कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले ४५ दिन भेन्टिलेटरमा बसेर कोरोना जिते

डेढ महिनापछि होस खुल्दा चिकित्सक र नर्ससमेत ‘चमत्कार भएको’ भन्दै खुसी भए
सन्जु पौडेल, मधु शाही

रुपन्देही, बाँके — हरि रिमाललाई भेटेपछि आफन्त र साथीभाइ अचम्म मान्छन् । धेरैले चमत्कारै भएको बताउँछन् । रूपन्देहीको बुटवल–११ देवीनगरका ३९ वर्षीय रिमाललाई गत मंसिर २१ गते कामबाट फर्किएपछि ज्वरो आयो ।

जसले ४५ दिन भेन्टिलेटरमा बसेर कोरोना जिते

श्रीमती अरुणाले नजिकैको पसलबाट औषधि किनेर खुवाइन् । त्यसले सुधार देखिएन । खोकी सुरु भयो । चार दिनपछि कोरोना आशंकामा स्वाब परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुगे । साँझ रिपोर्ट पोजिटिभ आयो ।

संक्रमण पत्ता लागेपछि सावधानी अपनाएर घरमै आइसोलेसनमा बसे । त्यसको तीन दिनपछि श्वासप्रश्वासमा समस्या देखियो । ‘आत्तिएर लुम्बिनी प्रादेशिक अस्पताल गएँ,’ रिमालले भने, ‘त्यहाँ शय्या छैन भन्ने जवाफ सुन्नेबित्तिकै बेहोस भएँ ।’ श्रीमती र भाइले त्यसै राति भैरहवाको भीम अस्पताल पुर्‍याए । त्यहाँ आईसीयू बेड पाएपछि केही राहत मिल्यो । भीममा तीन दिन राखे पनि अवस्था ज्युँकात्युँ थियो ।

त्यसपछि श्रीमती अरुणाले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजाने निधो गरिन् । भीम अस्पतालबाट टेकु पुर्‍याउँदासम्म हरि अन्जान थिए । टेकु पुर्‍याएर उपचार थालेपछि उनलाई स्ट्रोक (प्यारालाइसिस) देखियो । शुक्रराजमा उपचार सम्भव नभएकाले चिकित्सकले वीर अस्पताल जान सल्लाह दिएको अरुणाले बताइन् । ‘टेकुमा चार दिन उपचार गरेपछि वीरमा पुगियो,’ उनले भनिन्, ‘डाक्टरले बाँच्ने सम्भावना कम छ भनिरहेका थिए । तर मनले बचाउन सकिन्छ जस्तो लागिरहेको थियो ।’ नाबालक दुई छोरा छाडेर अरुणा भाइ र आमासँगै काठमाडौं पुगेकी थिइन् ।

वीर अस्पताल पुर्‍याएपछि हरिलाई भेन्टिलेटरमा राखेर उपचार थालियो । परिवारले उनलाई देख्न पाएनन् । अस्पताल परिसरमा दिनभर बस्ने, औषधि ल्याउने, चिकित्सक राउन्डमा आउँदा कस्तो छ भनेर हालखबर बुझ्ने गर्न थाले । ‘४० दिन पुग्दासम्म अवस्था नाजुक छ, घर लैजाने भए निकालिदिन्छौं भनिरहेका थिए,’ उनले भनिन्, ‘हामीले आस मारेनौं ।’ धैर्यताले काम गर्‍यो । ४३ औं दिनमा चिकित्सक र नर्सले सुधार देखिन थालेको बताए । ‘४५ औं दिनमा होस खुल्यो,’ अरुणाले भनिन्, ‘सबै अचम्म परे । चिकित्सक र नर्स पनि चमत्कार भएको भन्दै रमाए ।’

४५ दिन भेन्टिलेटरमा बसी कोरोना जितेका बुटवल-११ देवीनगरका हरि रिमाल र श्रीमती अरुणा । तस्बिर : सन्जु पौडेल/कान्तिपुर

