डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डढेलो विस्तारै घट्दै : घातक प्रदूषणमा समेत केही कमी

वन्यजन्तुको बासस्थान प्रभावित, आन्तरिक उडान सहज बन्दै
तराई क्षेत्रमा घट्दै गए पनि मध्यपहाडका वनहरुमा डढेलो अझै जारी छ । यस वर्षको ‘प्रि–मनसुन’ अवधि एकदमै सुक्खा हुने देखिएकाले वैशाखमा डढेलो झनै विकराल बन्न सक्ने विज्ञहरुको चेतावनी छ ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि राजधानीसहित देशभरको वायु ‘घातक’ बनेको छ ।

पाल्पाको रैनादेवी छहरा–४ को माथिल्लो बाख्रे सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : माधव अर्याल/कान्तिपुर

दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजकसमेत रहेका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले मंगलबार ८१ स्थानमा मात्र डढेलो देखिएको बताए । ‘मंगलबारदेखि केही नियन्त्रणमा आएको देखिन्छ,’ उनले भने, ‘तर डढेलोको पिक सिजन बाँकी नै छ, त्यो बेला अझ विकराल बन्न सक्छ । सचेत हुनैपर्छ ।’ उनका अनुसार वैशाख महिनामा डढेलोको जोखिम अझ बढी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको प्रि–मनसुनको अवधि अत्यन्तै सुक्खा हुने बताएको छ । सुक्खा बढेकै कारण डढेलोजन्य विपद् बढेको हो ।

आइतबार ५ सय २३ स्थानमा र सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ‘मध्यपहाडी क्षेत्रका वनमा डढेलो लागेकै देखिन्छ,’ शर्माले भने । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूले तालिमप्राप्त जनशक्ति परिचालन गरेका छन् । बाराका डिभिजनल वन अधिकृत मन्जुर अहमदले डढेलो नियन्त्रणका लागि ‘कन्ट्रोल फायरिङ’ लाई जोड दिइएको बताए ।

‘डढेलोले जंगलमा रहेका काठ क्षति नगरोस् भनेर कन्ट्रोल फायरिङ पनि गरेका छौं ।’ डिभिजन वनले डढेलो र वन्यजन्तु तस्करी नियन्त्रणका लागि कर्मचारी परिचालन गरेको छ । तर पर्याप्त मात्रामा डढेलो निभाउने उपकरण अभावले अप्ठ्यारो ठाउँको डढेलो भने नियन्त्रण लिन नसकिएको अहमदले बताए ।

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले नियन्त्रणमा लिन सकिने किसिमको डढेलो व्यवस्थापनका लागि सबै डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराइएको बताए । ७ वटै प्रदेशका डिभिजन वन कार्यालयले केही हदसम्म डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । संघीयतापछि निकुञ्ज–आरक्ष र संरक्षित क्षेत्रबाहेकको वन प्रदेशअन्तर्गतका वन मन्त्रालयमातहत व्यवस्थापन हुने गरेको छ । यसैबीच गत शुक्रबारदेखि देशका विभिन्न भागमा लागेको तुवाँलो चौथो दिन केही घटेको छ । सौराहाबाहेक काठमाडौं बाहिरका जिल्लाहरूमा तुवाँलो घटेपछि आन्तरिक हवाई उडान सहज भएको छ ।

प्रदूषण बढेपछि बालबालिकालाई रूघाखोकी, नाक, घाँटीको एलर्जी र फोक्सोमा समस्यापर्साको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । पर्सा राष्ट्रिय निकुञ्जको विभिन्न भागमा लागेको डढेलो नियन्त्रणमा लिइसकिएको निकुञ्जका रेन्जर प्रकाश पुनले जानकारी दिए । उनका अनुसार निकुञ्जको दक्षिणी भेग तथा मकवानपुरका विभिन्न स्थान, निकुञ्ज कार्यालयदेखि त्रिभुवन राजपथपूर्व बाराको वन क्षेत्र र मकवानपुरतर्फ चुरियामाई मन्दिर आसपास निकुञ्जको मध्यवर्ती क्षेत्रमा पनि डढेलो लागेको थियो ।

