन् ।

कोरोना भाइरस धेरै फैलिएका प्रान्तहरुमा होत आल्प्स, आल्प्स मारिटिम, आर्देन, दोउब, जुरा, ओत मार्न, मुर्थे ए मोसेल, मुउज, ओत साओन, भोज्स, बेलफअ, मोसेल, नियभ्र, साओन र ल्वार हुन् । यी सबै समुद्री तट र पहाडी तथा हिमाली क्षेत्र हुन् । क्रिसमस र नयाँ वर्षको छुट्टि मनाउने पर्यटकहरुको भीड लागेकाले कोरोना भाइरस ज्यादा फैलिएको फ्रान्सेली अधिकारीहरुको भनाइ छ ।

'फ्रान्समा भाइरस फैलिने क्रम जारी छ । यो विभिन्न प्रान्त र क्षेत्रहरु बीचको असमानताको कारणले हो,' गाब्रियल अत्तलले भने । सम्बन्धित विभागहरुको सूची एक हप्तामा संशोधित हुने उनले उल्लेख गरेका छन् । यदि कुन प्रदेशमा स्थिति बिग्रियो भने तत्कालै आवश्यक निर्णय लिइने उनले बताएका छन् ।

प्रवक्ताका अनुसार हालको संशोधित कर्फ्यू तोकिएका क्षेत्रहरुमा समान रूपमा लागू हुनेछ । सहर र ग्रामीण क्षेत्रको बिचमा कुनै भेदभाव गरिने छैन । घरबाट अत्यावश्यक काममा हिँड्नेहरुले स्वीकृति पत्र लिएर हिँड्नुपर्ने नियम बनाइएको छ ।

फ्रान्समा हाल प्रत्येक दिन कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार १९ हजारमा कोरोना संक्रमित नयाँ बिरामी फेला परेका छन् । हालसम्म फ्रान्समा करिब २६ लाख ४० हजारमा कोरोना देखिएको छ भने मृत्यु हुनेको संख्या ६४ हजार चार सय ६५ पुगिसकेको छ । संक्रमित मध्ये २४ हजार दुई सय ६३ जना अस्पतालमै छन् ।

प्रकाशित : पुस १८, २०७७ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×