कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराएको ३७ वर्षपछि वासुदेव-कमलाजा मूर्ति घर आइपुग्यो

‘पाटनको नारायण मन्दिरमा प्रतिस्थापन गरिने’
देवेन्द्र भट्टराई

काठमाडौँ — पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएर अमेरिका पुर्‍याइएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) मूर्ति लामो खोज–अनुसन्धान र कूटनीतिक प्रयत्नपछि सोमबार घर फर्किएको छ ।

हराएको ३७ वर्षपछि वासुदेव-कमलाजा मूर्ति घर आइपुग्यो

गत वर्ष मात्रै यो मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मुर्ति फर्काएको हो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन(एफबीआई)मा बुझाएको थियो । त्यसपछि एफबीआईले उक्त मूर्ति वासिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो ।

१५औं शताब्दीको मानिने यो सम्पदा के–कसरी चोरिएर अमेरिका पुर्याइएको हो भन्नेबारे एफबीआईले खोजी गरिरहेको छ ।

३५ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकामा प्रदर्शित

सन् १९७० को युनेस्को अभिसन्धिमा हराएका वा चोरिएका यस्ता सांस्कृतिक सम्पदा कहीँ कतै भेटिएमा ‘उत्पत्तिको मुलुक’ (ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधाने छ । यो अभिसन्धिमा नेपाल तथा अमेरिका दुवै हस्ताक्षरकर्ता राष्ट्र हुन् । यो मूर्ति चोरिएकोबारे सन् १९८९ मा प्रकाशित अन्वेषक लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरिएको छ । यो मूर्ति सन् १९८४ मा चोरिएको विवरण वाङ्देलको कृतिमा उल्लेखित छ ।

वासुदेव–कमदाजा मूर्तिलाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउने घोषणा ललितपुर महानगरपालिकाले गरिसकेको थियो । तर, अमेरिकी विदेश मन्त्रालयको सहयोग तथा युनाइटेड पार्सल सर्भिस(यूपीएस)को माध्यमबाट नेपाली पक्षले कुनै खर्च नगरी मूर्ति काठमाडौं ल्याइपुर्‍याइएको हो ।

‘सोमबार अपरान्ह मात्रै मूर्ति काठमाडौं उत्रिएको छ, कार्गो छुटाउने अर्थ मन्त्रालयको प्रक्रिया र अन्य कागजी काम नटुंगिएकाले मंगलबार मात्रै यो सम्पदालाई पुरातत्वले बुझ्नेछ,’ पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कान्तिपुरसँग भने, ‘त्यसपछि मात्रै मूर्ति प्रतिस्थापनका अरु प्रक्रियाहरु अघि बढ्नेछन् ।’

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले घर फिर्ता आएको मूर्तिलाई पाटन, पट्को टोलको नारायण मन्दिरमै प्रतिस्थापन गरिने र यसका लागि सुरक्षा संयन्त्रसहितको प्रक्रिया पूरा गर्न केही दिन लाग्ने जानकारी दिए । ‘सम्भवतः मंगलबारै यो मूर्तिको जिम्मा हामीले लिनेछौं,’मेयर महर्जनले भने, ‘त्यसपछि केही दिन यसलाई पाटन म्युजियममा राखेर क्षमापूजासहित पट्को टोलमा लैजानेछौं ।’

सम्पदाविद् रवीन्द्र पुरीका अनुसार, यति महत्वको र पुरातात्विक सम्पदालाई घर फर्काएर तथा सम्बद्ध मन्दिरमै पुनःस्थापना गर्न लागिएको यो पहिलो घटना हो ।

प्रकाशित : चैत्र ३०, २०७७ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?