कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘घरेलु हिंसाले निम्त्याएको दुखान्त’

छोरा–छोरीसहित कर्णालीमा हामफालेको अनुमान

दैलेख र सुर्खेत — आइतबार दिउँसो करिब ४ बजे घरबाट निस्किँदा दैलेखको आठबीस नगरपालिका–३, निमायलकी सुकी बडुवालले छिमेकीलाई ‘खेतमा पानी हाल्न जान्छु’ भनेकी थिइन् । उनले चारजना छोराछोरीलाई पनि लस्कर लगाएर सँगसँगै खेततिर लगेकी थिइन् ।

‘घरेलु हिंसाले निम्त्याएको दुखान्त’

सुकीका भिनाजु नाता पर्ने कुलबहादुर सिजापतिका अनुसार सुकी र उनका दुई छोरीले डोको पनि बोकेका थिए । उनीहरु साँझ छिप्पिदासमेत घर फर्केनन् । छिमेकीले यसमा चासो राखेनन् । नसामा लठ्ठिएका श्रीमान्ले घर नफर्केकोमा खोजखबर गरेनन् ।

सोमबार मध्यान्ह कर्णाली नदीको तिरबाट अप्रिय खबर गाउँभरि फैलियो । दुईजना किशोरीको शव डोरीले हात बाँधेको अवस्थामा कर्णाली किनारमा भेटियो । सुरुमा अपिरिचित भनिएका ती शव सुकीका दुई छोरीका थिए । ‘त्यसपछि त उनी (साली) र अरु छोराछोरीबारे पनि मनमा चसक पस्यो,’ सिजापतिले भने, ‘आखिर आज (मंगलबार) दुई आमा–छोराको पनि शव भेटियो, यस्तो घटना होला भन्ने त अहिले पनि कल्पना गर्न सकिएको छैन,’ उनले भने । कान्छी छोरी भने बेपत्ता रहेकी उनले बताए ।

प्रहरीका अनुसार जेठी छोरी १५ वर्षीया कल्पना र माइली छोरी १२ वर्षीया सरिताको शव सोमबार र सुकी तथा ८ वर्षीय छोरा ललितको शव मंगलबार भेटिएको छ । चारैजनाको शव मध्यपहाडी राजमार्गअन्तर्गत अछाम–सुर्खेत जोड्ने कर्णाली पुलभन्दा करिब २ सय मिटर तल भेटिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कल्पना र सरिताको शव एउटै डोरीले हात बाँधिएको अवस्थामा भेटिएको छ । सुकी र छोरा ललितको शव पनि एउटै डोरीले बाँधिएको अवस्थामा भेटिएको छ । ललितको शव सुकीको कम्मरमा पछ्यौराको डोरीले बाँधिएको अवस्थामा भेटिएको छ । चारवटै शव अछामको पञ्चदेवल नगरपालिकास्थित टोट्केसाल नजिकै कर्णालीको भंगालोमा भेटिएको प्रहरीले जनाएको छ ।

६ वर्षीया कान्छी छोरी रजनी भने बेपत्ता छन् । दैलेखका जिल्ला प्रहरी प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठका अनुसार शव भेटिएको स्थान सुकीको घरदेखि करिब १ घण्टा पैदल दूरीमा रहेको छ । घटनास्थलनजिकै एकजोर चप्पल भेटिए पनि त्यो चप्पल कसको हो भन्नेबारे खुल्न नसकेको उनले बताए । डीएसपी श्रेष्ठका अनुसार शव अछामतिर भेटिएकोले घटनाको अनुसन्धान पनि अछाम प्रहरीले गर्ने भएको छ । ‘हामीले कानुनी प्रक्रिया पूरा गरेर चारवटै शव अछाम प्रहरीको जिम्मा दिइसकेका छौं,’ उनले भने, ‘पोस्टमार्टमलगायत अन्य अनुसन्धान कार्य हाम्रो समन्वयमा अछाम प्रहरीले गर्नेछ ।’ सोमबार घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका मानसिंहलाई पनि अछाम प्रहरीलाई बुझाइने उनले बताए ।