होस खुलेको दुई दिनपछि जनरल वार्डमा सारेपछि हरि र अरुणाको भेट भयो । उनीहरूका आँसु देखेर अस्पतालमा उपस्थित भावविह्वल बने । बधाई दिनेको लाइन नै लाग्यो । ‘घरबाट बाबुहरूले फोनमा बुबाबिना घर नआउनूस् है मम्मी भन्थे,’ अरुणाले भनिन्, ‘निको भएको थाहा पाएपछि छिटो लिएर आउनूस् भन्न थाले ।’ अवस्था सामान्य बनेपछि उनीहरू घर फर्किए ।

घर आउँदा आफन्तले भव्य स्वागत गरे । कोरोनाका कारण स्ट्रोक भएकाले आँखा कमजोर भएका छन् । यही महिना जँचाउन गएका बेला चिकित्सकले आँखाको समस्या हट्छ भनेका छन् । अहिले धेरैले फोन गरेर त्यो अत्यासलाग्दो अवस्थाबारे सोधिरहन्छन् । समयमा उपचार मिल्यो भने कोरोना संक्रमणलाई जित्न सकिने हरिले बताए । ‘दैनिक स्वास्थ्यबारे चासो दिने बढेका छन्,’ उनले भने, ‘लामो समय भेन्टिलेटरमा बिताएर निको भएको अनुभव सुनाउँदा अहिलेको बेलामा धेरैको आत्मबल बढेको महसुस गरेको छु ।’

बुटवलस्थित कोरोना अस्पतालमा ६ दिनसम्म आईसीयूमा हाईफ्लो अक्सिजन चढाएर उपचार गरेपछि निको भएका सैनामैना–९ बनकट्टाका २७ वर्षीय कमल खनाल त्यहाँका धेरै संक्रमितका लागि आत्मबल बढाउने प्रेरणा बनेका छन् ।

एक वित्तीय संस्थामा कार्यरत उनलाई गत वैशाख १२ गते ज्वरो आउने, टाउको दुख्ने र पखाला चल्ने भयो । सुरुमा टाइफाइडको औषधि खाए । निको भएन । कोरोनासित मिल्ने लक्षण भएकाले दुई दिनपछि स्वाब परीक्षण गराउँदा संक्रमण पुष्टि भयो ।

‘घर आएर आइसोलेसनमा बस्नुपर्ने भयो भनेपछि तनाव सुरु भयो,’ उनले भने, ‘सावधानी अपनाउँदा अपनाउँदै गत वैशाख १८ गते श्वासप्रश्वासमा समस्या देखियो ।’ अक्सिजन स्याचुरेसन ८० प्रतिशतमा झरेपछि बुटवलस्थित कोरोना अस्पतालमा आए । तत्काल आईसीयू बेडमा भर्ना भएर अक्सिजन लिन थाले । ‘अब बाँचिन्छ भन्ने लाग्यो,’ उनले भने, ‘तर अन्य बिरामीको अवस्था देखेर डर थियो ।’

छेउमै रहेका एक बिरामीको आँखै अगाडि मृत्यु भएको देख्दा केही आत्तिएको उनले बताए । उनी अस्पताल भर्ना भएपछि बुबा, दाइ र बहिनीलाई समेत कोरोना संक्रमण भयो । ‘उहाँहरू अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ,’ उनले भने, ‘मैले बेड पाएँ, अरूलाई के होला ? अस्पताल ल्याउनु नपरे हुन्थ्यो ।’ कमल आइतबार कोरोनामुक्त भएर घर फर्किएका छन् । आफू अलग्गै बसिरहेको उनले बताए । ‘बुबा, दाइ, बहिनी र संक्रमित नभएकी आमा पनि अलग्गै हुनुहुन्छ,’ उनले भने, ‘म घर फर्किएपछि परिवार खुसी त छ नै, संक्रमित अन्य सदस्यको मनोबल पनि उच्च भएको छ ।’

बुटवल–९ मिलनचोकका ४७ वर्षीय केदार मरासिनीले कोरोनाले जीवन मृत्युको दोसाँधमा पुर्‍याउला भन्ने चिताएका थिएनन् । गत वैशाख ८ गते कोरोनाको लक्षण देखिएपछि पनि घरमै बसेका थिए । ‘एक सातापछि श्वासप्रश्वासमा समस्या भएपछि स्कुटर चलाएर अस्पताल गएँ,’ उनले भने, ‘स्वाब जाँच गर्दा नतिजा पोजिटिभ आयो ।’ त्यसपछि आईसीयूमा भर्ना भएको उनले बताए ।