पर्सामा निकुञ्जको आधाभार, महादेव क्षेत्रमा पनि डढेलो लागेकोमा नियन्त्रणमा आइसकेको पुनले दाबी गरे । ‘डढेलो नियन्त्रण गर्न निकुञ्जकर्मी र नेपाली सेनाको संयुक्त टोलीले सक्दो प्रयास गर्‍यो,’ उनले भने, ‘कतिपय स्थानमा दमकल प्रयोग गरेरै आगो निभाइयो, फायरलाइन बनाएर पनि आगो नियन्त्रणमा लियौं ।’ निकुञ्जलाई विभिन्न स्थानमा सडक तथा राजमार्गले घेरेको हुनाले बर्सेनि डढेलो लाग्ने गरेको उनले बताए ।

एसियाभर प्रदूषण उच्च : नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै

डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले राष्ट्रिय वनको विभिन्न स्थानमा लागेको डढेलो साताअघि नियन्त्रणमा लिइसकिएको बताए । ‘पर्सागढी नगरपालिको बडनिहार क्षेत्रमा लागेको डढेलो तथा रंगपुर टाँडीको भतौडा वन क्षेत्रमा लागेको डढेलो आफ्नै जनशक्ति प्रयोग गरेर नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने, ‘वसन्तपुरमा गत साता मात्रै सरोकारवालाको अन्तर्क्रिया गरी डढेलो नियन्त्रणका लागि अपनाइने उपायबारे जानकारी गराएका थियौं ।’ सौराहामा मंगलबार २४ घण्टाको एक्यूआई ३ सय २४ रह्यो भने काठमाडौं र अन्य सहरमा तीन सयभन्दा कम भएको प्राविधिकहरूले बताएका छन् ।

डिभिजन वन कार्यालयका अनुसार पाल्पाका ४७ सामुदायिक वनमा डढेलो लाग्दा १ हजार ३ सय ३१ हेक्टर जंगल सखाप भएको छ । तानसेनका १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।

कतिपय स्थानमा छिटो घाँस पलाउने बहानामा डढेलो लगाइएको हुन सक्ने तिनाउ सबडिभिजनका सहायक वन अधिकृत रामध्यान साहले बताए । कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको तिनाउ वन समन्वय समितिका पूर्वअध्यक्ष अमर प्रधानले बताए ।

खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७ बल्ढेङगढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताए । चुरे र तराईसँग जोडिएका जंगलमा पनि डढेलो लागेको उनको भनाइ छ । ‘जंगली जनावर, चराचुरुंगी तथा वननजिकका बस्तीहरूमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नयाँ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या हुन्छ ।

डिभिजन वन, सबडिभिजन वन कार्यालयले जंगलमा लाग्ने डढेलोविरुद्धमा सचेतना कार्यक्रम गर्दै आएको छ । तर डढेलो लाग्न भने रोकिएको छैन । तिनाउ गाउँपालिकाअन्तर्गत तिनाउ वन समन्वय समितिले ८७ वटा सामुदायिक वन उपभोक्ता समूहको भेला बोलाएर ‘डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहको अग्रसरता’ विषय र्‍याली तथा सभा आयोजना गरेको छ । तिनाउमा ८७ मध्ये ५० बढी सामुदायिक वन चुरे क्षेत्रमा पर्छन् । तिनाउकै चुरे क्षेत्रमा बढी आगलागी हुने गर्छ ।

पहाडी र तराई भेगका वन उपभोक्तालाई सचेत गराउँदै डढेलोबाट रोक्न यस्तो प्रतिबद्धता गराइएको तिनाउ गाउँपालिकास्तरीय सामुदायिक वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले बताए । उता सिन्धुलीका धेरैजसो वनमा डढेलो लागेको छ । सालिन्दा लाग्ने डढेलो नियन्त्रणमा उपभोक्ताले चासो दिन छाडेका छन् ।

सिन्धुलीमाडीको खाडीखोला र कोप्चेखोला सामुदायिक वनमा लागेको डढेलोले रातको समयमा सदरमुकाम क्षेत्र नै उज्यालो बनाउने गरेको छ । चार दिनदेखि लागेको डढेलो नियन्त्रण नहुँदा दिउँसो धूवाँको मुस्लो देखिने र डढेलो बस्तीमै आउलाजसरी आगो दनदनी बल्ने गरेको स्थानीय बताउँछन् । सदरमुकामको सबैजसो सामुदायिक वनमा साताअघिदेखि व्यापक डढेलो लागेको छ ।

