कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितसँगै सुत्‍न बाध्य छन् कुरुवा

‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क’, संक्रमित स्वास्थ्यकर्मीले पनि भर्ना पाएनन्  
 चिकित्सक भन्छन्– ‘मूकदर्शक भएर बस्नुबाहेक केही गर्न सक्ने अवस्था छैन’

नेपालगन्ज — दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्‌को कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता ।

संक्रमितसँगै सुत्‍न बाध्य छन् कुरुवा

अस्पतालबाहिर रहेको होटलमा शुक्रबार श्रीमान्का लागि दालको झोल किन्दै गर्दा उनले कान्तिपुरसँग आफूले पाइरहेका हैरानीबारे सुनाइन् । ‘चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्छ,’ उनले भनिन्, ‘बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन, आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन ।’ पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको उनले बताइन् । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ उनले भनिन्, ‘यस्तोमा कसो गरी कोरोनाबाट बच्ने ?’

कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ । त्यससँगै कुरुवाको संख्या पनि उत्तिकै छ । कतिसम्म भने संक्रमित र कुरुवा छुट्याउनसमेत सकिँदैन । बिरामीलाई कुर्दा आफैंलाई संक्रमणको त्रास बढेपछि कुरुवाहरू गीताझैं क्षुब्ध छन् । त्यसैमध्येका कुरुवा हुन्, दीर्घबहादुर तिरुवा । उनले कोरोना संक्रमित भाइलाई आईसीयूमा भर्ना गरेका छन् । अस्तव्यस्त हालतमा कुर्दाकुर्दा उनी आफैं संक्रमणको संघारबाट गुज्रिन बाध्य छन् । ‘भुइँमै रात बित्छ, भुइँमै दिन जान्छ,’ उनले सुस्केरा हाले, ‘यस्तो दुःख त कसैलाई नपरोस् ।’

बैजनाथ गाउँपालिका–४ बस्ने सुशीला थापाकी बहिनी संक्रमित भइन् । भारतबाट आएको केही दिनमा बिरामी परेकी बहिनीको उपचार गराउन अस्पताल ल्याएपछि उनमा संक्रमण पुष्टि भयो । संक्रमित बहिनीको रेखदेखका लागि कुरुवा बस्ने कोही नभएपछि गीताले नै साथ दिइरहेकी छन् । उनले अहिले अस्पतालमा कोरोना संक्रमितको बिजोग अवस्था देखेर मन खिन्न भएको बताइन् । उनका अनुसार सेवामा खटिएका स्टाफ नर्ससमेत आफू संक्रमित हुने डरले बिरामी हेर्न मान्दैनन् । आफ्नै आँखाअगाडि मंगलबार राति पानी खान दिने मान्छेसमेत नभएर एक संक्रमित पुरुषको मृत्यु भएको उनले सुनाइन् । ‘संक्रमितले पानी पनि खान नपाएर ज्यान त्याग्नु परिरहेको छ,’ उनले भनिन्, ‘कसैलाई कुनै वास्ता छैन ।’ अस्पतालमा पीपीई लगाएका स्टाफ नर्स भएर पनि बिरामीले सेवा पाउन नसकेको कुरुवाहरूले गुनासो गरेका छन् । ‘यहाँ यत्रो स्टाफ हुनुहुन्छ, खोइ त स्वास्थ्यकर्मीको जिम्मेवारी ?’ सुशीलाले प्रश्न गरिन्, ‘एउटा मास्कको १० रुपैयाँ पर्छ । सेनिटाइजर र मास्क त हुनुपर्‍यो नि कम्तीमा ।’

नेपालगन्ज, फुलटेक्राकी एक महिलाको परिवारमा आमा, बुबा र दाजु कोरोना संक्रमित छन् । आमा र दाजुको स्वास्थ्य सामान्य भएकाले उनीहरू भने घरमै आइसोलेसनमा छन् । ‘बुबालाई भेरी अस्पतालमा आईसीयूमा भर्ना गरिएको छ,’ उनले भनिन्, ‘परिवारका तीनै जना संक्रमितको हेरचाह गर्ने म एक्लै हुँ ।’ सबैभन्दा बढी चिन्ता उनलाई यतिबेला बुबाको स्वास्थ्यको छ । भेरी अस्पतालमा कोरोना वार्डमा राखिए पनि बेलैमा उपचार गराउन उनले स्वास्थ्यकर्मीसित झगडा नै गर्नुपरेको सुनाइन् । ‘मेडिकल राउन्डमा डाक्टरहरू नै हुँदैनन्,’ उनले भनिन्, ‘धेरैपटक अनुरोध र झगडा गरेपछि मात्रै सुनुवाइ हुन्छ ।’

