कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनासँगै भोक छिरेको बस्ती

ज्यालादारी, फुटपाथमा तरकारी, मकै र चटपट बेचेर गुजारा गर्नेहरू सरकारको आदेश शिरोपर गरेर घरैमा बसेका त छन् तर खाने मुखलाई के जवाफ दिने भन्ने प्रश्नमा निरुत्तर छन् ।
‘मर्न सकिन्न । लुट्न जान पनि मिलेन । यस्तो अवस्थामा भागेर पनि कता जाने ?’

काठमाडौँ — वाग्मती किनारस्थित थापाथलीको सुकुम्बासी बस्तीमा बस्छन् अपांगता भएका लक्ष्मीश्वर यादव । बिहीबार मध्याह्न लक्ष्मीश्वर भरखरै रोटी–तरकारी खाएर बसेका थिए । उनले चामल सकिएकाले पछिल्ला चार छाक रोटीले टारेको सुनाए । निषेधाज्ञा नभएको भए उनी ह्विलचियरमा सहरतिर निस्कन्थे र मागेर भए पनि ४ छोराछोरी र श्रीमतीको पेट भर्थे । उनको घुँडामुनिको भाग छैन । 

कोरोनासँगै भोक छिरेको बस्ती

प्रमुख जिल्ला अधिकारीको निर्णयमा खाद्य पसलसमेत बन्द हुने गरी निषेधाज्ञा सुरु हुनुभन्दा अगाडि लक्ष्मीश्वर ह्विलचियरमै कालीमाटीको तरकारी बजारसम्म पुग्थे । बिक्री नभएको र कमसल तरकारी भए पनि मागेर ल्याउँथे र परिवारको पेट भर्थे । तर कडा भनिएको निषेधाज्ञा सुरु भएपछि उनलाई थापाथली चोकमै पुलिसले रोकेर भन्यो, ‘अहिले बाहिर ननिस्कनु । घरमै बसेर खानु । केही परे सरकारसँग माग्नु ।’ उनले पुलिसलाई केही जवाफ फर्काएनन् बरु ह्विलचियर फर्काए । लक्ष्मीश्वरले सुनाए, ‘पुलिसले सरकारसँग माग्नू भन्छ । तर सरकारले हामी गरिब आदमीको कुरा थोडी न सुन्छ ।’

एक सय ४४ परिवार बस्ने थापाथलीको सुकुम्बासी बस्तीमा निषेधाज्ञा खुल्ने प्रतीक्षामा भोको पेट बसेका लक्ष्मीश्वर एक्ला होइनन् । धेरैजसो ज्यालादारी, फुटपाथमा तरकारी, मकै र चटपट बेचेर गुजारा गर्नेहरू सरकारको घरै बस्नू भन्ने आदेश शिरोपर गरेर त बसेका छन् तर खाने मुखलाई के जवाफ दिने भन्ने प्रश्नमा निरुत्तर छन् । बस्तीको हकअधिकारमा क्रियाशील उत्पीडित सुकुम्बासी समिति थापाथलीका उपाध्यक्ष सुमन चौधरीका अनुसार यो बस्तीमा भोक मात्रै सल्किएको छैन, कोरोना पनि सल्किरहेको छ । ‘बिहीबारसम्मको परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ । सबैको परीक्षण गर्ने हो भने अरू धेरैमा देखिन सक्छ,’ उनले भने ।

यही बस्तीमा बस्ने तेजबहादुर पहारी निषेधाज्ञाअघि बस्तीबस्ती डुल्दै औसतमा डेढ सय घोगा हरियो मकै बेच्थे । यति मकै बेच्दा उनलाई कम्तीमा पनि एक हजार रुपैयाँ फाइदा हुन्थ्यो । तर निषेधाज्ञा सुरु भएपछि र प्रत्येक साताजसो जिल्ला प्रशासन कार्यालयले निकाल्ने सूचनामा सार्वजनिक स्थानमा ठेला वा अन्य तरिकाले तरकारी, फलफूललगायत बेच्न प्रतिबन्ध लगाइएको सूचना आएपछि उनी बिलखबन्दमा परे । बिहीबार त उनी जेसुकै परोस् भनेर बिहान ३ बजे उठेर कालीमाटी पुगे । यूएनपार्कको छेउछाउ र शंखमूलतिर घुमेर जम्माजम्मी २२ घोगा हरियो मकै बेचे । तर फर्किने बेला उनी पुलिसको फन्दामा परे । पुलिसले उनलाई छेवैको वाग्मती खोलातिर देखाउँदै भन्यो, ‘यसरी नियम मिचेर मकै बेचिस् भने तेरो ठेला खोलामा हाल्दिन्छु ।’

पुलिसको कुराले उनलाई मनमनै रिस त उठ्यो तर उनले केही भनिहालेनन् । किनकि यसअघि पनि फुटपाथमा मकै बेचेका बेला नियम उल्लंघन गरेको आरोपमा नगरप्रहरीले उनका दुइटा ठेला खोसिसकेको थियो । निषेधाज्ञा लम्बिँदै जाने तर काम नपाइने भएपछि ६ जनाको परिवार कसरी पाल्ने भन्ने प्रश्नको उत्तर उनी आफैंसँग छैन । नजिकैको पसलबाट उधारो ल्याएर खाँदाखाँदै बहिखातामा उनको नाममा १२ हजार ऋण पुगिसक्यो । उनले सुनाए, ‘खै कसरी पो तिर्ने हो ?’

