ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

बजारको आधा भाग जल्यो
आनन्द गौतम

काठमाडौँ — ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो ।

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीयले बताएका छन् । स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् ।

तस्बिर : रेडियो तमोरको फेसबुकबाट

घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्र जलिसकेको बताए । ‘फुङलिङमा रहेको एक मात्र दमकल आएर आगो थप फैलन त रोकेको छ,’ उनले भने, ‘तर आगलागी भइरहेको स्थानमा भने नियन्त्रणमा लिन सकिएको छैन । नजिक गएर हेर्ने अवस्था नभएकाले कति घर जले यसै भन्न सकिन्न ।’ उनका अनुसार तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन् । ‘केहीले महत्त्वपूर्ण कागजातहरूसम्म निकाल्न भ्याए,’ लिम्बूले भने, ‘जिल्लामा अहिले सीडीओ नभएकाले पनि के गर्ने, कसो गर्ने भन्ने अन्योल छ ।’

ताप्लेजुङका प्रजिअ झरेन्द्रप्रसाद चापागाईं केही दिनअघि नै सरुवा भई झापा गइसकेका छन् । झापाका प्रजिअ उमेश पाण्डेलाई ताप्लेजुङ सरुवा गरिएको छ ।

बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।

प्रकाशित : फाल्गुन १८, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?