हलमा लहरै आईसीयू बेड भएकाले जता हेरे पनि आत्तिएको, चिच्याएको, छटपटिएको दृश्य देखिने उनले बताए । ‘आईसीयूमा रहेका बेला अक्सिजन लेभल घटेर १५ लिटर दिनुपर्ने अवस्था आयो,’ उनले भने, ‘निमोनिया भएकाले मन आत्तिएपछि बेलैमा उपचार पाएकाले निको भयो ।’ अस्पतालमा नर्स, डाक्टरले मनोबल बढाउन सल्लाह दिइरहने भएकाले सहज भएको उनले सुनाए ।

बिरामीले हार्नु हुँदैन हिम्मत

नेपालगन्जकी ३३ वर्षीया नर्वदा दाहाललाई लाग्छ पुनर्जन्म पाइयो । निको भएर २८ दिनअघि घर फर्किएकी उनलाई कोरोना संघर्ष कुनै युद्ध मैदानभन्दा फरक लागेन । र, जब घर फर्किइन्, जीवनको लय नै फेरिएको छ । नेपालगन्ज–१ धम्बोजी बस्ने नर्वदा घरमा खाली बस्दिनन् । सकारात्मक सोच राख्नु र पारिवारिक महोललाई खुसियाली बनाउनमा उनको जोड हुन्छ । कोरोनालाई परास्त गर्नुको मूल कारण उच्च मनोबल रहेको उनले बताइन् ।

खजुरा नगरपालिकाकी कर्मचारी उनी जनसेवामा खटिँदाखटिँदै संक्रमित भइन् । सुरुमा खासै कुनै कोभिडका लक्षण देखिएनन् । एक दिन अचानक खोकी र रुघा लाग्यो । उनले त्यसै दिन भेरी अस्पतालमा पीसीआर गराइन् । पोजिटिभ नतिजा आएको दुई दिनमै अस्पताल भर्ना भइन् । नाकमा अक्सिजन नराखी बस्न नसक्ने उनको अवस्था थियो । डेढ वर्षकी दूधे बालिकालाई घरमै छाडेर अस्पतालको शय्यामा छटपटाउँदा नर्वदाले जीवनको महत्त्व निकै नजिकबाट महसुस गर्न पाएको बताइन् । उनी सास फेर्न गाह्रो हँॅदा छोरीको तस्बिर आँखाभरि ल्याउँथिन् । अनि, उनका लागि भए पनि बाँच्नुपर्छ भन्दै मन दह्रो बनाउँथिन् ।

‘म बाँच्ने हिम्मत जुटाएकै आधार मेरी छोरी हो,’ उनले भनिन्, ‘उसैलाई सम्झिन्थें अनि बाँच्ने विश्वास सँगाल्थें ।’ एक साता लगातार अस्पतालमा भर्ना हुँदा नर्वदाले आफूसँगै भर्ना भएका तीन जनाको मृत्यु देखिन् । मृत्यु देख्दा मृतकका आफन्तहरू झनै आत्तिन्थे । नर्वदा भने सकीनसकी उठेर कुरुवालाई हिम्मत जुटाउनु केही हँॅदैन भन्दै आश्वासन दिन्थिन् । कोभिड अस्पतालको अनुभवले उनलाई बिरामीलाई आफन्तले उच्च मनोबल बढाउन सघाउन जरुरी रहेको सुनाइन् । रातभरि उनलाई निद्रा नलाग्दा अस्पताल वरिपरि घुम्थिन् । जीवनमा आफूले गरेका राम्रा कामको सम्झना गर्थिन् ।

