कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन पिटिन्छन् विद्यार्थी ?

शिक्षकमा जागिरप्रतिको असन्तुष्टि, पारिवारिक द्वन्द्व र प्रेरणादायी व्यवहारसहितको सिकाइ पद्धति नहुँदा कुटपिट र यातनाका घटना बढ्दै
विद्या राई

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने हीरा केसी गत शुक्रबार प्रिन्सिपल र होस्टल इन्चार्जको कुटाइबाट घाइते भए । परीक्षामा अनुत्तीर्ण अन्य विद्यार्थीलाई प्रिन्सिपल निर्मलबहादुर तामाङ र होस्टल इन्चार्ज सुनीलकुमार योञ्जनले पाइपले पिट्न थालेको देखेपछि हीराले नपिट्न आग्रह गर्दा उल्टै घाइते हुने गरी कुटाइ खाएका हुन् ।

किन पिटिन्छन् विद्यार्थी ?

चैत ३ गते अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानस्थित हंस वाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भए । गणित विषयको गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले गाला र कानमा पिट्दा उनको टाउको र कानमा असर परेको थियो । माघ अन्तिम साता दाङको राजपुर गाउँपालिका–७ को सिक्टा माविका शिक्षक हेमराज विकको कुटपिटबाट कक्षा १० की शर्मिला नेपाली घाइते भइन् । विकले आन्तरिक परीक्षामा गणितमा शून्य नम्बर र एक नम्बर ल्याएको भन्दै केही विद्यार्थीलाई लाठीले कुटेका थिए ।

गत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीलाई आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाइन् । २० पूर्णाङ्कको परीक्षामा १५ भन्दा थोरै नम्बर ल्याउने ३४ विद्यार्थीलाई उनले जति नम्बर नपुगेको हो, त्यति नै पटक ब्लेडले नाडीमा चिर्न लगाएकी थिइन् ।

परीक्षामा अनुत्तीर्णलाई प्रिन्सिपलबाटै कुटपिट

घरपछि सिकाइको दोस्रो पवित्र थलो मानिने विद्यालय नै यातना थलो बन्दै गएको यी प्रतिनिधिमूलक घटना हुन् । तर शिक्षकहरूले भने यस्तो घटनामा कमै गल्ती महसुस गरेको पाइन्छ । पढाइमा लापरबाही गरेपछि बानी सुधार्न सामान्य दण्ड दिइएको उनीहरू बताउँछन् । दाङको घटनामा संलग्न शिक्षक विकले विद्यार्थीले लापरबाही गरेकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको कान्तिपुरसँग बताएका थिए । ‘मैले गल्ती महसुस गरेको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ तर विद्यार्थीको बानी सुधार्ने, अनुशासन र शिष्टता सिकाउने नाममा गरिने निर्घात कुटपिट र यातनाले विद्यालयमा त्रास सिर्जना हुने त छँदै छ, बाल मनोविज्ञानमा पनि असर परिरहेको मनोविद्हरूको तर्क छ ।

‘विद्यालय भनेको सिक्ने थलो हो, अहिले ठीक उल्टो ‘ट्रमा सेन्टर’ जस्तो भइरहेको छ,’ मनोविद् डा. गंगा पाठकले भनिन्, ‘बच्चालाई पिट्यो, पीडा दियो भनेर अभिभावक कानुनी उपचारमा जाला । तर त्यो शारीरिक र मानसिक पीडा विद्यार्थीको जीवनभर रहिरहन्छ ।’ बच्चा बेलामा शिक्षकको ‘टर्चर’ सहे पनि उमेर बढ्दै गएपछि ऊ निराश र आक्रामक हुने पाठकको भनाइ छ । उनका अनुसार मानिसमा गलत गतिविधिहरू उसको बाल्यकाल र त्यतिबेला पाएको पीडा तथा यातनाको उपज हो, जसले व्यक्ति दीर्घकालसम्म मानसिक रोगी हुन सक्छ ।

