कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपेन्द्र यादवसँग पनि छलफल गरेर राजनीतिक निकास दिन्छौँ : महन्थ ठाकुर

यादव-भट्टराई समूहका सांसदबिना जसपा संसदीय दलको बैठक सुरु

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव समूहसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् ।

उपेन्द्र यादवसँग पनि छलफल गरेर राजनीतिक निकास दिन्छौँ : महन्थ ठाकुर

शुक्रबार सिंहदरबारमा संसदीय दलको बैठक बस्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले यादव समूहसँग पनि छलफल गर्ने बताएका हुन् । अहिले सिंहदरबारस्थित कार्यालयमा संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने सहभागी भएको छैन । ठाकुरले यादव समूहसँग पनि छलफल भइरहेको बताए । 'छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,' उनले भने ।

अध्यक्ष ठाकुरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा उपेन्द्र यादवहरुसँग छलफल गर्ने बताए । उनले शुक्रबार बिहान मात्रै पनि यादवहरुसँग भेटघाट भएको बताए ।

त्यस्तै ठाकुरले बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रपति निवास गएको तर राजनीतिक कुराकानी नभएको दाबी गरे । उनले भने, 'चिया खानका लागि गएको हो । एक कप चिया खाएँ अनि फर्किएँ । स्वास्थ्य के कस्तो छ भन्ने छलफल भयो अरु केही भएन ।'

जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको पनि उनले बताएका छन् । 'पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको छ,' कर्णले भने, 'जानकारी त सबैलाई गरिएको छ तर हुन्छौं होला १८-१९ जना ।'

पछिल्लो समय ठाकुर-महतो समूहमा बहुमत सांसद रहेको दाबी गरिएको छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् ।

लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऔँ : बाबुराम भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातारात प्रतिनिधिसभा समाप्त पार्न राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक कदम उठाएको बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर अडिग रहे उनी प्रधानमन्त्री बन्ने सम्भावना जीवित रहेको यादवको भनाइ छ । ‘ठाकुरजी आफैं अरू कसैको पछि नलागी अडिन सक्नुपर्‍यो । सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि शुक्रबार हामी छलफल गर्छौं ।’

प्रकाशित : जेष्ठ ७, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?