त्यस्तै, नेपालगन्ज–७ की नेहा खेतानसँग १० दिनअघि कोरोना संक्रमणकै कारण भाइ गुमाएको पीडा थियो । वियोगको घाउ नसेलाउँदै उनी आफैं संक्रमित भइन् । निजी अस्पतालमा भर्ना भएर उपचार गर्न थालिन् । अक्सिजनको लेभल ठीक ठाउँमा आउन एक साता लाग्थ्यो । आमा नीलम छोरा गुमाएको डरसँगै छोरी पनि बचाउन नसक्ने त्रासमा थिइन् । ‘तर मेरी छोरी बहादुर रहिछ,’ नीलमले भनिन्, ‘कोरोनालाई हराएर छाडिन् ।’ छोराले निकै कमजोर मनोबल बनाएको र ममी म मर्छु अब भन्दै रोइरहेको नीलमलाई झलझली आँखामा नाच्छ । छोरी भने ठीक उल्टो मनोभावमा देखिएको उनले सुनाइन् । छोरो गुमाउँदा भित्रभित्रै कमजोर बनेकी नीलमलाई छोरी नेहाले नरुनु भाइले छोडेर गयो म छोड्दिनँ ममी भन्दै आश्वासन दिएको नीलमले सुनाइन् ।

मारवाडी महिला मञ्च बाँकेकी अध्यक्षसमेत रहेकी नीलमले गुमेको छोरालाई सम्झँदै बचेकी छोरीको मुहारमा खुसी ल्याउन रोचक गतिविधि गर्छिन् । पौष्टिक परिकार पकाएर खुवाउने, रमाइला कुरा गरेर हँसाउने र छोरीको स्याहारमा रातदिन लागेकी छन् । कोहलपुर–२ का दिनेशजंग शाहलाई १० दिनको अस्पताल बसाइपछि घर आउँदा परिवारबाट भव्य स्वागत भयो । भेन्टिलेटरमा चार दिन हुँदा उनले मृत्युको दृश्य प्रत्यक्ष महसुस गरे । २७ वर्षे दिनेशले मर्छु भन्नेमा रत्तिभर विश्वास गरेनन् । खान पटक्कै मीठो लाग्दैनथ्यो । तितो न मीठो जिब्रोले स्वाद गुमाइसकेको थियो । ज्वानोको झोल पिउँदा बान्ता आउँथ्यो । यद्यपि, दिनेशले बाँच्नकै लागि खान छाडेनन् ।

भेरी अस्पतालको कोभिड पहिलो वार्डमा बसेका उनी एक जना नर्सले काउकुती लगाएर हँसाउन खोजेको पल सधैं स्मरणीय रहने सुनाए । ‘म गलेर सुतिरहन खोज्दोरहेछु,’ उनले भने, ‘पीपीईले छोपिएकी नर्सले मरेछ कि भनेर होला काउकुती लगाइन् । उनी जो थिइन्, राम्री थिइन् ।’

भारतमा बिहे गरेर गएकी सफत अमिन सिद्दिकी एक महिनाअघि माइती भेट्न नेपालगन्ज आइन् । कोरोना संक्रमणका सास्तीबारे सुने पनि उनलाई नभोग्दासम्म सामान्य लागेको थियो । तर माइती आएको १५ दिनमा उनी बिरामी भइन् । कोरोनाको लक्षण थाहा पाएपछि माइतीले अस्पताल भर्ना गरे ।

आईसीयूमा उपचार गरिरहँदा ३२ वर्षीया सफतले बाँच्ने आशा गुमाएकी थिइन् । उनको अनुभवमा आँखैअगाडि अरूले प्राण त्यागेको देख्दा झनै मनोबल खस्कँदो रहेछ । सफतको हिम्मत परिवारले बढाए । ‘हामी कोही न कोही भिडियो कल गरेर दिदीलाई व्यस्त राख्थ्यौं,’ दिदीको उपचार अनुभव बटुलेका भाइ सदाव अमिन सिद्दिकीले भने । उनका अनुसार बिरामीको मनोबल उच्च बनाउने दायित्व परिवारको हुन्छ । २२ दिनको कठोर कोभिड संघर्षपछि सदावले दिदी सफतलाई घर (भारत) बिदाइ गरे ।

‘दिदीलाई कोरोना जितेर घर पठाउँदा खुसीले फुर्किएको छु,’ भाइ सदावले भने । मानसिक रूपमा जति बलियो भएर कोरोना जित्छु भन्ने साहस बोकेका बिरामीलाई औषधिले पनि छिटो काम गर्न सक्ने चिकित्सकको अनुभव छ । नेपालगन्ज मेडिकल शिक्षण अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले खास उपचारका क्रममा शारीरिक र मानसिक रूपले बलियो व्यक्ति चाँडै निको भएको बताए ।

प्रकाशित : वैशाख २९, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?