शिक्षकमा जागिरको असन्तुष्टि, पारिवारिक द्वन्द्व, उसले हुर्केको वातावरणलाई विद्यार्थीमा प्रतिबिम्बित गर्ने, प्रेरणादायी व्यवहारसहितको सिकाइ पद्धति नहुने जस्ता कारणले कुटपिट र यातनाको घटना भएको मनोविद् पाठक बताउँछिन् । शिक्षक भएपछि जे गरे पनि हुन्छ भन्ने प्रवृत्तिले पनि विद्यालयहरू यातनाथलो बन्दै गएको उनको भनाइ छ ।

मुलुकी अपराध संहिता, २०७४ मा कुटपिट वा अंगभंग गर्नेलाई, कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर गोकर्णेश्वरको घटनामा विद्यार्थी कुटपिट गर्ने प्रिन्सिपल र होस्टेल वार्डेनलाई कारबाही गर्नुको साटो मेलमिलापमा टुंग्याइएको छ । घटनालगत्तै पीडितका दाजु मिलन बुढाथोकीले बौद्ध प्रहरी वृत्तमा उजुरी दिएका थिए । सोमबार पीडक पक्षले उपचार खर्च व्यहोर्ने र मैत्रीपूर्ण पठनपाठनको वातावरण मिलाउने, आगामी दिनमा पीडकले शारीरिक, मानसिक पीडा दोहोर्‍याए कानुनबमोजिम सजाय भोग्ने सर्तमा पीडितसँग माफी मागेकाले मिलापत्र गराएको पाइएको छ ।

बौद्ध प्रहरी वृत्तका डीएसपी नवीन कार्कीले पीडक पीडितले बाहिरै मिलेमतो गरेको बताए । ‘हामी कारबाही गर्नेवाला थियौं, घटना थाहा दिए पनि स्कुल प्रशासन र उनीहरू बेपत्ता भए, सोमबार त मिलिसक्यौं भनेर पो जानकारी दिए,’ उनले भने । घटना भएको दिन स्कुलका अध्यक्ष विष्णु मगरले कान्तिपुरसँगको कुराकानीमा ‘गुड एजुकेसन, गुड इन्भाइरोमेन्ट’ लाई ध्यान दिएर सञ्चालन भइरहेको स्कुलको ख्यातिमा असर पर्ने भन्दै समाचार नलेख्न भनेका थिए । अस्पतालमा उपचारत घाइते विद्यार्थी र पीडित पक्षलाई समेत समाचार नलेखाउन धम्की दिएका थिए । प्रहरीले यस्ता घटनामा विद्यार्थी पनि दोषी हुने गरेकाले सहजै ठानिदिन्छन् ।

मनोविद् पाठककै भनाइमा पनि पठनपाठनमा फुर्तीफार्ती देखाउने नाम चलेका विद्यालयभित्रै विद्यार्थीलाई शारीरिक र मानसिक यातना अत्यधिक हुने गरेको छ । उनीहरूको मनपरीविरुद्ध अभिभावकमा पनि चेतना आइसकेकाले शिक्षक र विद्यालयले मैत्रीपूर्ण वातावरणलाई प्राथमिकता दिनुपर्ने सुझाउँछिन् ।

हरेक शिक्षकमा बच्चामैत्री व्यवहार, वैज्ञानिक सिकाइ पद्धति र विद्यार्थीको चाहनाअनुरूप व्यवहार गर्न सक्ने कुशलता हुनुपर्ने उनले बताइन् । ‘मेरो अध्ययनले डिप्रेसन र चिन्ताको सिकार भएका शिक्षकहरू विद्यार्थीमा त्यही व्यवहार ‘रिफ्लेक्ट’ गर्छन्, त्यसैले विद्यार्थी–अभिभावक मात्रै होइन स्वयं शिक्षक नै परामर्शका लागि जानु आवश्यक छ,’ उनले भनिन् ।

प्रकाशित : चैत्र २१, २०७७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?