कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभ्याक्सिन भारतीय स्वरूपको कोरोनाविरुद्ध प्रभावकारी : डा. एन्थोनी फौची

काठमाडौँ — ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार तथा अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले कोभ्याक्सिन कोरोना भाइरसको भारतीय स्वरूप(बी.१.६१७) विरुद्ध प्रभावकारी देखिएको बताएका छन् ।

कोभ्याक्सिन भारतीय स्वरूपको कोरोनाविरुद्ध प्रभावकारी : डा. एन्थोनी फौची

मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. फौचीले कोभ्याक्सिन नयाँ स्वरूपको कोरोनाविरुद्ध प्रभावकारी देखिएको बताएका हुन् । उनले कोभ्याक्सिन घातक स्वरूपको बी.१.६१७ लाई निष्क्रिय बनाउन सफल देखिएको बताएका छन् ।

फौचीले भनेका छन्, ‘हामी दैनिक रुपमा तथ्यांक हेरिरहेका छौं । तर ताजा तथ्यांकलाई विश्लेषण गर्दा कोभ्याक्सिन प्रयोग गर्नेलाई लाभदायी देखिएको छ । यो बी.१.६१७ स्वरूपमाथि पनि प्रभावकारी देखिएको छ । यस्तोमा भारतमा कोरोनाविरुद्धको खोप अभियान महत्वपूर्ण देखिएको छ ।’ डा. फौचीले खोपको उत्पादन बढाउन अमेरिकाले कच्चा पदार्थ भारत पठाइरहेको पनि बताएका छन् । ‘हामीले खोपका लागि कच्चा पदार्थ भारत पठाइरहेका छौं । जसबाट खोप उत्पदान गर्न सकिन्छ । यो सहयोग निकै महत्वपूर्ण छ,’ उनले भने ।

न्युयोर्क टाइम्समा प्रकाशित एउटा रिपोर्टमा कोभ्याक्सिन प्रतिरोधात्मक क्षमता बढाउन र एन्टिबडी बढाउन प्रभावकारी देखिएको छ । भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) सँग मिलेर कोभ्याक्सिन तयार गरेको हो । भारतले कोभ्याक्सिनलाई जनवरी ३ मा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । यसको प्रभावकारिता ७८ प्रतिशत भएको दाबी गरिएको छ ।

नेपालमा पनि औषधि व्यवस्था विभागले चैत ६ गते कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । पछिल्लो समय विश्वमा विभिन्न ६ प्रकारका कोरोना भाइरस देखिएका छन् । बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतमा छुट्टै स्वरूपका कोरोना भाइरस देखिएका हुन् । बेलायती स्वरूपको कोरोना भाइरस बी.१.१.७ वा यूके भेरियन्टका नामले चिनिन्छ । त्यस्तै दक्षिण अमेरिकी स्वरूपको भाइरस बी.१.३५१ र ब्राजिली स्वरूपको भाइरस पी.१ का नामले चिनिन्छ । त्यस्तै भारतको महाराष्ट्रमा केही महिनाअघि दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरस देखिएको थियो जसलाई भारतीय स्वरूप वा बी.१.६१७ ले चिनिन्छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसभन्दा पछिल्लो पटक भारत, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको कोरोना अझ बढी संक्रामक र घातक भएको विशेषज्ञहरूको भनाइ छ ।

प्रकाशित : वैशाख १५, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?