३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्‍वीट हटाए

काठमाडौँ — भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्वीट हटाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए ।

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालबारे विवादित ट्‍वीट हटाए

उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’

सुधिर चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि उनले त्यो ट्वीट हटाएका छन् । आफ्नो ट्वीटले नेपाली दर्शकहरुप्रति चोट पुगेको उल्लेख गर्दै उनले ट्वीट हटाएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो ट्वीटले नेपालका हाम्रा दर्शकलाई चोट पुगेको छ । मलाई थुप्रै भारतीयले पनि यो विचार सही नभएको बताए । मैले खबर पाएसँगै आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुनुपर्छ । यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन । त्यसैले दु:ख व्यक्त गर्दै यो ट्वीट हटाउँदै छु ।’

जी न्युजको बिहार–झारखण्ड संस्करणले नै प्रधानमन्त्री ओली र राजदूत यान्छीबारे अनर्गल प्रचार गरेको थियो । त्यसबारे प्रधानसम्पादक चौधरीले केही भनेका छैनन् ।

स्वदेशी र विदेशी च्यानल प्रसारणको अनुमति पाएका मल्टी सिस्टम अपरेटरहरूले भारतीय न्युज च्यानल प्रसारण रोकेका हुन् । भारतीय एक न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको हो ।

प्रकाशित : असार २६, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?