प्रमिला राई निषेधाज्ञाअघि चटपटे बेच्थिन् । दिनमा ४/५ सय रुपैयाँ फाइदा हुन्थ्यो पनि । त्यसैबाट उनले बिमारी पतिसहितको परिवार पाल्नुका साथै आफैं पनि युरिक एसिडको बिमारको ओखती खाइरहेकी थिइन् । निषेधाज्ञाका सुरुवाती साता त उनले जसोतसो घर धानिन् । तर निषेधाज्ञा लम्बिँदै गएपछि र किराना पसलमा उधारो बढ्दै गएपछि उनी आत्तिन थालेकी छिन् । जे पर्छपर्छ ठेला लिएर केही बेचबिखन गर्न जाम कि भन्ने पनि उनलाई लाग्छ । तर पछिल्लो एक वर्षमा नगर प्रहरीले खोसिदिएका दुई वटा ठेला र त्यही ठेला किन्दा तिर्न बाँकी ऋण सम्झेर आँट आउँदैन ।

अहिले किराना पसलमा मात्रै प्रमिलाको ७ हजार उधारो पुगिसक्यो । पैसा अभावले उनले केही सातायता युरिक एसिडको औषधि पनि खाएकी छैनन् । औषधिको अभावमा उनका घुँडा सुन्निएका छन् । प्रमिलाले भनिन्, ‘औषधि किन्ने कि खानेकुरा ?’ निषेधाज्ञा कहिलेसम्म लम्बिएला ? कहिले पुरानै दिनमा फर्किन सकिएला ? उनले कुनै अन्दाज लगाउन सकेकी छैनन् । उनले आक्रोशको स्वरमा भनिन्, ‘मर्न सकिन्न । लुट्न जान पनि मिलेन । यस्तो अवस्थामा भागेर पनि कता जाने ?’

यही सुकुम्बासी बस्तीमा किराना पसल चलाएर बसेका गोपाल पौडेलका अनुसार निषेधाज्ञामा हरेक सामानको भाउ बढेको छ । जसको सोझो मारमा कामविहीन भएर बसेका बस्तीका बासिन्दा परेका छन् । उनले निषेधाज्ञाअघि १ सय ९० रुपैयाँ लिटरमा पाइने खानेतेलको भाउ अहिले २ सय ७० पुगिसकेको, चिनीको भाउ किलोमै दस रुपैयाँले बढेको सुनाए । ‘न सरकारले राहत दिन्छ, न काम दिन्छ, न महँगी रोक्छ ?’ उनले भने । गोपालले आफूले सबैलाई खानकै अभाव नहोस् भनेर उधारो दिँदै आए पनि धेरै दिनसम्म उधारो दिन सक्ने अवस्था नरहेको बताए । केही दिनअघि मात्रै सासूआमा कोभिड संक्रमित भएपछि निजी अस्पताल चहार्दाचहार्दै दुई लाख रुपैयाँ सक्काएको उनले सुनाए । यस्तै दिन लम्बिराख्ने हो भने भोकभोकै मर्ने अवस्था आउन सक्ने बताए ।

गोपालका अनुसार लकडाउनको केही दिनअघि मात्रै एक जना फ्रेन्च नागरिकले बस्तीका सबैलाई एक एक बोरा चामल बाँडेका थिए । त्यही चामलको भरमा धेरैले केही साता धानेपछि पछिल्ला दिनमा खाद्य संकट देखिन थालिसकेको छ । निषेधाज्ञाअघि प्रसूति अस्पतालको एक छेउमा चिया बेच्ने गरेका केदार महतोको चिन्ता पनि गोपालकै जस्तो छ । ढाडको बिमारी न कमाएर खान सक्ने न उपचार गर्न सक्ने अवस्था भएको भन्दै उनले चिन्ता जताए । ६ जनाको परिवारको गाँस टार्दा उनले ४० हजारको उधारो भइसकेको सुनाउँदै भने, ‘अब सबै भोकै मर्ने दिन आउन लागिसक्यो ।’

केही दिनअघिको बजेट भाषणको ११५ नम्बर बुँदामा अब कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने नारा सरकारको संकल्प रहेको उल्लेख गरिएको छ । उक्त बुँदामा भोकमरी तथा खाद्य असुरक्षाको जोखिममा रहेका व्यक्ति परिवार, वर्ग र समुदायलाई खाद्यन्न उपलब्ध गराई भोकमरी अन्त्य गर्ने भनिएको छ । बजेटमा यस्तो लेखिएको कुरा थापाथलीको सुकुम्बासी बस्तीकालाई थाहा छैन । उनीहरूलाई थाहा छ त केवल भोकको क्षेत्रफल । उत्पीडित सकुम्बासी समिति थापाथलीका उपाध्यक्ष सुमन चौधरीले कोरोनाको पछिल्लो लहरमा सरकारी तवरबाटै कुनै पनि राहत वितरणको नभएको बताए । ‘सरकारको काम त निषेधाज्ञा गर्ने मात्रै भयो,’ उनले भने, ‘दैनिक कमाएर खानुपर्नेको गाँस कसरी चलिरहेको छ कसलाई के मतलब ?’

सुकुम्बासी बस्तीमा भोकको डढेलो सल्किएको खबर पाएपछि बिहीबार मात्रै कोभिड अलायन्सको संयोजनमा भृकुटी देवी ट्रस्टले दिएको राहत नेपाल बसोबास बस्ती संरक्षण समाजले १ सय ४४ परिवारलाई वितरण गरेको थियो । समाजले बस्तीमा दस किलो चामलसहित दाल, नुन, तेल, मस्यौरा, चिउरा र साबुनलगायत सामग्री बाँडेको हो । समाजकी उपाध्यक्ष स्मिता आचार्यले कुमारीगालका १३ परिवार, कपनको पाथीभरा टोलका ६३ परिवार, महांकाल ६ को २० परिवार र रामहिटी नजिकैको सुवी गाउँका २० परिवारलाई आफूहरूले राहत बाँडेको जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?