सिन्धुली सदरमुकामको खाडीखोला सामुदायिक वनमा लागेको डढेलो । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

सदरमुकामको कमलामाई नगरपालिका–४ को च्याउकोट, कोप्चेखोला र खाडीखोला वडा ८ को कमलामाई, वडा ५ को सरस्वतीलगायत दर्जनौं सामुदायिक वनमा लागेको डढेलो निभेको छैन । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हितलाल श्रेष्ठ दुई दिनदेखि सदरमुकाम आसपासका सामुदायिक वनमा डढेलो व्यापक भएको बताउँछन् । डढेलोको धूवाँका कारण वायुमण्डल नै तुवाँलोले ढाकेको र मानिसलाई समेत आँखा पोल्ने जस्तो समस्या देखिन थालेको कमलामाई–६ रातमाटाका सन्तोष शर्माले सुनाए ।

वन्यजन्तुको बासस्थान प्रभावित

डिभिजन वन चन्द्रनिगाहपुरअन्तर्गत राष्ट्रिय वनभित्र लागेको डढेलो नियन्त्रणतिर रहे पनि वन्यजन्तु बासस्थलबाट विस्थापित भएका छन् । वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा डढेलोबाट जोगिएको वन क्षेत्रमा पुगेका छन् । डढेलोले हालसम्म उत्तरी चुरे, पश्चिमको सामुदायिक वन क्षेत्र मात्र जोगिएका छन् । रौतहटको कुल २९ हजार ४ सय हेक्टर वन क्षेत्रमध्ये ४ हजारभन्दा बढीमा डढेलो लागेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यस्तो अवस्थामा चोरी सिकारी र वन्यजन्तुलाई सकस पर्ने सहायक वन अधिकृत साहले बताए । राष्ट्रिय वन क्षेत्रभित्र धेरै स्थानमा घोल छ । पानी पिउन र त्यसको वरपर वन्यजन्तुले बासस्थान बनाउँछन् । अहिले आगोको रापले सबै उजाड बनेको छ । फायरम्यान पठाइए पनि नियन्त्रणमा आएको छैन । यहाँको राष्ट्रिय वनमा पाटेबाघ, भालु, हरिण, मृग, जरायो, घोडघोदा, बँदेल, सर्प र निकुञ्जबाट आउने गैंडा, हात्तीलगायत वन्यजन्तु छन् । उनीहरूलाई अहिले बासस्थानको खाँचो भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । आगोले साना झाडी र सुकेका पात डढ्दा टाढासम्म वन्यजन्तुको गतिविधि देखिन्छ । यो समय वन्यजन्तुका लागि निकै पीडादायी हुने गरेको डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले बताए । ‘डढेलोले वन्यजन्तुको बासस्थान बिथोलिएको छ । सुरक्षा खोज्दै चुरे क्षेत्र जान थालेका छन्,’ उनले भने, ‘यस्तो बेला उनीहरूलाई जोगाउन लाग्नुपर्छ ।’ जाडोको समय रूखको पात सुकेर झर्छ । सुक्खा मौसममा यही पातमा पशुचरणको क्रममा गोठाला र सिकारीले आगो लगाउँछन् । यसबाट जोगिन वन्यजन्तु राजमार्ग वारपार गर्छन् । तराईको चारकोसे झाडी वन्यजन्तुको बासस्थानका रूपमा परिचित छ ।

-साथमा शिव पुरी (रौतहट), शंकर आचार्य (पर्सा), माधव अर्याल (पाल्पा) र राजकुमार कार्की (सिन्धुली)

प्रकाशित : चैत्र १८, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्

ज्याला रोकिएपछि मजदुरहरुले होली मनाउन पाएनन्

राजकुमार कार्की

सिन्धुली — ठेकेदारले पैसा नदिएपछि दुधौली नगरपालिका २ गागनमा निर्माणाधीन विद्यालय भवनमा कार्यरत मजदुरहरुले यसपटक होली मनाउन पाएनन् । भानु माविको निर्माणधिन भवनमा महिना अघिदेखि काम गरेका मजदुरहरुले पैसा नपाएपछि होली मनाउन तराई घरमा जान नपाएका हुन् ।

सिन्धुली दुधौली नगरपालिका २ को रतनपुरमा निर्माणाधिन भवनमा काम गर्ने मजदुरहरु । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

