कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ३ दर्जन घर जले

दमकल र एक्स्काभेटरको सहयोगमा आगो नियन्त्रणमा लिइँदै
आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा मंगलबार बिहानदेखि लागेको आगो थप फैलिनबाट रोकिएको छ ।

ताप्लेजुङको दोभान बजारमा आगलागी : करिब ३ दर्जन घर जले

सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको थियो ।

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले इकान्तिपुरसँगको कुराकानीमा भने, 'अहिले आगो निकै नियन्त्रणमा आएको छ । एक्स्काभेटर र दमकल लगाएर आधा बजार जोगाउन सफल भयौं । पूर्ण रूपमा आगो नियन्त्रणमा आइसकेको छैन ।' अध्यक्ष लिम्बूका अनुसार करिब ३ दर्जन घर जलेको अनुमान गरिएको छ । केहीबेरमै सर्वपक्षीय बैठक बस्ने र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्थाबारे छलफल र निर्णय गरिने पनि उनले बताए ।

प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए ।

तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् । ‘केहीले महत्त्वपूर्ण कागजातहरूसम्म निकाल्न भ्याए,’ लिम्बूले भने, ‘जिल्लामा अहिले सीडीओ नभएकाले पनि के गर्ने, कसो गर्ने भन्ने अन्योल छ ।’

बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो । सदरमुकाम फुङलिङबाट १७ किमि दूरीमा रहेको उक्त बजारमा ८५ वटाजति घर थिए ।

प्रकाशित : फाल्गुन १८, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?