कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अहिलेको अवस्था आउनुमा ओलीमा रहेको दक्षिणपन्थी अवसरवाद जिम्मेवार : खनाल

काठमाडौँ — एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी भएकै कारण राजनीतिक संकट पैदा भएको बताएका छन् । आइतबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा नेता खनालले अहिलेको अवस्था आउनुमा ओलीमा रहेको दक्षिणपन्थी अवसरवाद मुख्य जिम्मेवार रहेको दाबी गरे ।

अहिलेको अवस्था आउनुमा ओलीमा रहेको दक्षिणपन्थी अवसरवाद जिम्मेवार : खनाल

‘ओली सरकारमा एकपछि अर्को भ्रष्टाचारका मुद्दा आउन थाले । पदमा बसेका मान्छे भ्रष्ट छन् भन्ने प्रश्न उठ्न थाले । भ्रष्टाचारकै मुद्दामा एकपछि अर्को मन्त्रीले राजीनामा दिनुपर्‍यो । तर, ओलीले ती प्रश्नको जवाफ आफै दिन थाले, आफै सफाइ दिए । समाजमा कम्युनिष्ट पार्टीले सही काम गर्न सकेनन् भन्ने सन्देश गयो’, खनालले भने, ‘यो सबै ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज हो । उनमा यही हाबी भयो, त्यस्तै कार्यशैली देखियो । दक्षिणपन्थी अवसरवादले अग्रगतिको काम हुन दिँदैन, विचार–विमर्श गर्दैन, पार्टीभित्र असहज स्थिति पैदा गर्छ । अहिले भएको यही हो ।’

नेता खनालले ओलीले पार्टीभित्र एकीकरणमा ध्यान नदिएको, योजना नबनाएको, विवाद मिलाउने कोसिस नगरेको, आलोचना सुन्नै नचाहको र इतिहास भइसकेका दुई पार्टीलाई छुट्टाउने काम गरेको आरोप लगाए । ओलीले नेकपामा हुँदा आफ्नो गुटलाई एमाले भन्न थालेको र उनकै गुटवन्दीले पार्टी ध्वस्त भएको, दक्षिणपन्थी भासमा गएको र क्रान्तिकारी भावनामा कमी आएको खनालको भनाइ थियो । नेता खनालले ओलीमा सत्तामा जसरी पनि टाँसिरहने प्रवृति रहेको पनि सुनाए ।

नेता खनालले ओलीले योग्यता नै नपुगेका पुँजीपतिलाई पार्टीमा भित्राएको पनि आरोप लगाए । ‘पहिला ओलीले गुण्डालाई पार्टीमा भित्र्याए । अहिले पुँजीपतीलाई पार्टी सदस्यता दिने गरेका छन् । के उनीहरु पार्टी सदस्यताका लागि योग्य छन् ?’, खनालले प्रश्न उठाउँदै भने, ‘उनीहरु समर्थक होलान्, मतदाता होलान । तर, विधानले तोकेको मापदण्ड पूरा गरेका छैनन् । विधान विपरीत ओलीले बालुवाटारमा भेला गरेर पार्टीमा पुँजीपती भित्राएका छन् ।’

केही दिन अगाडि ओलीले दुई सयभन्दा बढी उद्योग–व्यावसायीलाई एमाले प्रवेश गराएका थिए । यसैलाई लिएर नेता खनालको टिप्पणी आएको हो ।

नेता खनालले समाजवादी रुपान्तरण गर्ने पार्टी निर्माण गर्ने बेला आएको पनि बताए । ‘इतिहासले जिम्मेवारी दिएको छ । तपाईंहरु पार्टीलाई समाजवादी क्रान्तिको दिशातर्फ लैजान तयार हुनुसु । वैचारिक रुपमा, राजनीतिकरुपमा र संगठनामक रुपमा तयार हुनुस्’, खनालले भने ।

शनिबार मात्रै राष्ट्रपति विद्या भण्डारीले खनाल निवास डल्लुमै पुगेर एमाले विवादमा चासो राखेकी थिइन् । उनले एमाले विभाजनउन्मुख भएको भन्दै एकताका लागि भूमिका खेल्न खनालसँग आग्रह गरेकी थिइन् ।

प्रकाशित : चैत्र २२, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?