परीक्षामा अनुत्तीर्णलाई प्रिन्सिपलबाटै कुटपिट- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षामा अनुत्तीर्णलाई प्रिन्सिपलबाटै कुटपिट

विद्या राई

काठमाडौँ — परीक्षामा अनुत्तीर्ण भएको भन्दै गोकर्णेश्वर नगरपालिकाको नयाँबस्तीस्थित बुद्ध एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल र होस्टल इन्चार्जले विद्यार्थी कुटेका छन् । कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।

कक्षा ९ मा पढ्ने १७ वर्षीय हीरा केसीलाई प्रिन्सिपल निर्मलबहादुर तामाङ र होस्टल इन्चार्ज सुनीलकुमार योञ्जनले रड, पाइपलगायतले कुटपिट गरेका उनका छिमेकका दाइ मिलन बुढाथोकीले दाबी गरे । कुटाइबाट केसीको अनुहार, घाँटीमा चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विद्यालय प्रशासनले शुक्रबार बिहान १० बजे परीक्षाको नतिजा प्रकाशन गर्‍यो । अनुत्तीर्ण विद्यार्थीलाई तामाङ र योञ्जनले पाइपले पिट्न थालेपछि हीराले नपिट्न आग्रह गरेका थिए । ‘सर बच्चालाई किन पिट्नु भएको, यसरी नपिट्नुस् भन्दाखेरि उसैमाथि कुटेछन्, रडले पिटेको डाम शरीरभरि छ,’ मिलनले कान्तिपुरसँग भने । हीरालाई कुटपिट गर्नेमाथि कारबाही गरी उपचार खर्चसमेत दिलाइपाऊँ भनी महानगरीय प्रहरी वृत्त बौद्धमा उनले जाहेरी दिएका छन् ।

प्रिन्सिपल तामाङले भने होस्टल इन्चार्जले कुटपिट गरेको भन्दै आफ्नो बचाउ गर्न खोजेका छन् । ‘मैले होइन, होस्टल इन्चार्जले कुटेको हो, फेल भएको भनेर इन्चार्जलाई कुट्न ८/१० जना विद्यार्थी आएछन्, प्रतिकार गरेका हुन्,’ उनले भने, ‘मैले छोएकै छैन, सबै विद्यार्थी, प्रत्यक्षदर्शी र स्वयं कुटाइ खाने विद्यार्थीलाई सोध्नुस्, उसैले होइन भन्छ ।’

बौद्ध प्रहरी वृत्तका डीएसपी नवीन कार्कीले घाइते विद्यार्थीसँग सोधखोज गरी अनुसन्धान अघि बढाउने बताए ।

प्रकाशित : चैत्र १४, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा एकैदिन ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी

नयाँदिल्ली — भारतमा दोस्रो लहरअन्तर्गत कोरोना संक्रमण तीव्र भइरहेको छ । कोरोना खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि कोरोना संक्रमण भने कम भएको छैन । शुक्रबार भारतमा ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

मुम्बई रेल्वे स्टेसनमा यात्रुको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी तस्बिर : रोयटर्स

५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो । पछिल्ला १५ दिनमा भारतमा संक्रमण निकै तीव्र बनेको छ । शुक्रबार मात्रै भारतमा ३२ हजार सक्रिय केस थपिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजारभन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोडभन्दा बढी निको भएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनिरहेकै बेला नयाँ प्रकारको भाइरसको त्रास थपिएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलोपटक कोरोना भाइरसको थप परिवर्तित ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ राज्यमा गरिएको नमुना परीक्षणमा कोरोनाको नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ जीवाणु फेला परेको जनाएको हो । त्यसैगरी, यसअघि नै पुष्टि भएका कोरोनाका नयाँ प्रकारका जीवाणुहरू पनि पर्याप्त संख्यामा भेटिएका मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७७ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×