चारजना (एक बेपत्ता) को ज्यान जाने गरी भएको घटनाको प्रमुख कारक मदिरा र घरेलुहिंसा भएको अनुमान गरिए पनि यसको पृष्ठभूमि र घटना विवरणबारे भने धेरै कुरा रमस्यको गर्भमै छन् । ६ र ८ वर्षका छोराछोरीलाई आफूसँगै कर्णालीमा डोर्‍याए पनि १२ र १५ वर्षका छोरीलाई कसरी हामफाल्न लगाइन् भन्ने प्रश्नले सबैलाई आश्चर्यमा पारेको छ । सिजापतिका अनुसार सुकीमात्र होइन, उनका कान्छी छोरीबाहेक तीनैजना छोराछोरी पौडी खेलेर कर्णाली वारपार गर्थे । ‘दुइटा ठूली छोरीलाई हात बाँधेर कर्णालीमा धकेलिन् वा उनीहरु आफैंले हामफाले भन्ने अर्को अचम्म हो,’ उनले भने, ‘छोरालाई आफैसँग बाँधेर र सानी छोरीलाई छुट्टै फ्याँकिन् कि भन्ने हाम्रो अनुमानमात्र हो, यसको अनुसन्धान त प्रहरीले गर्ला ।’

वर्षेनि कामको लागि भारत जाने मानसिंह यस वर्ष कोरोनाको कारण घरमै थिए । आर्थिक अवस्था कमजोर भएको कारण उनको घरमा दैनिकजसो झगडा भइरहन्थ्यो । सुकीले घर छोडेको दिन पनि मानसिंहले श्रीमती र बालबच्चामाथि कुटपिट गरेको छरछिमेकको भनाइ उद्वृत गर्दैर् आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराले बताइन् । ‘घरेलुहिंसाको कारण निकै कहालीलाग्दो घटना भयो, यसले गाउँलाई नै स्तब्ध बनाएको छ,’ उनले भनिन्, ‘यस्ता घटना न्यूनीकरणको लागि घरेलुहिंसा अन्त्य गर्नुपर्ने जरुरी देखिएको छ ।’

गरिबी भए पनि मानसिंह र सुकीका चार सन्तान नियमित रुपमा विद्यालय पढ्थे । स्थानीय नेपाल राष्ट्रिय माविमा कल्पना ९, सरीता ७ र ललित २ कक्षामा पढ्थे । कान्छी छोरी पनि भर्खरै विद्यालय जान थालेकी थिइन् । भिनाजु नाता पर्ने सिजापति पनि ५ जनाको ज्यान जाने गरी भएको घटनाको प्रमुख कारण मदिरा र घर झगडालाई ठान्छन् । ‘कहिलेकाहिँ खटपट त हाम्रो घरमा पनि हुन्छ, घरझगडा नहुने भन्ने होइन,’ उनले भने, ‘तर अचाक्ली बढी भएर सहन नसकेपछि सन्तानै सखाप हुने अवस्था आयो ।’

घटनास्थल पुगेका कर्णाली प्रदेशका प्रहरीप्रमुख डीआइजी बसन्त पन्तले भेटिएका चारवटै शबमा घाउ वा चोटपटक नदेखिएको बताए । यद्यपि घटनाको कारण र रहस्य पोष्टमार्टमका साथै अन्य प्रहरी अनुसन्धानबाट खुल्ने उनको भनाइ छ । ‘अछाम प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ, यतातिर (दैलेख र कर्णाली प्रदेश प्रहरी) ले पनि आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘प्रारम्भिक रुपमा हेर्दा नदीमा हामफालेको अनुमान गर्न सकिन्छ ।’

प्रकाशित : फाल्गुन २५, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?