कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गर्नु ओलीको तमासा मात्रै हो : नेता नेपाल 

नवौं महाधिवेशनपछि ओलीले मदन भण्डारी फाउन्डेशनको नामबाट गुटबन्दी गरेको नेता नेपालको भनाइ

काठमाडौँ — नेकपा (एमाले) का निलम्बित नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा गरेको टिप्पणी गरेका छन् ।

डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गर्नु ओलीको तमासा मात्रै हो : नेता नेपाल 

‘केपी ओलीका तमासा पनि कति । बालुवाटार बसेर एकै दिन १६५ सडक शिलान्यास रे । ती सडकको डीपीआर भएको छैन, लागत कति लाग्छ थाह छैन । बालुवाटार बसेर स्वीज थिचेर शिलान्यास । त्यो तमासा मात्रै हो । त्यसको कुनै अर्थ छैन,’ नेपालले भने, ‘जनता कुरा हैन काम चाहन्छन् । जनताको मन जित्न कुराले हुँदैन । काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई विर्सजनको दिशामा लान खोज्नु भयो । हामी कम्युनिष्ट पार्टीलाई सही बाटोमा लैजान चाहन्छौं ।’ प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारबाट १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक/एक वटा सडकको शिलान्यास गरेका थिए ।

काठमाडौं जिल्ला कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु नै आधिकारिक एमाले भएको भन्दै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको भनाइ दोहोर्‍याए । ओली पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार भोगिरहेका कार्यकर्तालाई जोगाउन र उत्साहित गर्न आफूहरु लागेको उनले बताए ।

नेपालले नवौं महाधिवेशनपछि ओलीले मदन भण्डारी फाउन्डेशनको नामबाट गुटबन्दी गरेको बताए । ‘केपी ओली पार्टी बनाउन हैन, गुट बनाउन लाग्नु भएको छ । उहाँ सिद्धान्तमा हैन भजन मण्डली बनाउन लाग्नु भएको छ । हामी जनता, राष्ट्रका लागि समर्पित भएर लाग्न खोजिरहेका छौं,’ उनले भने ।

अध्यक्ष ओली कम्युनिष्ट पार्टीबाट विचलित भएको र कम्युनिष्ट पार्टी सिध्याउन लागेको दाबी नेपालको छ । उनले भने, ‘उहाँ कम्युनिष्ट पार्टीबाट विचलित हुनुभएको छ । कुनै दिन कम्युनिस्ट पार्टी विर्सजन गरेको घोषणा गर्न बेर छैन ।’ नेता नेपालले एक/दुई व्यक्तिले बाटो बिराउँदैमा कम्युनिष्ट पार्टी नसिद्धिने बताए । उनले भने, ‘केपी ओली पार्टीमा एकलौटी, मनपरी ढंगले लाग्नु भयो । आफूसँग सहमत नभएका व्यक्तिलाई हटाउन थाल्नु भयो । त्यही हुँदा चुप लागेर बस्न सक्दैनौं । हामी पनि शक्ति हौं भन्ने उहाँले थाहा पाउनु पर्छ ।’

आफूसँग सहमत नहुने व्यक्तिलाई ओलीले पूर्वाग्रह राख्ने गरेको उनको भनाइ छ । ‘केपी ओली बदलाको भावले चल्ने व्यक्ति हुन् । आफूसँग सहमत नभएका व्यक्तिलाई सकाउने, अत्यन्तै पूर्वाग्रह राख्ने मान्छे हुन् । हामी त्यसरी जान सकिँदैन,’ नेपालले भने ।

प्रकाशित : चैत्र २२, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?