होली मनाउन घर जान ज्याला माग्दै तीन दिनअघिदेखि मजदुरहरुले काम रोकेका थिए । मजदुरहरुले ४२ दिन काम गरेको ज्याला पाएका छैनन् ।

सप्तरी, सिरहा र बर्दियाका ७२ जना मजदुरहरु भानु माविको निर्माणधीन भवनमा काम गर्दै आएका छन् । मजदुरी गरेको रकम नपाएपछि आफूहरु निराश भएको सप्तरीका नारायण शाहले सुनाए । 'हाम्रो महान् चाड होलीका लागि सबै मजदुर घर जाने तयारी थियौं, ठेकेदार कम्पनीलाइ यो सबै थाह थियो', उनले भने, ‘पैसा नपाएपछि बन्धकजस्तै भएर बस्नु परेको छ । सबैको होली चाड छुट्यो ।’

मजदुरी गरेर कमाइ गरी घरमा रंगिन पर्व होली मनाउने सपना ठेकेदारले पैसा नदिएपछि चकनाचुर भएको बर्दियाका आदित्य चौधरीले दुखेसो पोखे । 'हामीसँग एकपैसा पनि छैन्, गाडी भाडामात्र भएको भए पनि रित्तै घर जान्थ्यौं, तर उपाय लागेन ।’ मजदुरहरुले काम गरेको ज्याला भुक्तानी मात्र नपाएका होइनन् । मेसमा खान पनि नपाउने अवस्था छ । मजदुर मसिलाल चौधरीका अनुसार एकबोरा दालबाहेक मेस भान्सामा अन्नको गेडो, छैन्, होलीको दिनमा चुल्हो नबलेको उनको भनाइ छ ।

यूएसएडको सहयोगमा मकवानपुर हेटौंडाको बाँनिया कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीले मजदुरहरुलाई ३२ लाखको हाराहारीमा भुक्तानी गर्नुपर्ने छ । कन्ट्रक्सनका इन्जिनियर सागर भण्डारी मजदुरहरुलाई रकम भुक्तानी नहुँदा आफूसमेत घेरिएर बस्नु परेको सुनाउँछन् । उनले भने, 'हामी पेटी कन्ट्याक्टर हौं, एमविएल कम्पनी दुवइले ग्लोबल टेण्डरमार्फत ठेक्का लिएको हो ।’ ठेकेदार कम्पनीसँग पेटी कन्ट्याकमा मजदुरहरुलाई हेटौंडाकै प्रेम लामाले ल्याएका थिए । लामासँग सम्पर्क गर्दा ठेकेदार आफू नभएको बताएको मजदुरहरुले जनाएका छन् ।

निर्माण कम्पनीसँग सम्झौता गरेर लामाले मजदुरहरुलाई ल्याएका थिए । फागुन २० गतेसम्मको मजदुरहरुले पाउने रकम लामालाई भुक्तानी गरेको इन्जिनियर भण्डारीको भनाइ छ । 'फागुन २० पछिको भुक्तानी बाँनीया कन्ट्रक्सनले गर्ने हो, त्यो भन्दा अगाडिको पैसा लिएर भुक्तानी गर्न आउँछु भनेर हिंडेका लामा नआउँदा समस्या भयो', उनले भने, ‘चाडमा भुक्तानी नहुँदा मजदुरलाई परेको समस्यामा हामी पनि दुखी छौं ।’ एमविएलले विद्यालयका तीनवटा भवन पुनर्निर्माणका लागि यूएसएडबाट ४५ करोडको ठेक्का पाएको थियो ।

गत भदौदेखि सुरु भएको काम १५ महिनामा सम्पन्न गर्नुपर्ने छ । स्थानीय रेखराज दाहाल मजदुरहरुलाई काम गरेको ज्याला भुक्तानी नदिएर ठूलो अन्याय गरेको बताउँछन् । भन्छन्, ‘होली मान्न घर जान नपाएर मजदुरहरुको रुवाबासी छ, बाहिरी मुलुकमा जस्तै गेट लगाएर बन्धक बनाएर राखिएको छ, स्थानीय प्रशासन तथा स्थानीयतहले अनुगमन गरी मजदुरलाई मुक्त गर्न ढिलो गर्न हुन्न ।’

बाँनिया कन्ट्रक्सन वाग्मती प्रदेशसभा कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाँको हो ।

प्रकाशित : चैत्र १७, २०७७ २२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×