एसियाभर प्रदूषण उच्च : नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै- समाचार - कान्तिपुर समाचार

एसियाभर प्रदूषण उच्च : नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै

अब्दुल्लाह मियाँ

काठमाडौँ — वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यूएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ ।

सोमबार दिउँसो देखिएको ‘आईक्यूएअर अर्थ’ र काठमाडौंको तस्बिर

‘आईक्यूएअर अर्थ’ को सोमबार दिउँसोको तस्बिर । तस्बिरमा रातोले अस्वस्थकर वायुको क्षेत्र संकेत गर्छ ।

‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदूषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’

आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । ‘म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भने, ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण रहेको बताउँछन् । ‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदूषण हट्थ्यो । अहिले कत्ति पनि हावा चलेको छैन,’ उनले भने, ‘अर्को, डढेलोजन्य गतिविधि हो । नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूवाँ काठमाडौंसम्मै आइपुगेको छ ।’ उनका अनुसार नेपालका वनमा मात्र लागेको डढेलोले यति धेरै असर गरेको होइन ।

श्रेष्ठले पश्चिमी वायु सशक्त हुने हो भने प्रदूषण हट्न मद्दत पुग्ने बताए । तर अहिले तत्काल पानी पार्ने प्रणाली भित्रिने कुनै संकेत नभएको मौसमविद्को विश्लेषण छ । ‘मंगलबारदेखि हल्का वायु चल्ने मोडलहरूले देखाएका छन्,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘प्रदूषण पूरै नहटे पनि भिजिबिलिटीमा सुधार आउन सक्छ ।’ उनका अनुसार सोमबार अपराह्नदेखि तराई क्षेत्रमा भने भिजिबिलिटीमा उल्लेख्य सुधार आएको छ । तराईमा ४ हजारदेखि ८ हजार मिटरसम्म भिजिबिलिटी भए पनि काठमाडौं, पोखरालगायतका स्थानमा सोमबार १५ सय मिटर हाराहारी मात्र थियो । ‘पूरै प्रदूषण हट्न भने ठूलो पानी पार्ने प्रणाली नै भित्रिनुपर्छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुमनकुमार रेग्मी अझै ३ तीनसम्म वायुमण्डल स्थिर रहने भएकाले तुवाँलोको अवस्थामा कुनै सुधार नआउने बताउँछन् । ‘तुवाँलोको अवस्था के कस्तो हुने डढेलोको अवस्थामा निर्भर रहन्छ,’ उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तुवाँलोले आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या आउने भएकाले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन अनुरोध छ ।’ रेग्मीका अनुसार अहिलेसम्म मनसुनपूर्व (प्रि–मनसुन) को वर्षा अत्यधिक न्यून मात्र भएको छ । ‘वायुमण्डल सुक्खा भएको अवस्थामा तुवाँलो लाग्नु स्वाभाविक भए पनि चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो छ,’ विज्ञप्तिमा छ, ‘वायुमण्डल अझै स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरू छरिन नपाई तल्लो तहमै तैरिन गएकाले विकराल अवस्था देखिएको हो ।’

वायु प्रदूषणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अरनिको पाण्डे सवारीसाधन, उद्योगलगायतले उत्पादन गर्ने प्रदूषणमा डढेलोको धूवाँ धेरै थपिएपछि अहिले विकराल अवस्था देखिएको विश्लेषण गर्छन् । ‘विगतमा पनि फागुनदेखि डढेलो लाग्ने गरेको हो,’ उनले भने, ‘तर, केही वर्षयता डढेलोको संख्या र फैलावट बढेको छ ।’ यसरी डढेलो बढ्नुमा जलवायु परिवर्तनसमेत कारण रहेको उनको व्याख्या छ । ‘जलवायु परिवर्तनले सुक्खा बढेको छ, सुक्खा बढ्दा डढेलो वृद्धि भएको छ,’ उनले भने, ‘सुक्खा बढ्ने र एकैपटक वर्षा बढी हुनेजस्ता घटना भइरहेका छन् ।’ पाण्डेले पनि भारतका विभिन्न स्थानमा खेतीबालीका लागि एकैपटक धेरै आगो बाल्दा नेपालमा समेत असर परेको बताए । ‘पन्जाबको धूवाँ एक दिनमा नेपाल आइपुग्छ,’ उनले भने, ‘यसपटक त्यो धूवाँमा नेपालको प्रदूषण र डढेलोको धूवाँ मिसियो ।’

केही वर्षयता हिमाली क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्ने गरेको छ । मनाङ, गोरखा, लमजुङ, ताप्लेजुङ, बझाङलगायतका जिल्लामा लगातार एक महिनासम्म डढेलो लागेको थियो । चिसो याममा लामो समय एकनासले डढेलो लाग्नुमा पनि जलवायु परिवर्तनको कारण हुन सक्ने जानकारहरू बताउँछन् । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक सुन्दरप्रसाद शर्मा विगतका डढेलोभन्दा यो वर्षको डढेलोलाई फरक हिसाबले हेर्नुपर्ने बताउँछन् । ‘डढेलो मात्र होइन, एट्मोसफेयरिक ब्राउन क्लाउड (एबीसी) का कारण पनि प्रदूषणको मात्रा बढेको हो,’ उनले भने, ‘ब्ल्याक कार्बन, सल्फर र अन्य हानिकारक डस्ट पार्टिकल लामो समयदेखि आकाशमा तैरिएका छन्, जुन स्वास्थ्यका लागि हानिकारक छन् ।’

नेपालमा चैत १३ गतेपछि डढेलोको फैलावट र घटना बढिरहेको छ । १३ गते एकै दिन ५ सय २३ स्थानमा डढेलो लागेको थियो । डढेलोको संख्या घट्दै गए पनि फैलावट यथावत् रहेको शर्माले बताए । सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको देखिन्छ । सुर्खेत, बाँके, दाङ, उदयपुर, चितवन, सिन्धुली, पर्सा र बर्दियामा ठूलो मात्रामा डढेलो लागेको छ । आईक्यू एअरका अनुसार सोमबार दिउँसो काठमाडौं विश्वका ९४ सहरमध्ये दोस्रो बढी प्रदूषितमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान सहर थियो । प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौंथो, भारतको कोलकाता पाँचौं स्थानमा थिए । यस्तै म्यान्मारको यांगुन र भारतकै दिल्ली क्रमशः छैटौं र सातौं स्थानमा थिए । नेपालमा सोमबार काठमाडौंसहित विभिन्न स्थानमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको भन्दा बढी रेकर्ड भएको छ ।

‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज’ का निर्देशक उत्तमबाबु श्रेष्ठले अहिलेको वायु प्रदूषण एकाएक देखिएको समस्या नभएको बताए । ‘२०–३० वर्षअघि नै काठमाडौंको प्रदूषण भयावह भएकाले सुधार गर्नुपर्छ भनेर काम सुरु भएको हो,’ उनले भने, ‘नीतिनियम कार्यान्वयन नहुँदा अहिलेको अवस्था निम्तिएको हो । अहिले समस्या परेपछि डढेलो र भारतबाट आएको धूवाँ भनेर सरकारी निकाय पन्छिन मिल्दैन ।’

वातावरणविद् भूषण तुलाधरले प्रदूषणले विकराल रूप लिइसक्दा पनि सरकारले ‘इमर्जेन्सी’ भनेर युद्धस्तरमा काम गर्नेतिर ध्यान नदिएको गुनासो गरे । ‘यो मन्त्रिपरिषद्मा छलफल गर्नुपर्ने विषय हो,’ उनले भने, ‘डढेलोलगायत विपद्लाई न्यून गर्न सुरक्षा निकायलाई परिचालन गर्न सकिन्थ्यो, त्यसमा ढिलाइ भयो । कोभिड नियन्त्रणमा जस्तै चासो अहिले देखाउनुपर्ने बेला आएको छ ।’

प्रकाशित : चैत्र १७, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

रुसमा नेपाली भाषाका प्रचारक कृष्णप्रकाश श्रेष्ठको निधन 

कान्तिपुर संवाददाता

काठमाडौँ — रुसमा बसेर नेपाली भाषा–साहित्यको संवर्द्धनमा गर्दै आएका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ ।जगदम्बा पुरस्कार विजेता श्रेष्ठको सोमबार रुसको राजधानी मस्कोमा निधन भएको हो । 

८३ वर्षीय श्रेष्ठले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए । उनले केन्द्रमार्फत रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यमा योगदान पुऱ्याएका थिए ।

श्रेष्ठका ‘इ.भा.मिनाएभको नेपाल’, ‘रुसमा नेपालको अध्यन’, ‘रुसी महावीरहरुको कथा’, ‘नेपाली किंवदन्तीमाला’, ‘स्थाननामकोष’, ‘दर्शनशाश्त्रको प्रारम्भिक ज्ञान’, ‘रुसमा नेपालको छवि’ लगायतका एक दर्जनभन्दा बढी रचना–कृति प्रकाशित छन् । नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा संलग्न भएर श्रेष्ठ आधा शताब्दीयता नेपाली वाङ्मयको प्रचार र प्रवद्र्धनमा संलग्न थिए । उनलाई २०५९ सालमा प्रतिष्ठित जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् ।

प्रकाशित : चैत्र १७, २०७७ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×