१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऔँ : बाबुराम भट्टराई

'बीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!'

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार बनाउनुपर्ने बताएका छन् ।

लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऔँ : बाबुराम भट्टराई

भट्टराईले संसद्, संविधान र लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकार बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि सबैले आवश्यक त्याग र बलिदान गर्न पनि उनले आग्रह गरेका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, 'संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवश्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बीपी/पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!'

यसअघि बिहीबार बेलुका भट्टराईले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाठ्ठि आक्रमण गरेको बताएका थिए । उनले राष्ट्रपति र प्रधानमन्त्रीले 'कोरोना महामारीका बेला अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरुङमा धकेलेको' बताएका थिए ।

यसैबीच जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।

बैठकका बारेमा सबैलाई जानकारी गराइएको भए पनि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद मात्रै उपस्थित हुने सम्भावना रहेको पनि उनले बताएका छन् । 'पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको छ,' कर्णले भने, 'जानकारी त सबैलाई गरिएको छ तर हुन्छौं होला १८-१९ जना ।'

पछिल्लो समय ठाकुर-महतो समूहमा बहुमत सांसद रहेको दाबी गरिएको छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी छिन् । प्रधानमन्त्री ओलीलाई जसपाको ठाकुर-महतो समूह सघाउने पक्षमा रहेको छ ।

तर प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव समूहले भने विरोध गरेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातारात प्रतिनिधिसभा समाप्त पार्न राष्ट्रपति र प्रधानमन्त्री मिलेर असंवैधानिक कदम उठाएको बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर अडिग रहे उनी प्रधानमन्त्री बन्ने सम्भावना जीवित रहेको यादवको भनाइ छ । ‘ठाकुरजी आफैं अरू कसैको पछि नलागी अडिन सक्नुपर्‍यो । सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि शुक्रबार हामी छलफल गर्छौं ।’

प्रकाशित : जेष्ठ ७, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?