३५ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकामा प्रदर्शित

वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेखित

मंसिर ४, २०७६

देवेन्द्र भट्टराई

काठमाडौँ — पाटनको नारायण मन्दिरबाट ३५ वर्षअघि चोरिएको पुरातात्विक महत्वको ‘बासुदेव-कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शित गरिएको छ । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (पृष्ठ २४८)मा समेत उल्लेख भएको यो मुर्ति सन् १९८४ मा चोरिएको जनाइएको छ ।

डल्लास म्युजियम अफ आर्टमा प्रदर्शन गरिएकोबारे अमेरिकी कलाविद् र क्युरेटरहरुले समेत चासो राख्दै ‘नेपालबाट चोरिएको मूर्तिका रुपमा’ सार्वजनिक सरोकार राखेका छन् । लैनसिंहले आफ्नो पुस्तकमा दिएको मूर्ति परिचयमा ‘एउटै मूर्तिमा देब्रेतर्फ विष्णु(नारायण) र दायाँपट्टी अर्धलक्ष्मीको आकृति छ । 


पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले नेपालबाट चोरिएको यो कलाकृतिको आधिकारिता पुष्टी हुनासाथै इन्टरपोलमार्फत यो सम्पदा फर्काउन पहल सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘सन् १९७० मा अनुमोदित गैर कानुनी रुपले सांस्कृतिक सम्पत्ति आयातनिर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धि आधारमा पनि पहिचानयुक्त मूर्तिलाई फर्काउन सकिनेछ,' गौतमले कान्तिपुरसँग भने । यसअघि पनि ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेखित मूर्तिहरु अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकमा पाइएपछि युनेस्को अभिसन्धिको प्रक्रियाबाट घर फिर्ता गराइएको छ । 


यसैगरी, भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको अष्टबाहुलनारायणको मूर्ति ४ दिनअघि चारी भएकोमा यसबारे पनि छानविन अघि बढिसकेको निमित्त महानिर्देशक गौतमले बताए । ‘त्यो क्षेत्र सशस्त्र प्रहरीको सुरक्षाघेरामा रहेकाले प्रहरी निकायबाटै यसको खोजीनिती हुने भएको छ, हामीले पत्राचार गरिसकेका छौं,’ गौतमले भने । 

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully