२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता

चौधरी भन्छन् : नेपालले अब किन भारतलाई ठूल्दाजुका रुपमा व्यवहार गर्दैन भन्नेबारेमा कुरा भयो

काठमाडौँ — भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । शनिबार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।

प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम सुधीरले नै सञ्चालन गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि सुधीरले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’

जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दैै आएको छ ।

यसअघि असारमा जी न्युजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ भनेर विवादित सामग्री प्रसारण गरेको थियो । पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो । तर जी न्युजको आधिकारिक च्यानलमा भने उक्त भिडियो भने भेटिएको थिएन ।

त्यस्तै प्रधानसम्पादक सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’

चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि उनले त्यो ट्वीट हटाएका थिए । आफ्नो ट्वीटले नेपाली दर्शकहरुप्रति चोट पुगेको उल्लेख गर्दै उनले ट्वीट हटाएको जानकारी दिएका थिए । उनले लेखेका थिए , ‘मेरो ट्वीटले नेपालका हाम्रा दर्शकलाई चोट पुगेको छ । मलाई थुप्रै भारतीयले पनि यो विचार सही नभएको बताए । मैले खबर पाएसँगै आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुनुपर्छ । यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन । त्यसैले दु:ख व्यक्त गर्दै यो ट्वीट हटाउँदै छु ।’

भारतीय न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको थियो ।

प्रधानमन्त्रीसँगको अन्तर्वार्ता सोमबार बेलुका ९ बजे प्रसारण हुँदैछ ।

सम्बन्धित समाचार

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्‍वीट हटाए

प्रकाशित : पुस २७, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?