अस्पतालमा संक्रमित बिरामीको चाप अत्यधिक छ । भेरी अस्पतालका मेडिकल विभाग प्रमुख तथा फिजिसियन डा. राजन पाण्डेले स्वास्थ्यकर्मीको अभाव हुँदाहँॅदै पनि सक्दो सेवा प्रदान गरिएको बताए । उनका अनुसार अस्पतालमा ६ जना बिरामीलाई मात्र अक्सिजन दिन सक्ने क्षमता छ । तर कोभिडका कारण सयभन्दा बढी बिरामी भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका छन् । एक जना नर्सले ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । ‘स्थिति नियन्त्रणबाहिर गएकाले बिरामीले चाहेजस्तो सुविधा हुन सक्दैन, कोभिडका बिरामीको उपचार गर्ने जिम्मा अस्पतालको मात्र होइन,’ उनले भने, ‘परिवार, समाज, समुदाय, राज्य सबैले उत्तिकै सहयोग गर्नुपर्छ ।’ अस्पतालमा नर्सिङ स्टाफ १० जना, एनेस्थेसिया विशेषज्ञ १०, सहयोगी २० जना थप जनशक्ति तत्काल खाँचो रहेको उनले सुनाए । पटक–पटक प्रदेश र केन्द्रमा जानकारी गराइरहे पनि कुनै पहल नभएकाले भएकै जनशक्तिले सेवा दिनुपरेको उनले बताए ।

संक्रमित फर्काइँदै

नेपालगन्जमा सञ्चालित साइनिङ स्टार अस्पतालका एक चिकित्सक संक्रमित भएपछि भर्ना हुन बिहीबार भेरी अस्पताल पुगे । कोरोना वार्ड पूरै भरिएको भन्दै उनलाई फर्काइयो । संक्रमण देखिएका चिकित्सकले स्वास्थ्यमा समस्या भइरहेकाले भर्ना गरिदिन पटक–पटक अनुरोध गरिरहे । तर अस्पताल प्रशासनले चाहेर पनि भर्ना लिन सकेन । कोरोना वार्डका कुनाकाप्चामा पनि बेड राखेर संक्रमितलाई भर्ना गरिएको छ । सहकर्मी चिकित्सक संक्रमित भएका बेला अस्पतालमा भर्ना गरेर उपचार गर्नुको साटो फिर्ता पठाउँदा त्यहाँका स्वास्थ्यकर्मी र चिकित्सकको मन कति भारी भयो होला ? ‘कुरै नगर्नुस् । सँगै काम गरेको चिकित्सकलाई अस्पताल भर्ना गर्न नसक्दाको पीडा भनेर साध्य हुँदैन,’ डा. पाण्डेले भने, ‘बिरामीलाई भर्ना गर्न सकिँदैन, घर जानुस् भन्नुजस्तो पीडा अरू के हुन सक्छ ?’

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा खटिएका दुई स्वास्थ्यकर्मीमा बिहीबार संक्रमण देखियो । अस्पतालले बेड नभएका कारण आफ्नै स्टाफलाई भर्ना गर्न सकेन । दुई जनालाई होम आइसोलेसनमा बस्न पठाइएको छ । आफू रातदिन कार्यरत अस्पतालले बिरामी भएका बेला भर्ना नगरेपछि उनीहरूले मन थाम्न सक्ने कुरै थिएन । संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीले पनि अस्पतालमा भर्ना नपाएपछि यहाँको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

भेरी अस्पतालमा रहेको १ सय ४२ आइसोलेसन वार्ड भरिइसकेका छन् । ३५ आईसीयू बेड र ७ भेन्टिलेटर पनि खाली छैन । पछिल्लो समय कोरोनाको लक्षण तीव्र देखिन थालेपछि परीक्षण गराउनेको संख्या पनि बढेको छ । परीक्षण गरिएकामध्ये ८० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमित पुष्टि भएपछि सर्वसाधारणले आइसोलेसन बेड पाउन कुर्नॅपर्ने अवस्था आइलागेको छ । संक्रमणमुक्त भएर डिस्चार्ज भएपछि मात्र अर्को संक्रमितले भर्ना पाउने स्थिति छ । बर्दियाको बारबर्दियाकी एक महिलाले करिब पाँच घण्टा पालो कुरेपछि बिहीबार राति भेरीको कोभिड वार्डमा भर्ना पाइन् । ‘भाग्यले साथ दियो, एक जना डिस्चार्ज भएपछि भर्ना मिल्यो,’ उनले भनिन् । दैनिक सयौं जनामा संक्रमण देखिन थालेपछि भेरी अस्पतालले ‘स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको’ भन्दै उपचार गर्न सक्ने अवस्था नरहेको जनाएको छ । अस्पतालका सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोभिडका लागि छुट्याइएका सबै १ सय ४२ बेड भरिभराउ भइसक्दा पनि संक्रमित आउने क्रम जारी रहेको बताए । ‘यस्तो अवस्थामा हामी मूकदर्शक भएर बस्नेबाहेक केही गर्न सक्ने अवस्था छैन,’ उनले भने ।

विषम परिस्थितिमा जिल्लाभरि रहेका सबै अस्पताल, स्वास्थ्य संस्थामा कोरोनाका बिरामीको उपचारका लागि व्यवस्था मिलाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । भेरीको कोरोना वार्ड भरिएपछि राँझास्थित ह्वाइटहाउसलाई पनि आइसोलोसन वार्ड बनाइएको छ । बिहीबारमात्रै ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । एक हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले संक्रमित बिरामीलाई आँसु झारेर बेड छैन भन्नुपर्ने बाध्यता रहेको बताए । बाँकेमा सरकारीस्तरबाट भेरी र निजीबाट शिक्षण अस्पताल नेपालगन्जले कोरोनाका बिरामी लिँदै आएका छन् । तर वार्डहरू भरिएपछि अन्य अस्पतालमा पनि संक्रमितको उपचारको व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

प्रकाशित : वैशाख ११, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?