कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीजस्तो रुखो मान्छे देखेको छैन : दाहाल

ओली अस्ताउँदा सूर्य हुन् : नेपाल

धनगढी — नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आफू अन्तिमसम्म लड्न तयार रहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो अमानवीय, निर्मोही र रुखो मान्छे अहिलेसम्म नदेखेको बताए । कुनै हालतमा पनि ओलीको प्रतिगामी कदमलाई सफल हुन नदिन आफू फेरि लडाइँको मैदानमा उत्रेको उनको भनाइ थियो ।

ओलीजस्तो रुखो मान्छे देखेको छैन : दाहाल

नेकपा दाहाल–नेपाल समूहले शनिबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय विरोधसभामा दाहालले प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधानसँगै जनताको सार्वभौम अधिकारसमेत कुल्चेको बताए । ‘केपी सरकार विघटन भएको हो, प्रतिनिधिसभा विघटन भएको होइन,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्नेछ, ओलीले जबर्जस्ती गरे, संसद् मरेको छैन जीवितै छ ।’ दाहालले नेकपा फुटेको नभई ओली चोइटिएको दाबी गरे । ‘नायक–चित्रित व्यक्ति कलंक भए,’ दाहालले भने, ‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान नै छैन । संसद् जीवित छ, आवश्यक पर्‍यो भने प्रतिनिधिसभा बैठक बसालेर केपीलाई कारबाही गर्छौं ।’ उनले नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई लक्ष्य गर्दै ‘दलालको पनि दलाल’ भएको आरोप लगाए । ‘मैले पटक–पटक अवसर दिएको, हुर्काएको व्यक्ति आज केपीको दलाल भएर निस्कियो । केपी आफैं दलाल हुन्, उनी त दलालको पनि दलाल पो भए,’ दाहालले भने ।


विरोधसभामा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली अस्ताउँदो सूर्य भएको टिप्पणी गरे । ‘उनी चुनाव गराउन चाहँदैनन् । देश, लोकतन्त्र र गणतन्त्र मासिइरहोस्, तर ओलीलाई कुनै मतलब छैन,’ उनले भने । उनले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डका दोषीमाथि कारबाही गर्नुपर्नेबारे पार्टीमा छलफल गराउन आग्रह गर्दा पनि प्रधानमन्त्री ओलीले कुरै नसुनेको बताए । ओली सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप पनि नेपालले लगाए । कोरोना महामारीका बखत औषधि ल्याउने नाममा भएको ओम्नी प्रकरणदेखि गोकर्ण फरेस्ट रिसोर्ट, वाइडबडी काण्डमा भएका भ्रष्टाचार ढाकछोप गर्ने कामको अगुवा प्रधानमन्त्री ओली भएको उनले आरोप लगाए । उनले आधिकारिक नेकपा आफूहरू नै रहेको दाबी गरे ।

नेकपा दाहाल–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री ओलीले वन तस्करकै नाइकेलाई वनमन्त्री बनाएको बताए । उनले वनमन्त्री प्रेम आलेको नाम नलिईकनै भने, ‘लालझाडीदेखि तराईका रूख र चराचरहरूसमेत वनमन्त्रीबाट डराएका छन् ।’ ओली सरकारले अदालतबाट फरार अभियुक्तलाई पार्टीमा भित्र्याएको र पशुपतिमा बत्ती बालेर अपराध पखाल्न खोजेको बताए । ‘पशुपतिमा माफ माग्नुभन्दा जनतासमक्ष माफ मागेको भए हुने,’ रावलले भने ।

प्रकाशित : माघ १७, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?