कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार जनताविरुद्धको अक्षम्य अपराध हो : देउवा

'अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन ।'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार गर्नु जनताविरुद्धको अपराध भएको बताएका छन् । कोरोना भाइरसविरुद्धको खोप आयात कमिसनका कारण रोकिएको तथ्य सार्वजनिक भएको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभापति देउवाले त्यको छानबिन गरी कारबाहीका लागि पनि माग गरेका छन् । 

कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार जनताविरुद्धको अक्षम्य अपराध हो : देउवा

'जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो,' शुक्रबार विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन् । खोपमा भएको भ्रष्टाचारमा सरकार संलग्न भएको पनि उनले आरोप लगाएका छन् ।

'जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधि (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु,' देउवाको विज्ञप्तिमा उल्लेख गरिएको छ, 'यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।'

कोरोना भाइरसको संक्रमणमा परेका जनताको जीवन रक्षा गर्नका लागि मुलुकभर आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न देउवाले माग गरेका छन् ।

सरकारले लामो समयसम्म कोरोना विरुद्धको तयारी नगरेको पनि देउवाको भनाइ छ । सरकारलाई कोरोना विरुद्धको लडाइँमा प्रतिपक्ष दल र अन्य सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दा पनि त्यसतर्फ ध्यान नगएको उनले उल्लेख गरेका छन् । 'सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन । समयमा कोभिड– १९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरूमा गणना भएको छ,' देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्ण रूपमा जिम्मेवार छ । अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन ।'

सम्बन्धित समाचार सामग्रीः

कांग्रेस सभापति देउवाले जारी गरेको प्रेस विज्ञप्तिः

प्रकाशित : वैशाख २४, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?