तलेजुबाट चोरिएका तोरन–मूर्ति फ्रान्समा लिलामीमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तलेजुबाट चोरिएका तोरन–मूर्ति फ्रान्समा लिलामीमा

देवेन्द्र भट्टराई

काठमाडौँ — करिब ४० वर्षअघि पाटनको विश्वसम्पदा क्षेत्रको तलेजु मन्दिरबाट हराएका १२ तोरन–मूर्तिमध्ये ५ वटा हिन्दू प्रतीकका विशिष्ट मूर्तिहरु फ्रान्सको राजधानी पेरिसमा रहेको ‘बोनह्याम्ज’ कला बिक्री केन्द्रमा लिलामीमा राखेको पाइएको छ ।

तस्बिर सौजन्य : सञ्जय अधिकारी


पाटन दरबारको तलेजु मन्दिरको मूल ढोकामाथि तोरनमा रहेका तामामा सुनको जलप लगाइएका प्रतिकात्मक महालक्ष्मी, नृत्यनाथ, चामुन्डा, भैरव र पञ्चमुखी हनुमानका यी मूर्तिलाई प्रतिसम्पदाको बढीमा ५ हजार युरो मूल्य तोकिएको छ । १० दिनका लागि खुलाइएको सम्पदा बिक्री जेठ २७ सम्म जारी रहने ‘बोनह्याम्ज’को बिक्री अनलाइनले बताएको छ ।

भारतीय अध्येता बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’ पुस्तकबाट । तस्बिर सौजन्य : सञ्जय अधिकारी

सम्पदाविद् रवीद्र पुरीका अनुसार, एउटा विशिष्ट कला–सम्पदाले भरिएको प्राचीन मन्दिरको मूल ढोकामाथि रहने तोरनमा त्यस मन्दिरभित्र रहेका मूर्ति–सम्पदाको प्रतिकात्मक आकृति राख्ने चलन हुन्छ । त्यही चलनमा तलेजु मन्दिरको तोरनमा राखिएका १२ वटा मूर्ति सन् ७० को दशकमै चोरी भएका थिए । अहिले तलेजुमा चोरिएका मूर्तिहरुको प्रतिलिपि आकृति तोरनमा राखिएको छ ।

यी प्राचीन सम्पदा १२ औं शताब्दीयताको रहेको ऐतिहासिक अभिलेखहरुमा उल्लेख छ । यी सम्पदाबारेमा भारतीय इतिहासविद् बीएन बेनर्जीको ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया(आर्किटेक्चर अफ नेपाल), जर्मन अध्येता सिकको ‘गड्स आर लिभिङ द कन्ट्री : आर्ट थेफ्ट फ्रम नेपाल’ आदिमा समेत उल्लेख गरिएको सम्पदाविद् पुरीले जानकारी दिए ।

तोरन मूर्ति चोरी भएपछिको तस्बिर ‘गड्स आर लिभिङ द कन्ट्री’ पुस्तकबाट । तस्बिर सौजन्य : सञ्जय अधिकारी

सम्पदा अभियन्ता सञ्जय अधिकारीले यी प्राचीन सम्पदाको बिक्री हुन लागेको सूचना पाएर पुरातत्व विभाग, युनेस्कोसहितका सम्बद्ध निकायमा यसबारेमा आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेका छन् । तर, चोरिएका यी सम्पदाको पेरिसस्थित बिक्री केन्द्रमा लिलामी चलिरहेकोबारे पेरिसस्थित नेपाली दूतावास भने बेखबर छ ।

तोरनमा राखिएका प्रतिलिपि मूर्तिहरू । तस्बिर सौजन्य : सञ्जय अधिकारी

‘विश्वभरकै कलासम्पदाको राजधानी मानिने’ पेरिसमा चोरिएको नेपाली सम्पदाको लिलामी भइरहेकोबारे कला–सम्पदाका जानकार तथा सम्पदाको ‘उत्पत्तिको थलो’का पक्षमा बहस गर्दै आइरहेका विज्ञहरुले पनि आवाज उठाउन थालेका छन् । अमेरिकाको न्युयोर्कमा रहेकी आर्ट–क्राइमकी प्राध्यापक एरिन एल.थोम्सनले पेरिसमा नेपाली सम्पदाको लिलामी भइरहेको बारे सामाजिक सञ्जालमा आवाज चर्काउँदै लिलामी केन्द्र ‘बोनह्याम्ज’ले बिनासर्त र तर्क चोरिएको सम्पदा नेपाल (उत्पत्तिको मुलुक)लाई फर्काउनुपर्ने बताएकी छिन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ ००:०९
प्रतिक्रिया
पठाउनुहोस्

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ  ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।

तस्बिर : कुवेत फुटबल संघ

जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । यसका लागि उनले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे र यसका लागि सुमन अर्यालले सटिक क्रस मिलाएका थिए । नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो ।यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ । चिनियाँ ताइपेईले दोस्रो हाफमा नेपाललाई केही दबाबमा राख्न सके पनि निर्णायक सावित आक्रमण भने बुन्न सकेन ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए । दोस्रो लेगमा भने ताइपेईका खेलाडी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो ।

यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।

सबै तस्बिर : कुवेत फुटबल संघ

प्रकाशित : जेष्ठ २०, २०७८ २३:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×